७ वर्षपछि आइपुग्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटीस्क्यान मेसिन
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षत्रीय अस्पताल) मा ७ वर्षपछि सिटीस्क्यान मेसिन आएको छ।करिब ७ करोडको लागतमा फिलिप्सको सिटिस्क्यान मेसिन अस्पतालमा आइपुगेको अस्पतालका निर्देशक प्रा.डा. भरत बहादुर खत्रीले जानकारी दिनुभयो।
खत्रीकाअनुसार यसअघि उक्त मेसिन वीरगञ्ज भन्सारमा अड्किएको थियो।यही असोजसम्म जडान सक्ने र आगामी महिनादेखि सिटीस्क्यानको सेवा सुचारु गर्ने उहाँले बताउनुभयो।
यस अस्पतालमा आउने दैनिक २० जनाबढी बिरामीहरु चर्को शुल्क तिरेर निजी ल्याबमा सिटीस्क्यान गराउन बाध्य छन्। ७ वर्षदेखि सिटीस्क्यान मेसिन अस्पतालमा थिएन ।
‘सिटी स्क्यानको सुविधा नभएको लगभग ७ वर्ष भयो' निर्देशक प्रा.डा. खत्रीले भन्नुभयो, 'विविध कारणले किन्न सकेका थिएनौँ।'
गत वर्षको असार ३१ गते एलसी खोलेर खरिद प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
फिलिप्स कम्पनीलाई टेण्डर परेको थियो।
खरिद प्रक्रियामा गएको १ वर्षपछि मात्रै मेसिन आइपुगेकोले तत्काल जडान प्रक्रिया थाल्ने खत्रीले बताउनुभयो।
‘मेसिनको लागि आवश्यक कोठाहरु तयार गरिसकेका छौं । सिटीस्क्यानलाई राख्ने र रिडिङ गर्ने पहिले जुन कोठाहरुमा थियो त्यही कोठाहरुलाई नै प्रयोग गर्ने गरि तयारी गरेका छौँ'प्रा.डा. खत्रीले सुनाउनुभयो।
लागत ७ करोड
मेसिन र अतिरिक्त सेवासहित लागत ७ करोड रहेको निर्देशक खत्रीले जानकारी दिनुभयो । ‘सिटी स्क्यानकै मूल्य र हामीले ५ वर्षको लागि सिएमसी भनेर गरेका छौं उहाँहरुले फिट गर्नुहुन्छ । ५ वर्षसम्म बिग्रे पनि सर्भिस डिस्टर्ब हुन पाउँदैन’ खत्रीको दावी छ ।
उहाँले विगतमा मेसिनको वारेन्टी हुने गरेको उहाले स्मरण गर्नुभयो । ‘पहिला मेसिनको १ वर्षको वारेन्टी मात्रै हुन्थ्यो सिएमसी हुँदैनथ्यो' निर्देशक खत्रीले भन्नुभयो, ‘वारेन्टी सकिएपछि बिग्रिने कुरालाई मध्यनजरमा राखेर हामीले पाँच वर्षको सिएमसी सम्झौता मै राखेका छौँ।’
लकडाउनले ढिलाइ
कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकमा भएको लकडाउनको कारण समयमा मेसिन नआएको निर्देशक खत्रीले बताउनुभयो । ‘नेदरल्याण्डबाट आउनुपर्ने । खासगरी युरोप लकडाउन, कहिले एसिया लकडाउन, चाइनाबाट हिड्नुपर्ने मेसिन फेरि साङ्घाई लकडाउन त्यसले गर्दाखेरी समयमै ल्याउन गाह्रो भयो।’
अब अस्पताल आउने बिरामीले बाहिर चर्को शुल्क तिरेर सिटिक्यान गर्नुपर्ने समस्या हल हुने अस्पतालका निर्देशक डा. खत्रीको भनाइ छ।
तपाईँको अभिमत