वैदेशिक रोजगारीमा जाने र ६५ वर्ष माथिकालाई भेरोसेल खोप दिइने
अबकाे चरणमा १९ लाख जनसंख्यालाई खाेप दिने तयारी
काठमाडौं । सरकारले चीनसँग किनेको कोरोना विरुद्धको ४० लाख डोज भेरोसेल खोपमध्ये पहिलो चरणमा ८ लाख डोज खोप शुक्रबार आइसकेको छ । बाँकी खोप नियमित ल्याउने तालिका छ ।
चीनबाट ल्याइएको ४० लाख डोज खोप १९ लाख जनसंख्यालाई दिने तयारी गरिएको खोप विज्ञ सल्लहाकार समिति संयोजक डा.श्यामराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार ५५ देखि ५९ वर्षउमेर समूह र यसअघि प्राथमिकतामा परि खोप लगाउन छुटेका सबैलाई खोप दिइनेछ ।
‘५५ देखि ५९ वर्षउमेर समूह जसले एक डोज पनि खोप पाउनु भएको छैन उहाँहरु र यसअघि खोप लगाउन छुट्नुभएका ज्येष्ठ नागरिकलाई पनि भेरोसिल खोप लगाउन सिफारिस गरेका छौं, उप्रेतीले भन्नुभयो १–२ दिनमै सरकारले निर्णय गरि खोप लगाउने मिति तोक्नेछ ।’
यसअघि ६५ वर्षभन्दा माथिका करीब १४ लाख ज्येष्ठ नागरिकले कोभिशिल्डको पहिलो मात्रा लगाएका थिए । तर ६४ वर्षभन्दा माथिका जनसंख्या १८ लाख रहेकोमा ४ लाख ज्येष्ठ नागरिक खोप लगाउन छुटेको अनुमान गरिएको छ । अब उनीहरुलाई पनि भेरोसेल खोप दिने तयारी गरिएको उप्रेतीले जानकारी दिनुभयो । भेरोसेल खोप १८ वर्ष माथिका व्यक्तिलाई लगाउन सिफारिस गरिएको भएपनि नेपालमा खोप उपलव्धताका कारण ६५ वर्ष माथिका व्यक्तिलाई दिइएको थिएन ।
वैदेशिक रोजगारीमा जानेहरु पनि खोपको प्राथमिकतामा
कोरोना खोप आउनु अगाडि बनाइएको कोभिड खोप कार्ययोजनामा अहिले नै बैदेशिक रोजगारीमा जानेहरु प्राथमिकतामा नपरेपनि वर्तमान परिस्थितिका कारण उनीहरुलाई पनि खोप दिन सिफारिस गरिएको उप्रेतीको भनाइ छ ।
अरब देशहरुमा भेरोसेल खोपले मान्यता पाएको र अधिकांस नेपाली अरबी मुलकमै जाने भएकाले उनीहरुलाई प्राथमितामा राखिएको उहाँले बताउनुभयो । खोप नलगाउँदा धेरै नेपाली विदेशमा काम गर्न जान नपाएको गुनासो आएपछि विज्ञ सल्लाहार समितिले यस्तो सिफारिस गरिएको उहाँले बताउनुभयो । साथै उपचार, अध्ययन, सेमिनार, डेलिगेशनका लागि विदेशमा जानैपर्ने व्यक्तिहरुलाई पनि यो खोप दिइने उहाँले जानकारी दिनुभयो ।
यसरी गरियो खोपको प्राथमिकता निर्धारण
कोरोना विरुद्धको खोप आउने भएपछि विज्ञ सल्लाहाकार समितिले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार खोपको प्राथमिकता निर्धारण गरि सरकारलाई सुझाव दिएको थियो । समितिले १५ वर्षभन्दा माथिका ७१ प्रतिशत अर्थात् २ करोड १७ लाख जनसंख्यालाई खोप दिनुपर्छ भनी सरकारलाई भनेको थियो ।
अग्रपंक्तिमा खटिएको र उमेर समूहका आधारमा खोपको लक्षित वर्ग निर्धारण गरिएको थियो । सोही अनुरुप नेपालमा खोप अभियानको सुभारम्भ अग्रपंक्तिका स्वाथयकर्मीहरुबाट गरिएको थियो । त्यतिबेला अग्रपंक्तिमा खटिएका सबै स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयम्सेविका, कैदी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भारतमा निर्मित कोभिशिल्ड लगाइएको थियो ।
साथै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, शीर्षनेता, जनप्रतिनिधी, पत्रकार, सरकारी कर्मचारी, वित्तिय तथा बैंकका कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधी लगायतलाई खोप लगाइयो ।
दोस्रो प्राथमिकता उमेर समूहका आधारमा निर्धारण गरियो । ५५ वर्षभन्दा माथिका व्यक्तिलाई कोरोना संक्रमण भइहाले उनीहरु सिकिस्त हुने र मृत्यु हुनेदर धेरै देखिएकाले ५५ वर्षभन्दा माथिकालाई दोस्रो प्राथमिकताको पहिलो चरणमा खोप दिने भनिएको थियो तर खोप उपलव्ध नभएपछि ६५ वर्षभन्दा माथिकालाई मात्रै खोप दिने निर्णय भयो ।
त्यसपछि चीनमा निर्मित भेरोसेल खोप आएपछि काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरसमूहलाई खोप दिइयो । चीनसँग सीमा जोडिएका पहाडी जिल्लामा भने १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिइयो ।
तर पहिलो मात्रा कोभिशिल्ड लगाएका करीब १४ लाख ज्येष्ठ नागरिकहरुले सोही खोप नहुँदा दोस्रो मात्रा लगाउन पाएका छैनन् । जोन्सन एण्ड जोन्सनको ‘जेनसेन’ खोप कसलाई लगाउने भन्ने सम्बन्धमा निर्णय भएको छैन । कोभ्याक्स सुविधा मार्फत सोमबार १५ लाख जेनेसेन खोप नेपाल आउदैंछ ।
खोपको दायरा बढ्ने
चीनबाट ४० लाख र अमेरिकाबाट १५ लाख डोज खोप आउने निश्चित भइसकेकाले अबका दिनमा खोपको दायरा बढ्ने विश्वास उप्रेतीको छ । अहिले सम्म नेपालमा ९ प्रतिशत अर्थात् २६ लाख बढी र ३ प्रतिशत अर्थात् १० लाख ३० हजार जनसंख्याले दोस्रो डोज लगाएका छन् ।
तपाईँको अभिमत