चिकित्सा शिक्षा आयोगसँग विद्यार्थी आक्रोशित, परीक्षा निर्देशकको धम्की

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा अहिले जारी छ।
यही फागुन २४ गतेबाट सुरु भएको परीक्षा आज सकिँदैछ । आज अन्तिम दिन बीपीएचका लागि प्रवेश परीक्षा हुँदैछ ।
चिकित्सा शिक्षामा सबैभन्दा धेरै आकर्षण रहेको एमबीबीएसका लागि पहिलो दिन अर्थात फागुन २४ गते प्रवेश परीक्षा भएको थियो ।
एमबीबीएसको परीक्षा दिएका विद्यार्थीहरु पाठ्यक्रममा उल्लेख गरेभन्दा बाहिरबाट प्रश्न सोधेको भन्दै आक्रोशित भइरहेका छन् ।
उनीहरू चिकित्सा शिक्षा आयोगविरुद्ध आन्दोलनको तयारी गरिरहेका छन् ।
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि भनेर पहिलो प्रवेश परीक्षा हुनुभन्दा अघि सन २०२० मै पाठ्याक्रम बनाएको थियो।
२०७७ फागुन २६ गते परिमार्जन गरिएको पाठ्यक्रम आयोगले आफ्नो वेबसाइटमा पनि राखेको छ ।
सोहीअनुसार आफूहरुले परीक्षा तयारी गरेको तर त्यो अनुसार प्रश्न नआएको गुनासो विद्यार्थीको छ ।
विद्यार्थीका अनुसार पाठ्यक्रममा अध्याय तोकेर कुनबाट कति अंकभारको प्रश्न आउने उल्लेख गरिएको छ । तर त्यो अनुसार प्रश्न सोधिएको छैन । पा्ठयक्रममा समावेश नै नभएको विषयबाट प्रश्न आएको छ ।
बरु भारतमा चिकित्सा शिक्षाका लागि लिइने प्रवेश परीक्षा नीट(NEET)मा सोधिएका प्रश्न हुबहु आएको विद्यार्थीको गुनासो छ।
आउनुपर्ने भन्दा विपरीत खालका प्रश्न सोधिएको आरोप विद्यार्थीहरूको छ।
‘एउटा दुईवटा प्रश्न यताउता हुनु जहाँसुकैबाट सोध्नु त सामान्य हो’ एक विद्यार्थीले भने, ‘तर २० वटा प्रश्न आउने भनिएको च्याप्टरबाट ५ वटा पनि नहाउने, सेलेवसमै नराखिएको च्याप्टरबाट थुप्रै प्रश्न आउने । निकै लापरवाही देखियो।'
‘चिकित्सा शिक्षा आयोगले किन किन सेलेवस निकाल्यो त ?’ एक विद्यार्थी प्रश्न गर्छन्, ‘उसले जे पनि गर्न पाउँछ ? नियम मान्नुपर्दैन?’
चिकित्सा शिक्षा आयोगले ६० शब्द भन्दा बढीको प्रश्न नआउने, फिगरमा प्रश्न नसोधिने भनिए पनि १५० भन्दा बढी शब्दका प्रश्न समेत आएको विद्यार्थीको गुनासो छ ।
‘एउटा प्रश्नलाई धेरै समय दिनै मिल्दैन ३ घण्टामा २०० वटा प्रश्न हल गर्नुपर्ने हुन्छ’ एक विद्यार्थीले भने ।
प्रश्न गर्ने विद्यार्थीलाई प्रहरी बोलाउने धम्की
प्रवेश परीक्षामा किन यस्तो प्रश्न आएको भनेर सोध्न चिकित्सा शिक्षा आयोगमा शुक्रबार एक विद्यार्थी पुगेका थिए ।
ती विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगका अधिकारीले यस्तो प्रश्न गर्न नपाइने भनेर हप्काए।
मधेसी मुलका ती विद्यार्थी चिकित्सा शिक्षा आयोगका परीक्षा निर्देशक प्रा.डा.संघरत्न बज्राचार्यसँग प्रश्न गर्न पुगेका थिए । निर्देशक बज्राचार्यले प्रश्न जहाँ सुकैबाट सोध्न सकिने र यसबारे विद्यार्थीले प्रश्न गर्न नपाउन जवाफ दिनुभयो ।
ती विद्यार्थीले बज्राचार्यसँग भएको कुराकानीको भिडियो सामाजिक फेसबुकमा सेयर समेत गरेका छन् । अझै प्रश्न गरिरहे पुलिस बोलाएर थुनिदिने धम्की निर्देशक बज्राचार्यले दिनुभएको छ ।
पाठ्यक्रम अनुसार नै प्रश्न बनाएको दावी प्रा.डा.बज्राचार्यको छ ।
जे पायो त्यही बोल्यो भने मुद्दा हाल्ने धम्की समेत उहाँले ती विद्यार्थीलाई दिनुभएको छ ।
ती विद्यार्थीले हेल्थपाटीलाई बताएअनुसार बज्राचार्यलाई भेट्नुअघि आयोगका एक शाखा अधिकृतसँग यो विषयमा कुराकानी हुँदा प्रश्नमा कमजोरी भएको ती अधिकृतले स्वीकार गरेका थिए ।
अर्काे परीक्षामा कमजोरी सुधार गर्ने ती कर्मचारीले बताएका थिए।
निर्देशक बज्राचार्यले भने यसबारे प्रश्न उठाउदा नै सजायको भागीदार हुनुपर्ने भन्दै विद्यार्थीलाई धम्क्याउनुभएको देखिन्छ ।
‘अब त हामी पनि कस्तो कुरा गर्नुपर्ने भो भने नचाहिँदो कुरा गर्नेलाई कारबाही पनि गर्नुपर्ने हुनसक्छ’ निर्देशक बज्राचार्यले विद्यार्थीलाई भन्नुभएको छ।
‘सेलेवस अलिकति पनि फलो नगर्ने भए वेबसाइटमा किन राख्यो हामीलाई झुक्याउन पाइन्छ ?’ ती विद्यार्थी आयोगलाई प्रश्न गर्नुहुन्छ।
भारतमा सोधिने प्रश्न नेपालीकरण समेत नगरी जस्ताको तस्तै राखिएको यी विद्यार्थीको आरोप छ ।
भारतमा आइतबार सार्वजनिक विदा हुन्छ । विद्यार्थीको भनाइअनुसार त्यहाँ सोधिएको प्रश्न जस्ताको तस्तै यहाँ सार्दा नेपालमा पनि आइतबार नै विदा हुन्छ भनेर राखिएको छ । 'नेपालमा त शनिबार विदा हुन्छ नि त्यति पनि नमिलाई जस्ताको तस्तै सार्न पाइन्छ ?' विद्यार्थी भन्छन्।
प्रश्नपत्र निर्माणमा आयोगका निकै लापरवाही देखिएको विद्यार्थीको आरोप छ ।
विद्यार्थी सामान्य प्रश्न गर्न जाँदा प्रहरीको हवला दिएर धम्क्याउन आयोगको दादागिरी भएको भन्दै अन्य विद्यार्थीहरु आक्रोशित भएका छन्।
बिनाकारण विद्यार्थीलाई थुनाउने कुनै अधिकार आयोगलाई नभएको विद्यार्थीहरु बताउछन् ।
परीक्षा केन्द्रमा समेत निकै लापरवाही देखिएको विद्यार्थीहरुको आरोप छ ।
आयोगले मनलाग्दी गरेको, सर्वाेच्च अदालतले दिएको आदेश समेत पालना नगरेको विद्यार्थीहरुलाई सहजिकरण गर्ने भन्दा पनि समस्यामा पार्ने गरेको आरोप विद्यार्थीहरुको छ ।
परीक्षाको प्रश्नपत्र वेबसाइटमा राख्नु पर्ने र उत्तर पुस्तिका विद्यार्थीले हेर्न पाउने भनेर सर्वोच्च अदालतले आदेश दिएपनि आयोगले त्यो पालना नगरेको विद्यार्थीको गुनासो छ।
अहिले प्रवेश परीक्षा दिएका विद्यार्थीहरु मिलेर चिकित्सा शिक्षा आयोगविरुद्ध आन्दोलन गर्ने तयारी भइरहेको विद्यार्थीहरुले हेल्थपार्टीलाई जानकारी दिएका छन् ।
तपाईँको अभिमत