गोली प्रहारबाट अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प घाइते, २ जनाको मृत्यु
संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। शनिबार दिउँसो पेन्सिलभेनियाको बटलरमा भएको एक सभामा उनीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जानकारी दिएका छन्।
सिएनएनले दिएको खबरअनुसार गोलीले आफ्नो दाहिने कानको माथिल्लो भागमा लागेको ट्रम्प स्वयंले समाजिक सञ्जाल ट्रुथमार्फत जानकारी दिएका छन्।
रगत बगाउँदै ट्रम्प मञ्चबाट बाहिरिएको गुप्तचर निकायले बताएका छन्। उपचारपछि ट्रम्प समान्य अवस्थामा रहेको उनका प्रवक्ताले बताएका छन्।
गुप्तचर निकायका अनुसार बन्दुकधारीले सभास्थल बाहिर रहेको एक भवनको छतबाट केही गोली चलाएका थिए। उनले चलाएको गोली लागेर सभामा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। दुई जना गम्भीर घाइते भएका छन्। सुरक्षा निकायका व्यक्तिले चलाएको गोली लागी बन्दुकधारीको पनि मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गरेका छन्। बाइडेनले ट्रम्पसँग कुराकानी गरी सुरक्षित रहेकोमा खुसी व्यक्त गरेका छन्।
हत्या योजना हुनसक्ने भन्दै फरक–फरक निकायले घटनामाथि अनुसन्धान गरिरहेका छन्।
तपाईँको अभिमत