कुरिलोको भाउ आकासिँदा बिरामी मारमा, 'कुरिलो खाऊ' भन्न डराउँछन् डाक्टर
तागतिलो र बहुउपयोगी मानिएको कुरिलोको चर्चा केही दिनयता व्यापक भइरहेको छ । ६ महिना अगाडिसम्म किलोको ५०० देखि ६०० रुपैंयासम्म पाउने कुरिलोको भाउ अहिले ८ हजारसम्म पुगेको समाचार आइरहेका छन् । कुरिलोको झोल बनाएर खाँदा स्वास्थ्यका लागि उपयोगी हुने मानिएको छ ।
बच्चादेखि पाकासम्मको लागि तागतिलो मानिने कुरिलोको माग कोरोना संक्रमण बढ्दा अत्याधिक हुने गरेको व्यवसायी बताउँछन् । सुत्केरी, कोरोना संक्रमित, उच्च रक्तचाप, मधुमेह लगायत अन्य धेरै रोगका बिरामीलाई कुरिलो खान डाक्टहरू सल्लाह दिन्छन् । तर अहिले डाक्टरहरू बिरामीलाई कुरिलो खान सल्लाह दिने कि नदिने भन्ने दुविधामा छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पोषण अधिकृतका रुपमा कार्यरत पोषणविद् वर्षा भट्टराई कुरिलोको भाउ महँगिदा बिरामीहरू मारमा परेको बताउनुहुन्छ । धेरै पोषकतत्व पाइने कुरिलोको फाइदा धेरै भएपनि अहिले बिरामीहरुलाई 'कुरिलो खाउ' भन्न अप्ठेरो लाग्ने उहाँ सुनाउनुहुन्छ । 'कसरी त्यति महँगो तरकारी खानुस् भनेर सुझाव दिने होला जस्तो लाग्छ' भट्टराई भन्नुहुन्छ, 'अहिले कुरिलो जो पायो त्यहीले किनेर खान सकिने अवस्था छैन।'
कुरिलो सेवनका फाइदा के-के छन् त ? पोषणविद् भट्टराईले दिनुभएको जानकारी उहाँकै शब्दमा :
गर्भवती, बच्चादेखि पाकासम्मलाई फाइदा
कुरिलोमा एन्टीअक्सिडेन्ट भन्ने तत्व पाइन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउने तथा क्यान्सर हुनबाट पनि जोगाउँछ । बच्चालाई खुवाउँदा पोटासियमको मात्रा पुग्छ र यसले उनीहरुको मुटु स्वस्थ राख्न सघाउँछ । यसैगरी गर्भवती अवस्थामा कुरिलो खाए शिशुको ब्रेनको राम्रो विकास हुन् सहयोग पुग्छ ।
मुटु स्वस्थ राख्न अति उपयोगी
कुरिलोले स्वास्थ्यमा अनेक फाइदा पुर्याउँछ । मुटुलाई स्वस्थ राख्न कुरिलो अत्यन्तै उपयोगी मानिन्छ । यसमा भिटामिन र खनिज प्रशस्तै पाइन्छन् । भिटामिन ए, भिटामिन के, भिटामिन सी, आइरन,पोटोसियमजस्ता पोषकतत्वले कुरिलो भरिपूर्ण छ ।
हरेक खानेकुरामा कति क्यालोरी पाइन्छ ? कति प्रोटिन पाइन्छ ? भनेर हेर्नपर्ने हुन्छ । सबै किसिमका तरकारीमा क्यालोरी कमै पाइन्छ । कुरिलोमा क्यालोरीको मात्रा अझै कम पाइन्छ । धेरैजसो तरकारीमा प्रोटिन खासै पाइँदैन तर कुरिलोमा प्रोटिन पाइन्छ ।
मधुमेह बिरामीलाई लाभदायक
कुरिलोमा कम क्यालोरी पाइने भएकाले मधुमेह भएका व्यक्तिका लागि धेरै फाइदाजनक मानिन्छ । कुरिलोमा कार्बाेहाइड्रेट कम हुन्छ र प्रोटिन पाईन्छ । अन्य खानेकुरा जस्तो कुरिलो खाँदा रगतमा तुरुन्तै सुगरको मात्रा बढ्दैन ।
उच्च रत्तचापका बिरामीलाई पनि उपयोगी
यसैगरी उच्चरक्तचाप भएका व्यक्तिलाई पनि कुरिलो राम्रो मानिन्छ । उच्च रक्तचाप भएका व्यक्तिले खानामा सोडियम कम र पोटासियम धेरै भएको खानेकुरा खानुपर्ने हुन्छ । सोडियमको कम र पोटसियमको मात्रा बढाउन फलफुल र तरकारी महत्वपूर्ण हुन्छन् । कुरिलोमा धेरै मात्रामा पोटासियम पाइन्छ । पोटासियम धेरै पाइने गुणका कारण कुरिलो उच्च रक्तचाप भएका व्यक्तिलाई बहुउपयोगी मानिन्छ ।
कब्जियतको समस्या भएकालाई पनि फाइदा
कब्जियतको समस्या भएकालाई पनि कुरिलो फाइदाजनक छ । यसमा पानी र फाइबर पाइने भएकाले पाचन प्रणालीलाई स्वस्थ राख्छ ।
कुरिलो कसरी खाने ?
खासगरी यसलाई सुप र सलादको रुपमा खान सकिन्छ । अनेक गुण भएको कुरिलो बनाउने तरिकाले पनि यसमा पाइने पोषकतत्वलाई फरक पार्दछ । हामीमा कुरिलोलाई प्रेसर कुकुरमा पकाएर सुप खाने चलन छ । तर लामो समयसम्म तातो पानीमा उमाल्यो भने यसमा पाइने पोषक तत्व नष्ट हुन पनि सक्छ ।
त्यसैले कुरिलोलाई हल्का उमाल्ने र ओलिभ तेलमा थोरै समय पकाएर खाँदा राम्रो मानिन्छ ।
कुरिलो कसले खान हुँदैन ?
कुरिलोमा पोटासियम उच्च हुन्छ । मिर्गौला बिग्रिएका बिरामीमा पोटासियम बढ्ने सम्भावना अधिक हुने भएकाले त्यस्ता बिरामीले कुरिलो खाने सम्बन्धमा डाक्टरसँग सल्लाह लिनुपर्दछ ।
यसैगरी कुरिलोमा भिटामिन के धेरै पाइने भएकाले रगत पातलो बनाउने औषधि खाइरहेका बिरामीले पनि डाक्टरको परामर्शबिना खानु हुँदैन ।
(भट्टराईसँगको कुराकानीमा आधारित)
तपाईँको अभिमत