अवकास पाउने स्वास्थ्य स्वयंसेविकालाई गाउँपालिकाले पेन्सन दिने

फाइल फोटो।
गुल्मीको छत्रकोट गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पेन्सनको व्यवस्था गर्ने भएको छ ।
६० वर्ष उमेर पुगेर अवकास पाउने स्वास्थ्य स्वयंसेविकालाई मासिक १००० रुपैयाँ दिने तयारी भएको गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिनुभयो।
भर्खरै निर्णय भएकाले यसको कार्यविधि बनाउनै बाँकी रहेको उपाध्यक्ष ज्ञवालीले बताउनुभयो । ‘यो कार्यक्रम हामीले हिजो मात्रै घोषणा गरेका हौँ तत्काल प्रक्रिया अगाडि बढाएर यो महिनाबाटै कार्यन्वयनमा जाने प्रयास गर्छौँ' ज्ञवालीले भन्नुभयो।
गाउँपालिकाले ६० वर्ष पुगेर अवकास लिने स्वास्थ्य स्वयंसेविकालाई गाउँपालिकाले ३० हजार थप रकम दिने निर्णय यसअघिनै गरिसकेको छ। यसरी अवकास पाउने स्वास्थ्य स्वयंसेविकालाई विदा गर्दा संघीय सरकारले एकमुष्ठ २० हजार दिने गर्छ । छत्रकोट गाउँपालिकाले भने ३० हजार थप गरी ५० हजार बनाएर दिने गरेको उपाध्यक्ष ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार यो कार्यक्रम भने लागू भइसकेको छ । यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत परेको र यसका लागि बजेट समेत छुट्याइएको छ ।
५ वर्ष भन्दा बढी सेवा गरेर विभिन्न कारणले छाड्ने स्वास्थ्य स्वयंसेविकालाई पनि विदा गर्दा कम्तिमा १० हजार दिने निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो ।
तपाईँको अभिमत