'माछा-मासु पकाउँदा चिल्लो कम, धेरै मसला हाल्नुपर्छ’ (भिडियो)
दशैंको समयमा सबैको घरमा अन्य दिनको तुलनामा धेरै किसिमका परिकारहरू पाक्ने गर्छन् । साधारण समयमा भन्दा यो बेला धेरै खाइन्छ पनि।
अझ भन्नुपर्दा दशैंको समयमा भारी खालको खाना खाने गरिन्छ। हामीले खानेकुरा खाँदा आफ्नो शरीरको पाचन क्षमता बुझ्न अति जरुरी रहेको आयुर्वेद चिकित्सक डा.पुनम नेपाल बताउनुहुन्छ। बाहिरी वातावरणको प्रभाव अनुसार खानेकुरा खानुपर्ने उहाँको भनाइ छ।
जिल्ला आयुर्वेद कार्यालय सिनामंगलमा कार्यरत डा.पुनमले हेल्थपाटीसँगको कुराकानीमा खाना खाँदा मात्रै नभई खाना बनाउने बेलादेखि नै ध्यान दिन सुझाव दिनुभएको छ।
शरीरमा रोग नलाग्न पाचन प्रणाली सन्तुलित र मजबुत बनाउनु पर्ने र त्यसका लागि खानामा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ।
डा.पुनमका अनुसार भारी किसिमका खाना पकाउँदा चिल्लो कम र मसला बढी हाल्नुपर्छ। भान्सामा प्रयोग हुने हरेक मसलाले शरीरलाई तातो प्रदान गर्ने र खाना पचाउन मद्दत गर्ने जानकारी उहाँले दिनुभयो।
दशैंको खानपिन कस्तो हुनपर्छ भन्नेबारे आयुर्वेद चिकित्सक डा.पुनम नेपालको सुझाव यस्तो छ
दशैं र तिहार प्रायजसो असोज र कार्तिक महिनामा पर्दछ। यी महिना शरद ऋतुमा पर्छन् । शरद ऋतुभन्दा अगाडि वर्षा ऋृतु हुन्छ। त्यतिबेला पानी परिरहेको हुन्छ र बाहिरी वातावरण चिसो हुन्छ।
शरद ऋतुमा अलिअलि घाम लाग्न सुरु गर्छ। बाहिरी वातावरण बिस्तारै तातो भइरहेको हुन्छ। अहिले हामी शरद ऋतुमा छौं। बाहिरी वातावरण अनुसार शरीरमा प्रभाव परेको हुन्छ।
बाहिरी वातावरणमा पानी परेका बेला हाम्रो पाचन शक्ति कमजोर भएको हुन्छ। शरद ऋतु सुरु हुँदै गर्दा पाचन अवस्था केही हदसम्म सुध्रेको हुन्छ तर पाचन शक्ति पूर्णरुपमा राम्रो भइसकेको हुँदैन। त्यसैले हामीले खाने खाना सोही अनुसार हुन जरुरी छ।
दशैंको समयमा साधारण समयको भन्दा हाम्रो जीवनशैली र खाने व्यवहारमा परिवर्तन हुन्छ। अन्य दिनमा साधारण तरकारी खाइरहेका हामी दशैंका बेला माछा, मासु बढी खाने गर्छौँ।
हामीले क्वाटी, माछा मासुमा धेरै मसलासहित पकाउँदै आएका छौं। साधाराण तरकारीमा भन्दा माछा, मासु, क्वाटीलगायत भारी खानामा मसाला धेरै हाल्नुमा वैज्ञानिक कारण छ।
शरीरमा खाना पचाउने एक किसिमको अग्नी हुन्छ र हाम्रो भान्सामा प्रयोग हुने मर-मसलाहरूले अग्निलाई बढाउँछ र खाना पचाउन सहयोग गर्छ।
विभिन्न चाडबाडमा हाम्रो संस्कृति अनुसार परिकारहरू बनाइने गरिन्छ। भान्सामा विशेषगरी, बेसार, अदुवा, जिरा, धनियाँ, तेजपत्ता, दालचिनी लगायतका मसलाको प्रयोग भइरहेका हुन्छ्न।
यी मसलाले शरीररलाई तातो बनाउनुका साथै हामीले खाएको खाना पचाउन मद्दत गर्छ ।
दशैंको समयमा हामी गरिष्ठ (भारी) खाना खान्छौँ। नियमित भोजनसहित थप माछा मासु वा अन्य परिकार खाइरहेका हुन्छौ। शरीरले पचाउन सक्नेगरि मात्रै हामीले खानेकुरा खाने बानी गर्नुपर्छ। माछा,मासु, पनी र, गेडागुडी धेरै खाइरहेका छौँ भने नियमित खानालाई कम गर्नुपर्छ ।
शरद ऋतुमा वातावरणको प्रभाव अनुसार शरीरको पाचन शक्ति पहिलो महिनाभन्दा बलियो भएको हुँदैन। त्यसैले दशैंको समयमा सकभर धेरै मात्रामा खानु हुँदैन। रोग लाग्नै नदिन शरीरले पच्न सक्ने क्षमतामा मात्रै हामीले खानेकुरा खानुपर्छ।
शरद ऋतुमा दही खानु राम्रो मानिदैन
यसैगरी दशैं तिहारमा धेरैजसो दही खाने गरिन्छ। तर दही खाने नियम छ। आयुर्वेद विज्ञानले शरद ऋतु (असोज र कार्तिक) महिना र वसन्त ऋतु (चैत र बैशाख)मा दही खानु हुँदैन भन्छ। दहीले खाना पचाउन सहयोग त गर्छ तर शरीरले दही आफैं पचाउन सक्नुपर्छ। पाचन शक्ति त्यति बलियो भइनसेको हुने हुँदा शरीरलाई दही पचाउनै गार्हो हुन्छ। त्यसैले दही खानैपर्दा दालचिनी मिसाएर खानपर्छ। दहीमा दालचिनी मिसाएर खाए शरीरलाई तातो बनाउन र खाना पचाउन मद्धत गर्दछ।
तपाईँको अभिमत