के हो ‘लिभर सिरोसिस’, मोटोपन सिरोसिसको एउटा कारण
लिभर सिरोसिस भन्नाले दीर्घकालीन घात वा हानिका कारण कलेजोले राम्रोसँग काम नगर्ने अवस्था हो । सामान्य कलेजो तन्तुलाई चोटग्रस्त तन्तुले प्रतिस्थापन गर्नुले यस्तो हानि बुझाउँछ । सामान्यतः कलेजो तन्तुलाई चोटग्रस्त तन्तुले प्रतिष्थापन गर्दा हानी पुग्छ । लिभर सिरोसिस र कलेजोसँग सम्बन्धित अन्य रोग विश्वमा मृत्युको एक प्रमुख कारण हो । कलेजोमा चोट वा हानि भएमा धेरै रगत बग्ने, सुन्निने तथा श्वास लिनमा समस्या हुने हुन्छ ।
लिभर सिरोसिसका लक्षणहरू के–के हुन् ?
कोही –कोहीमा लिभर सिरोसिसको लक्षण देखिँदैन । जब लक्षण देखिन्छन्, निम्नानुसारका अवस्था देखा पर्छन् :
– कोख तथा खुट्टा सुन्निने, फोक्सोमा पानी जम्ने,
– ग्रासनली (मुख/घाँटी र पेटलाई जोड्ने ट्यूब जस्तो नली) मा भएको रक्तनलीबाट तथा नाकबाट धेरै रगत बग्नु,
– घाउ आउने वा अनायसै रगत बग्ने,
– सास फेर्न गाह्रो हुने,
– कम भोक लाग्ने,
– खानामा अरुचि,
– थकान महसुस हुने,
– सुत्न नसक्ने कि त सुते पनि बढी समयसम्म सुत्ने,
– छाला चिलाउने र डाबर आउने, जन्डिस हुने,
– अचानक भ्रमित हुने र
– कोमामा जाने ।
लिभर सिरोसिसले संक्रमण गराउने सम्भावना बढी हुन्छ, र यसले कलेजो क्यान्सरको जोखिम बढाउँछ ।
के कारण लिभर सिरोसिस हुन्छ ?
सामान्यतः लिभर सिरोसिसको कारण भनेको मदिरा सेवन, हेपाटाइटिस बी र सी संक्रमण हुन् । मोटोपन पनि सिरोसिसको एक कारण हो । यद्यपि, यो मदिरापान जतिकै कारण चाहिँ होइन । मोटोपन आफैँमा जोखिमको एक कारक हुन सक्छ वा मदिरापान र हेपाटाइटिस बी वा हेपाटाइटिस सी सँगसँगै हुन्छ ।
दिनमा दुई पटक भन्दा बढी मदिरा (बियर/रक्सी) पिउने महिलामा लिभर सिरोसिस हुन सक्छ । पुरुषहरूमा भने वर्षौँसम्म हरेक दिन नियमित रूपमा तीन पटकभन्दा बढी मदिरा पिउनेलाई यसको जोखिम हुन्छ । जे भए पनि हरेक व्यक्तिअनुसार यसको मात्रा फरक हुन सक्छ साथै यसको मतलब एकभन्दा बढी पटक मदिरा पिउनेलाई सिरोसिसको जोखिम बढी नै हुन्छ भन्ने पनि होइन । १० देखि १२ वर्षसम्म नियमित मदिरा सेवन गरेमा सिरोसिस हुन सक्छ ।
सिरोसिस हुने अन्य कारणहरू :
हेपाटाइटिस डी : यस्तो किसिमको हेपाटाइटिसले पनि सिरोसिस गराउन सक्छ । यो धेरैजसो पहिले नै हेपाटाइटिस बी भएका व्यक्तिमा हुन्छ । स्वतः प्रतिरक्षा रोगका कारण सुन्निने : स्वतः प्रतिरक्षा हेपाटाइटिस वंशाणुगत कारणबाट हुन सक्छ । अध्ययनका अनुसार ७० प्रतिशत यस्ता बिरामी महिला हुन्छन् ।
पित्त नलीमा बिग्रिने वा नष्ट हुने, जसले पित्त निस्कसन गर्ने कार्य गर्छ : यस्तो किसिमको अवस्था सिरोसिसको प्राथमिक अवस्था हो ।
शरीरको फलाम र तामालाई सञ्चालन गर्ने क्षमतामा तलमाथि हुनु ।
औषधोपचार : उच्च औषधोपचार अर्थात् बढी औषधीको प्रयोग जस्तै; एस्टामिनोफेन, केही एन्टिबायोटिक्स र केही एन्टिडिप्रेजेन्ट्स, केही एन्टिडिप्रेसन्ट्स जस्ता औषधी सहित ओभर-द-काउन्टर ड्रग्सले कलेजो सिरोसिस निम्त्याउनसक्छ।
लिभर सिरोसिसको कुनै परीक्षण छ ?
परीक्षण निम्नानुसार गरिन्छ :
बायोप्सी : यस परीक्षणमा चिकित्सकले कलेजोबाट सानो नमुना तन्तु लिन्छन् । उक्त नमुनाबाट क्षति कति गम्भीर रूपमा भएको रहेछ भनेर जान्न सकिन्छ ।
रगतकाे जाँच :यसको नतिजाले केले रोग लागिरहेको छ भन्ने कुरा देखाउँछ ।
स्क्यानिङ/इमेजिङ : सीटी स्क्यान वा एमआरआईको सहायताबाट चिकित्सकले कलेजोको स्क्यान वा तस्बिर लिन सक्छन् ।
लिभर सिरोसिसबाट हुने जटिलताहरू
यदि तपाईँको रगत कलेजो भएर पास हुन सकेको छैन भने यसले ग्रासनली जस्तै अन्य नसाहरू भएर रगत सञ्चय गर्छ । यस्तो सञ्चयलाई इसोफागील भ्यारिसेज भनिन्छ । यस्ता नसाहरू उच्च चापलाई नियन्त्रणका लागि बनेका हुँदैनन् अनि अतिरिक्त रक्त प्रवाहबाट फुलिन सुरु हुन्छन् ।
अन्य जटिलताहरू निम्नानुसार रहेका छन् :
– छालामा खटिरा आउनु (कम प्लेटेलेटका कारण)
– रगत बग्नु
– औषधीको लागि संवेदनशीलता
– मिर्गौला फेल
– कलेजोको क्यानसर
– इन्सुलिन प्रतिरोध र मधुमेहको दोस्रो प्रकार
– हेपाटिक एन्सेफलोपथी (दिमागमा रगतको विषको प्रभावको कारण भ्रमित हुने
– पित्तथैलीको पथरी
– स्प्लीन बढ्नु
– फुल्ने तथा तरलता हुने ।
कलेजोलाई अझ हानि हुनबाट जोगाउन केही गर्न सकिन्छ ?
कलेजोलाई अझ हानि हुनबाट जोगाउन केही उपायहरू अवलम्बन गर्न सकिन्छ । कलेजो जोगाउन निम्नानुसारका उपाय अपनाउन सकिन्छ :
– मदिरा सेवन नगर्ने,
– पेन किलरहितका आईबुप्रोफेन, नाप्रोक्सेन वा एसीटामिनोफेन जस्ता कुनै पनि नयाँ औषधी प्रयोग गर्नु पहिले चिकित्सकको सल्लाह लिनुहोस् । कुनै आयुर्वेद, भिटामिन तथा पूरक प्रयोग गर्नुपहिले पनि चिकित्सकसँग परामर्श लिनुहोस् । केही औषधी र पूरकले कलेजोमा हानि पुर्याउन सक्छन् । पहिले संक्रमण भएको छैन भने हेपाटाइटिस ए र बीको खोप लिनुहोस् ।
लिभर सिरोसिसको उपचार कसरी गरिन्छ ?
यसको उपचार पद्धति के कारण सिरोसिस भएको हो, कति गम्भीर छ तथा लक्षणहरू केके छन् भन्ने कुरामा भर पर्छ । उपचार पद्धतिलाई निम्नानुसार वर्गीकरण गरिन्छ :
रोगको कारणको उपचार : केही लिभर सिरोसिसका कारणको उपचार हुन सक्छ । जस्तै; मदिरा सेवनका कारण हुने सिरोसिस यसको सेवन त्यागेर रोगबाट बच्न सकिन्छ । हेपाटाइटिस बी वा सी भएका व्यक्तिले औषधी प्रयोग गर्न सक्नुहुन्छ ।
रक्तस्रावको जोखिम कम गर्ने : लिभर सिरोसिसले ग्रासनली वरपरका नसामा रगत बहाउन सक्छ साथै सुन्निन सक्छ । यसबाट बचाउन चिकित्सकले निम्न उपाय गर्न सक्छन् :
"बीटा ब्लकरहरू"नामक औषधी प्रिस्क्राइब गर्न सक्छन् । यस्ता औषधीले कलेजोमा उच्च रक्तचाप घटाउँछन्, साथै रक्तस्रावको सम्भावनालाई कम गर्न मद्दत गर्छन् । सुन्निएको नसाको वरपर सानो पट्टी राख्न सक्छन्, जसलाई ‘भेरिसील ब्यान्ड लिगेसन’ भनिन्छ ।
पेटमा तरल पदार्थ कम गराउने : सिरोसिस ग्रस्त व्यक्तिहरूमा पेट कहिलेकाहीँ तरल पदार्थले भरिन्छ ।
यसलाई घटाउन चिकित्सकले निम्नानुसारका कार्य गर्न सक्छन् :
‘डिउरेटिक्स’ नामक औषधी प्रिस्क्राइब गर्न सक्छन् । यस्तो औषधीले धेरै पिसाब गराउँछ । डिउरेटिक्स औषधी प्रयोग गर्ने व्यक्तिले नुनको मात्रा पनि नियमित भन्दा कम गर्नुपर्छ । पेटमा भएको पानी सुई प्रयोग गरेर सुकाउन सक्छन् । यस प्रक्रियालाई प्यारासेन्टेसिस भनिन्छ । पेट फुलिन नदिन ‘टीआईपीएस’ नामक एक उपकरण पेटमा राखिदिन सक्छन् ।
उपचार वा संक्रमण रोकथाम : लिभर सिरोसिस भएका व्यक्तिलाई सामान्य व्यक्तिमा भन्दा संक्रमण हुने सम्भावना उच्च हुन्छ । जब संक्रमण हुन्छ यस्ता व्यक्ति लिभर सिरोसिस नभएका बिरामी भन्दा गम्भीर बिरामी पर्न सक्छन् । यसकारण लिभर सिरोसिस भएका व्यक्तिलाई संक्रमण उपचार वा रोकथामका लागि कहिलेकाहीँ एन्टिबायोटिक्स औषधी आवश्यक पर्छ । त्यसैले सिरोसिस भएका अधिकांशले संक्रमण रोकथाम गर्न फ्लू तथा अन्य खोप लिनुपर्छ । भ्रमको उपचार गर्न डाक्टरहरूले सामान्यतया ल्याक्टुलोज (स्टुल नरम पार्ने औषधि) वा केहिएन्टिबायोटिक प्रयोग गर्छन्।
नयाँ कलेजोको आवश्यकता पर्छ ?
लिभर सिरोसिस भएर गम्भीर अवस्थाका बिरामीलाई नयाँ कलेजो आवश्यक पर्छ । गम्भीर बिरामी पर्नुभन्दा पहिले नै चिकित्सकसँग कलेजो प्रत्यारोपण र शल्यक्रियाका बारे परामर्श लिनुपर्छ । कलेजो प्रत्यारोपणका लागि प्रायजसो दुई वर्षसम्म कुर्नुपर्ने हुन्छ ।
के लिभर सिरोसिस रोकथाम गर्न सकिन्छ ?
यसको रोकथाम केही उपायहरू अवलम्बन गरेर गर्न सकिन्छ । प्रायः आफ्ना आनीबानी र खानपिनमा विशेष ध्यान दिनुपर्छ । सिरोसिस हुने सम्भावनालाई कम गर्न निम्नानुसारका उपाय अवलम्बन गर्नुपर्छ :
– मद्यपान त्याग्ने,
– हेपाटाइटिस ए तथा बीको खोप लिने,
– यौनसम्पर्क गर्दा कन्डमको प्रयोग गर्ने,
– सुई साटासाट नगर्ने ।
(लेखक कलेजो प्रत्यारोपण शल्यचिकित्सामा पीएचडीसंगै पोष्ट डाक्टरेट फेलोशीप गर्नुभई हाल चीनको चच्यांग विश्वविद्यालय सम्वद्ध अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
तपाईँको अभिमत