आज कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै
काठमाडौं । आज नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु हुँदैन । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधि मार्फत खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
बिहान १० बजे प्रधानमन्त्री ओलीबाट एकैसाथ काठमाडौंका ११ वटा अस्पतालले यो अभियान सुरु गरिनेछ । प्रधानमन्त्रीबाट अभियानको शुभारम्भ हुँदै गर्दा ती ११ वटा अस्पतालले प्रत्यक्ष जोडिएर खोप लगाउन शुरु गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
‘बालुवाटारमा मन्त्री,सचिव लगायत केही उच्च पदस्थ पदाधिकारीहरुको सहभागितामा प्रधानमन्त्रीले भर्चुअल मार्फत एक बटम थिचेर अभियाको शुभारम्भ गर्नुहुने कार्यक्रम तय भएको छ । प्रवक्ता गौतमले भन्नुभयो,‘बालुवाटारमा खोप लगाएर अभियानको थालनी गर्न लागेको होइन । ’
उहाँका अनुसार ११ वटा अस्पताल प्रत्यक्ष जुम विधिबाट जोडिन्छन् र एकैपटक खोप लगाउन थाल्नेछन् । अस्पतालले खोप कसलाई लगाएर शुभारम्भ गर्ने हो भन्नेमा उनीहरुले चाहे अनुसार हुने प्रवक्ता गौतमले बताउनुभयो ।
स्वास्थ्यकर्मी, सफाई कर्मचारी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयमेसेविका,एम्बुलेन्स चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीलाई सुरुमा खोप लगाउन सरकारको भनेको छ ।
‘शुभारम्भ कार्यक्रम एकदमै छोटो हुनेछ, सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको शन्देश पढेर सुनाइएपछि प्रधानमन्त्रीले अभियानको शुभारम्भ गर्नुहुनेछ,’ प्रवक्ता गौतमले भन्नुभयाे ।
काेराेनाकाे पहिलाे खाेप लिने डाक्टरहरु,
कोरोना विरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र दोस्रो खोप पहिलो कोरोना संक्रमितदेखि अहिलेसम्म कोरोनाका बिरामी हेरिरहनु भएका अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोलाले लगाउने कार्यक्रम रहेको छ ।
चीनको युहानबाट आउनुभएका जनकपुरका एक युवा शंकास्पद लक्षण लिएर २०२०, जनवरीका १३ दिन टेकु अस्पतालमा भर्ना हुन आउनु भएको थियो ।
डा. बाँस्तोलाको टिमले एक–दुई दिन उहाँलाई पञ्जा, मास्कबिना नै उपचार गर्यो । लक्षण मिलेको र संक्रमण फैलिएको स्थानबाट आएकाले उहाँलाई शंकाको घेरामा राखेर स्वाब संकलन गरी परीक्षणका लागि हङकङ पठाइएको थियो । २३ जनवरी अर्थात् पुस २९ गते आएको रिपोर्ट पोजेटिभ देखिएको डा. बाँस्तोलाले जानकारी दिनुभयो ।
पुस २९ गते नेपालमा कोरोना भित्रिएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ९ गते त्यसको जानकारी गराएको थियो । मन्त्रालयले पहिलो कोरोना संक्रमितबारे जानकारी गराउदा संक्रमित उपचार गरि डिस्चार्ज हुनु भइसकेको थियो ।
मन्त्रालयको माघ १३ गतेको तथ्यांक अनुसार नेपालमा २ लाख ७० हजार ९२ जनालाई संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये २ लाख ६४ हजार ८२३ जना कोरोनामुक्त भएका छन् । सोही अवधिमा २ हजार १७ संक्रमितको मृत्यु भएको छ ।
सुरुमा कोरोना भित्रदा नेपालमा पीसीआर जाँच्न स्रोत र साधनसमेत थिएन भने अहिले देशभर ८० भन्दाबढी प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्टलाइनरले खोप लगाउने लक्ष्य राखिएको छ । काठमाडौं उपत्यकाको सहित ६२ वटा अस्पताल र १२० वटा खोप केन्द्रबाट खोप अभियानको थालनी हुनेछ ।
यस अभियानमा भारतले अनुदानमा उपलव्ध गराएको सिरम इन्टिच्यूट अफ इन्डियाले निर्माण गरेको कोभिशिल्ड लगाइनेछ । यो खोप दुइ मात्रा लगाइनेछ । सुरुमा लगाएको ४ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।
कोभिशिल्ड १८ वर्ष उमेर माथिका व्यक्तिहरुलाई लगाइनेछ । गर्भवती,स्तानपान गराइरहेकी महिला, तत्काल गर्भाधारणको योजना बनाएका महिला, एलर्जीको समस्या भएका व्यक्तिहरुले कोरोनाको खोप लगाउन हुँदैन।
अभियान शुभारम्भका लागि प्रत्यक्ष जोडिने काठमाडौं उपत्यकाका अस्पतालहरु :
१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल
५. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
६. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
७. भक्तपुर अस्पताल
८. शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
१०. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
११. शहिद गंगालाल अस्पताल
तपाईँको अभिमत