केटाकेटी मोबाइलमा झुम्मिन्छन् ? सिर्जनशील बनाउँन यसाे गराैं !
बालबालिका भनेका काँचो माटो हुन्, जे सिकायो त्यही गर्छन्

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहिले पनि देशमा निषेधाज्ञा जारी छ । हाम्रा दैनिकीहरु परिवर्तन भएका छन् । अत्यावश्यक काम बाहेक बाहिर हिँड्डुल गर्न निषेध छ । यसले हाम्रा मानसिक स्थिति परिवर्तन त भएको छ नै, मानसिक स्वास्थ्यमा समेत असर पारेको छ ।
बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरूमा परिरहेको छ । शहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्गम भेगमा अध्ययनरत विद्यार्थीका लागि यो संभावना छैन । यसबाट बालबालकिाको पठनपाठन मात्र नभई उनीहरूको मनोविज्ञानमा प्रत्यक्ष असर पर्दै गएको छ
केटाकेटी मोबाइलमै झुम्मिन्छन् जतिखेरै । स्कूल खुल्ने पत्तो छैन । टिभि हेर्यो, त्यतै लठ्ठ, नभए मोबाइल छोड्दैनन् । बाहिर पठाऊँ भने कोरोनाको डर । साथीहरुसँग खेल्न पाउँदैनन् । मोबाइल पाएपछि त कोही बोलेको सुन्ने पनि होइनन्, खाना खाँदा पनि मोबाइलमै लट्ठ । यी र यस्ता गुनासा आजकल सबै जसो घरमा, समाजमा सुन्ने गरिन्छ, विशेष गरी शहरी इलाकामा ।
मनोचिकित्सक डा. मधुर बस्नेत भन्नुहुन्छ, ‘बच्चाले मोबाइल हेर्यो भनेर चिन्तित देखिने अभिभावक आफू स्वयं पनि मोबाइल हेर्न छाड्नुपर्यो । आफूले मोबाइलमा डुयूटी दिने अनि बच्चाले के सिक्छ त ? आफू फेसबुकमा मात्र अल्झिँदा आफ्नो मानसिक अवस्थामा पनि राम्रो हुँदैन र त्यसको प्रत्यक्ष असर बालबालिकमा पर्न जान्छ ।’
सामाजिक सञ्जाल हेर्दा पनि सकरात्मक खालका समाचारहरु पढ्नुपर्छ, नयाँ कुराहरु खोजी गरेर हेर्नुपर्छ । यसबेला उहाँ घरभित्रै मनोचिकित्सकशारिरीक व्यायाम गर्न सकिने बताउनु हुन्छ । घरमा बसेर शारिरीक व्यायाम गर्न सकिन्छ, सधैँ खुशी रहने प्रयास गर्नुपर्छ । कोरोना संक्रमणबाट बृद्धबृद्धालाई पनि उच्च जोखिम छ । त्यस कारण पनि सबै जना घरभित्रै रहनुपर्ने बाध्यतामा छन् ।
यस्तो समयमा बृद्धबृद्धाहरुलाई विभिन्न आध्यात्मिक गतिविधिमा सरिक गराउन सकिन्छ । पढ्न लेख्न जान्ने छन् भने हाम्रा धार्मिक ग्रन्थहरुको अध्ययन गर्न सकिन्छ । टेलिभिजनमा धार्मिक कार्यक्रम, भजन किर्तन लगाउन सकिन्छ । बालबालिकाहरुका लागि घरका हजुरबुबा हजुरआमाले आफ्ना पालाका गीत, कथा र रमाइला रमाइलका कुराहरु गर्दा दुबैलाई फाइदा हुन्छ । बच्चाले पुराना कुराहरु सिक्न पाउँछन् भने उसका हजुरबा हजुरआमाले पनि पहिलाका कुरा सम्झिएर मन बहलाउन सक्छन् । बालबालिकालाई पनि कथा भन्न लाउनुपर्छ, आफुले सुनेर हौसला दिनुपर्छ ।
बालबालिका भनेका काँचो माटो हुन्, जे सिकायो त्यही गर्छन् । डा. मधुर थप्नुहुन्छ, ‘अहिले धेरै बालबालिकामा मोबाइलमा विभिन्न गेम खेल्ने बानी बसेको छ । यस्तो बेला सही समयमा मात्र मोबाइल दिनुपर्छ । बालबालिकालाई चित्रहरु कोर्न लगाउने, विज्ञानका नयाँ नयाँ कुराहरु सिकाउने, आफूसँगै भान्छामा तरकारी केलाउन, घर सफा गर्न, लुगा धुँदा आफूसँगै धुन सिकाउने । यसले गर्दा उनीहरुको सीप पनि बढ्ने र सिर्जनशील पनि बनाउँछ ।’
विशेष गरी खेल्न, दौडिनलाई भन्ने प्रोत्साहन गर्ने । श्वास प्रश्वासकको अभ्यास पनि गराउन सकिन्छ जसले गर्दा बालबालिकाको मनोबल उच्च बनाउन सकिने उहाँको भनाइ छ । कोरोना कहरमा घरमै रहेका बालबालिकालाई व्यावहारिक शिक्षा दिने उत्तम अवसर भएको डा. बस्नेतले बताउनुभयो । बालबालिकालाई संस्कार र नैतिकता सिकाउनुपर्छ ।
नेपालमा पनि बालबालिकामा कोरोना संक्रमण देखिने क्रम पहिलो लहरभन्दा बढी रहेको छ । कोरोनाबाट बालबालिकालाई जोगाउनु हरेक अभिभावकका लागि एउटा ठूलो चुनौती हो । बालबालिकाको स्वभाव चञ्चले हुने भएकाले जतिसुकै स्वास्थ्य मापदण्डको पालना गर्न लगाउने, भनिए पनि सम्भव नहुने कान्ति बाल अस्पतालका निर्देशक आरपी बिच्छाले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइनले भन्छ कि, ६ वर्षभन्दा माथिका बालबालिकालाई मास्क लगाउनु हुन्छ । अहिलेको समयलाई सिकाउने अवसरको रुपमा लिनुपर्छ ।
पटक पटक साबुनपानीले हात धुन सिकाउने, स्यानिटाइजरको प्रयोग गर्न र दूरी कायम गर्न सिकाउनुपर्छ । सकेसम्म टाढै बसेको राम्रो हुन्छ भनि उनीहरुको दिमाग हालिदिनु पर्छ किनकि कोरोनाका अन्य लहरहरुहरुको पनि सम्भावना रहेको विभिन्न अनुसन्धानहरुले बताइरहेका छन् ।
अलि ठूला बालबालिकालाई योग, ध्यान र प्राणायाम सिकाउन सकिन्छ । व्यक्तिगत सरसफाइका कुराहरु पनि बालबालिकालाई सिकाउनु पर्छ । यस्ता क्रियाकलापले कोरोनाबाट जोगाउनुका साथै सरसफाइ गर्ने, हात धुने बानीले पछिसम्म पनि राम्रो गर्छ । र अरु खालका सरुवारोग वा महामारीबाट पनि जोगिन मद्दत गर्दछ ।
तपाईँको अभिमत