'पहिलेका कुरा सम्झिँदा अचम्म लाग्छ अनि रमाइलो पनि'(भिडियो)
सानु तुलाधारले ३ दशक सरकारी सेवामा रहेर नर्सका रुपमा काम गर्नुभयो। काठमाडौंको रैथाने नेवार परिवारकी तुलाधरको जन्म २००९ सालमा भयो। ओटु टोलभन्दा भित्र गुच्चा टोलमा उहाँको घर थियो।
पहिलाको पुरानो बसपार्क र अहिले अग्लो टारवर बन्दै गरेको ठाउँमा त्यो समय खेत थियो। 'तँ यही ठाउँमा जन्मिएकी होस्' भनेर सानुलाई उहाँका आमाबुबा र अग्रजले सुनाउनुहुन्थ्यो।
त्यो बेलाको काठमाडौं
त्यो समय काठमाडौं भनेपछि दक्षिणमा टेकु भन्दामाथि लगन टोलदेखि उत्तरमा ठमेलसम्मलाई बुझिन्थ्यो। पूर्वमा भन्द्रकाली/टुँडिखेलदेखि पश्चिममा नरदेवीसम्म मानिन्थ्यो । नरदेवी भन्दा पारि गएपछि सबै खेतैखेत थियो। टुँडिखेलदेखि उता र टेकुतिर पनि खेत नै थियो।
गन्यमान्य र हुनेखाने व्यक्तिको घरमा मात्रै निजी शौचालय र धारा हुन्थ्यो। एउटा टोलका लागि एउटा सार्वजनिक शौचालय हुन्थ्यो। महाबौद्धमा अहिले वडा कार्यालय राखिएको घर त्यो समय ओटु, इन्द्रचोकबासीको शौचालय थियो। दिसा गर्नका लागि ट्वाक्रोमा पानी बोकेर लाइन लाग्नुपर्थ्यो।
'धारा हुँदैनथ्यो घरबाटै पानी लिएर लाइन बस्नु जानुपर्थ्यो’ सानु भन्नुहुन्छ, ‘सम्झिँदा पनि अचम्म लाग्छ, रमाइलो पनि लाग्छ।'
अहिलेको जस्तो खाल्डोमा दिसा गरेर पानीले बगाउने होइन। सफा गर्ने मान्छे आएर बेला-बेला उठाएर लैजानु पर्थ्यो।
सानुको परिवार किसान थियो। खेतमा हाल्नका लागि मल चाहिने भएकाले खाना पकाउँदा निस्किएको खरानी भर्याङमुनि खाडल बनाएर राखिन्थ्यो। त्यही भर्याङमुनिको ठाउँलाई पनि शौचालयका रुपमा प्रयोग गरिन्थ्यो।
४ बजे उठेर सार्वजनिक धारामा पानी लिन जानुपर्ने। टोलका दिदी–बहिनी भेट हुने एक खालको रमाइलो पनि थियो।
भागी-भागी पढाइ
यो बेला छोरीलाई पढाउने चलनै थिएन। त्यो पनि किसानको छोरी पढेर के खान पाइन्छ, खेतमा काम गरे पो खान पाइन्छ भन्ने हुन्थ्यो। खेतमै काम गर्नुपर्ने। छोरालाई पनि खासै पढाउइँदैनथ्यो।
सानु भागेर पढ्न जान थाल्नुभयो । त्यो बेलाको किसान भएपनि उहाँका बुबा अलि उदार हुनुहुन्थ्यो। पढ्नुपर्छ भन्ने सोच उहाँको थियो।
त्यो समय पढेलखेका बुढापाकाहरुले टोलका मान्छे जम्मा पारेर आफ्नो घरको दलानमा सुकुल ओछ्याएर पढाउने गर्थे। त्यस्तै ठाउँमा भागेर गएर पढ्न थाल्नुभयो । पछि बाले पनि सानुलाई सिकाउन थाल्नुभयो।
सानुका २ जना दिदी र एक जना दाइ हुनुहुन्थ्यो। जेठी छोरीलाई भाइबहिनी स्याहार्दैमा ठिक्क हुन्थ्यो। उहाँकी दिदीको पनि त्यस्तै अवस्था थियो। सानु कान्छी छोरी हुनुहुन्थ्यो। आमा चाँडै बित्नुभयो।
काकाका छोराछोरी पढ्न गएको देखेर सानु पनि उहाँहरुसँगै पढ्न जान थाल्नुभयो। उहाँका दिदीहरुलाई पनि बुबाले पढाउन खोज्नुभएको थियो। तर खेतमा पनि काम गर्नुपर्ने, घरमा पनि, त्यो भएपछि दिदीहरूले पढ्न मन गर्नुभएन। दुवै दिदीको बिहे भयो । आमा नभएकाले त्यतिबेला घरको सबै कामको जिम्मा सानुकै थाप्लामा आयो। खेतको काम पनि गर्नुपर्ने पढ्न जान निकै समस्या थियो।
खेतमा बाली लगाउने, उठाउने, गोडमेल गर्ने जस्ता काम भएका बेला स्कुल जान पाइँदैनथ्यो। खेतमा जानुहुन्थ्यो। खेतमा काम नभएका दिनमा मात्रै सानु स्कुल जानुहुन्थ्यो। तैपनि कक्षामा प्रथम हुनुहुन्थ्यो।
रानीपोखरीनजिकै तीनधारा पाठशाला भन्ने सँस्कृत स्कुल थियो। त्यस स्कुलका छात्राहरुलाई पढ्नका लागि डिल्लीबजार कालिकास्थानमा नारी विद्यापीठ भन्ने छुट्टै स्कुल स्थापना गरिएको थियो। सानु त्यहीँ पढ्नुहुन्थ्यो। पछि त्यो स्कुल बन्द भयो। त्यसपछि रानी पोखरीको सँस्कृत स्कुलमा पढ्नुभयो। प्रवेशिका (एसएलसी) सम्म पढ्नुभयो। यही समयमा बुबा बित्नुभएकाले घरमा कामको चाप पनि बढ्यो। प्रवेशिकाका जाँच दिनुभएन।
झोसेमा रहेको एउटा स्कुलमा प्रौढ शिक्षा पढ्न पढाइ हुन्थ्यो। बिहान–बिहान त्यहाँ पढ्न जाने र दिउँसो काम गर्ने गर्नुहुन्थ्यो।
अनि अनमीको पढाइ
अहिले वीर अस्पतालको सर्जिकल भवन बनाएको ठाउँमा धारा थियो। सानु त्यहाँ पानी लिन आउनुहुन्थ्यो। वीर अस्पताल वरिपरि २–४ वटा मात्रै घर थिए। बगैँचा भएको ठूलो दरबार थियो वीर अस्पताल। वीर अस्पतालका नर्सले सेतो लुगा लगाएर यताउता हिँडेको देख्दा उनीहरु निकै स्मार्ट लाग्थ्यो। नर्स बन्न पाए हुने भन्ने रहर उहाँको मनमा पनि पलाउँथ्यो।
८ कक्षा पास भएकाले सानुले सानो सरकारी जागिर पनि खान थाल्नुभएको थियो। अपिस गएका बेला त्यहाँ काम गर्ने एक साथीले गोरखापत्र देखाउँदै भन्नुभयो– वीर अस्पतालमा अनमी पढ्न भर्ना खुलेको रहेछ हामी पनि जाउँ है।
उहाँ साथीकै आग्रहमा अनमी भर्ना हुनका लागि जानुभयो। नर्सिङमै पढ्न पाइने रहेछ। नर्सिङ के हो ? अनमी के हो ? भन्ने फरक उहाँहरुलाई थाहा भएन। अनमीमै भर्ना हुनुभयो।
उहाँसहित ३ जना साथी मिलेर चितवनको भरतपुरमा पढ्न जानुभयो। त्यो भन्दा पहिला काठमाडौँ छाडेर कतै जानुभएको थिएन।
त्यो २०२७ सालको कुरा थियो। पढिसकेर २०२९ सालदेखि सानुले जागिर सुरु गर्नुभयो।
उहाँको पहिलो पोस्टिङ बारा जिल्लाको गढहलमा भयो। कलैयाबाट गढहल पुग्न पसाह खोला तरेर दुई-तीन घण्टा हिँड्नुपर्थ्यो। त्यतिबेला इन्टिग्रेटेड पाइलट प्रोजेक्ट भनेर विदेशीको सहयोगमा सरकारले कार्यक्रम चलाएको थियो। नमुनाको रुपमा गढहलमा पनि कार्यक्रम चलाएकाले स्वास्थ्य चौकीमा अमनी राख्न त्यहाँ लागिएको थियो।
उहाँहरुलाई त्यहाँ लैजाँदा साथमा स्वास्थ्य सेवा विभागका कर्मचारी, केही विदेशीहरू पनि थिए। चारकोसे झाडी हुँदै लगिएको थियो । त्यहाँ खरले छाएको घरमा सानो स्वास्थ चौकी चलाइएको रहेछ।
एक साथी र सानुलाई त्यहाँ राखियो। एक जमिनदारको घरमा उहाँहरुलाई बस्ने व्यवस्था गरियो। बस्ने घर त राम्रै थियो। तर स्वास्थ्य चौकीमा माकुराको जालैजालो, झण्डै घुँडासम्म गाडिने धूलो थियो। अनमीको रुपमा पोस्टिङ भएर सानुले स्वास्थ्यचौकीमा गर्नुभएको पहिलो काम धूलो सफा गर्ने, भुइँ लिप्ने थियो।
सफा गरिसकेपछि दराजमा थन्क्याएर राखिएका उपचारका सामान निकालेर व्यवस्थापन गर्नुभयो। उहाँहरू जानुभन्दा पहिला त्यहाँ एक जना पुरुष अहेब थिए। पुरुषलाई अनुहार नदेखाउने भएकाले कोही महिला स्वास्थ्यचौकी आउँदैनथे।
ज्वरो, टाइफाइड, रुघाखोकी, झाडापखाला जस्ता समस्या भएका पुरुषहरु जाँचका लागि आउँथे। स्वास्थ्यचौकीमा २ जना अनमी गएपछि महिला डाक्टर पनि आएका छन् भन्ने हल्ला गाउँमा चल्यो। अनि केही महिलाहरू पनि आउन थाले। गर्भवती भएका, सुत्केरी भएका महिलाहरु स्वास्थ्यमा समस्या भएर आउँथे।
घर–घरमा लैजानका लागि समेत बोलाउन आउँथे। कतिपटक राति पनि घरमा गएर उपचार गरेको सानु सुनाउनुहुन्छ।
त्यतिबेला त्यो क्षेत्रमा निक्कै डाका लाग्थ्यो। सानुहरुलाई कसैले घरमा लैजान लिन आयो भने पहिलो उनीहरुले त्यहाँका घरबेटी जमिनदारहरुलाई भेट्नुपर्थ्यो। उनीहरुले कुरा गरेर पक्का गरेपछि मात्रै पठाउँथे। घरबेटीहरुले असाध्यै माया गर्थे, सुरक्षाको जिम्मा लिएका थिए।
छुट्टीको समय उहाँहरु बेलाबेला वीरगञ्ज, कलैयातिर सिनेमा हेर्न आउनुहुन्थ्यो। एकदिन यसैगरी बजार आएर फर्केर जाँदा पसाहा खोलामा बाढी आएको रहेछ। 'खाला तर्दा बाढीले झण्डै बगाएन हामीलाई त्यतिबेला' सानु सुनाउनुहुन्छ।
एमएन गर्दा पनि पद स्टाफ नर्स मात्रै
उहाँले बाराको त्यो ठाउँमा ३ वर्ष काम गर्नुभयो। अनि रौतहटको गौर अस्पताल सरुवा भयो। त्यहाँ एउटा कुरामा हाकिमसँग खटपट भयो। रिसले हाकिमले एक साताको हाजिरी काटिदिए । अनि उहाँ त्यहाँको एक महिनाको तलब नै छाडेर कलैया अस्पताल जानुभयो। कलैया अस्पतालको चिफ नर्सले उहाँलाई मलाई कोरस चिकित्सालयमा पठाउनुभयो। त्यसपछि म सिन्धुपाल्चोक जानुभयो। सिन्धुपाल्चोकमा रहनेक्रममा स्टाफ नर्सको पढाइसमेत पूरा गर्नुभयो। त्यसपछि वीर अस्पतालमा पोस्टिङ भयो। सानुले २०३७ सालदेखि वीर अस्पतालमा सेवा सुरु गर्नुभयो।
पढाइलाई समेत निरन्तरता दिनुभयो। मास्टर्स डिग्री सक्काउँदासम्म स्टाफ नर्सकै रुपपमा काम गर्नुभयो। जति पढेपनि नर्सको अरु पोस्ट नै थिएन। पछि लोकसेवाले अन्य तह पनि थप्यो। सातौँ तहसम्म पुगेर उहाँले वीर अस्पतालमै काम गर्नुभयो। त्यसपछि स्टाफ नर्सको पढाइ सिटीइभिटीले पनि हेर्न थाल्यो। सिटीइभिटी अन्तर्गत नर्सिङ पढाउन व्यवस्थापनका लागि मान्छे चाहियो भनेपछि सानु त्यहाँ जानुभयो।
२ वर्ष सिटीइभिटीमा काम गरेपछि फेक्ट नेपाल भन्ने संस्थाले काठमाडौं मोडल अस्पताल चलाएको थियो। मोडल अस्पतालले पनि नर्सिङ कलेज खोल्ने भयो। नर्सिङ कलेजको नेतृत्व गर्न उहाँलाई बोलाइयाे। २०५८ मा उहाँले सरकारी जागिर छाडेर त्यतै लाग्नुभयो।
क्याम्पस व्यवस्थापनमा रहेर काम गरेको २० वर्ष कति छिट्टै बित्यो पत्तै नभएको सानु सुनाउनुहुन्छ।
अहिले उहाँ रिटायर्ड जीवन बिताइरहनुभएको छ। घर, परिवार, समाजिक काम र तथा कार्यक्रमहरुमा समेत बित्ने गरेको छ। फेक्ट नेपालको सदस्य छु। सामाजिक सेवा गर्ने उद्देश्यले एउटा संस्था पनि स्थापना गर्नुभएको छ।
पहिले भन्दा स्वास्थ्य सेवा धेरै ठूलो विकास भएको सानु सुनाउनुहुन्छ। अहिलेको नयाँ पुस्तालाई उहाँको सुझाव छ–यो भएन, त्यो भएन भनेर गुनासो मात्रै गर्नु ठिक होइन। भएको कुरालाई व्यवस्थापन गरेर कसरी व्यवस्थापन गरी बिरामीको सेवा गर्ने भन्नेमा पनि ध्यान दिनुपर्छ। माथिल्लो तहमा रहनेहरुले आफ्ना क्षेत्रमा रहेका आवश्यकताका लागि प्रस्ताव, योजना बनाएर सम्बन्धित ठाउँमा पेश गर्नपनि सक्नुपर्छ।
तपाईँको अभिमत