३ वर्षपछि डाक्टर बन्दै थिए कृष्ण, क्यान्सरसँग भयो हार
जाजरकोट कुसे गाउँपालिका–४ का कृष्ण शाही बिरामीको रोग निको पार्ने डाक्टर बन्ने बाटोमा अघि बढिरहेका थिए ।समयले साथ दिएको भए करिब ३ वर्षपछि कृष्ण डाक्टर बन्ने निश्चित थियो ।
तर अब उनको यो इच्छा कहिल्यै पूरा नहुने भएको छ। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस दोस्रो वर्ष अध्ययरत शाही संसारबाट विदा भएका छन् । रक्त क्यान्सरबाट पीडित उनको बिहीबार मृत्यु भएको हो।
ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा शाहीको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
शाहीपूर्ण छात्रवृत्तिमा नाम निकालेर एमबीबीएस पढिरहेका थिए। करिब ६ महिना पहिला स्वास्थ्यमा समस्या देखिएपछि जाँच गर्ने क्रममा रक्त क्यान्सर(एक्चुअल लिम्फोब्लास्टिक ल्यूकेमिया) देखियो।
नेपालको विभिन्न अस्पतालमा कृष्णको उपचार भयो । उनले भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट तथा रिसर्च सेन्टरमा उपचार गराइरहेका थिए। उनलाई बचाउनका लागि बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको थियो।
आर्मी कलेजका विद्यार्थी र विभिन्न व्यक्तिहरुको सहयोगमा उनको उपचार भइरहेको थियो। खर्च अभावले बोनम्यारो प्रत्यारोपण गर्न नपाएको भन्दै कृष्ण र उनको परिवार हार–गुहार गर्दै हिँडिरहेको थियो।
प्रत्यारोपणका लागि करिब ५० लाख भारु लाग्ने अनुमान राजीव गान्धी क्यान्सर इन्स्टिच्युट निकालेको थियो।
रकम अभाव भएपछि उपचार हुन सकेको थिएन। बोनम्यारो प्रत्यारोपणका लागि भन्दै डेढ महिनाअघि कृष्ण दाजुसँग दिल्ली गएका थिए ।कसैगरी पनि खर्च नजुटेपछि केही दिनअघि फर्किएका थिए। चीनमा सस्तो हुने भन्ने जानकारी पाएपछि केही दिनपछि चीन जाने योजना समेत थियो। पारिवारिक स्रोतको भनाइ अनुसार चीन जान टिकट समेत काटिसकिएको थियो। यसैबेला रोगले च्यापेपछि कृष्णको मृत्यु भएको हो।
अन्तिम संस्कारका लागि उनको शव बुबा, दाजुहरूले एम्बुलेन्समार्फत जिल्ला लैजाँदै गरेको परिवारले जानकारी दिएको छ।
तपाईँको अभिमत