प्रवेश परीक्षाका लागि आवेदन दिएका तर कक्षा १२ पास नभएका विद्यार्थीको के हुन्छ ?
आगामी शैक्षिक शत्रका लागि चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षा नजिक आएको छ । आयोगले भदौ १ गतेदेखि ५ गतेसम्म प्रवेश परीक्षाको मिति तोकेको छ।
परीक्षाका लागि आवेदन दिएका तर कक्षा १२ पास नभएका विद्यार्थीहरूको विषयमा विवाद उत्पन्न भएको छ।
यस पटक आयोगले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि आवेदन खुलाएको थियो । आयोगले एकीकृत प्रवेश परीक्षाका लागि गत जेठ २८ गते नै आवेदन माग गरेको थियो । आवेदन दिने मिति असार १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर २५ गतेसम्म तोकिएको थियो ।
कक्षा १२ को परीक्षा दिएको प्रवेश पत्रका आधारमा आवेदन दिन सकिने नियम यसपटक लागू गरिएको थियो । कक्षा १२ को नतिजा नआएपनि प्रवेश परीक्षा हुने र परीक्षाको नतिजा भने कक्षा १२ को नतिजा आएपछि मात्रै सार्वजनिक गर्ने आयोगले बताएको थियो ।
एकीकृत प्रवेश परीक्षा आउन केही दिन बाँकी हुँदा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्यो। १२ मा अनुतीर्ण (एनजी) भएकालाई परीक्षामा सामेल नगराउने निर्णय आयोगले गरिसकेको छ ।
प्रवेश परीक्षाको फारम भरेका तर कक्षा १२ मा अनुतीर्ण भएका विद्यार्थीले परीक्षामा सामेल हुन पाउनुपर्ने माग राखेका छन् । परीक्षामा सामेल हुन नपाउने हो भने आवेदन दिँदा तिरेको शुल्क फिर्ता हुनुपर्ने उनीहरूको माग छ । अरू भन्दा पनि मौका परीक्षाको अवसर पाएका विद्यार्थीले एकीकृत प्रवेश परीक्षा दिन पाउनु पर्ने माग गरेका छन् ।
बढीमा २ विषयमा 'ननग्रेड' आएका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षाको मिति भदौ २५ र २६ गते तोकेको छ । एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिएका र मौका परीक्षा दिने विद्यार्थीलाई आयोगको एकीकृत प्रवेश परीक्षामा सामेल गराउनु पर्ने माग विद्यार्थीहरूको छ ।
थरीथरी माग
पहिले परीक्षामा सामेल गराउने भनेर अहिले सामेल नगराउँदा आफूहरू अन्यायमा परेको विद्यार्थीको गुनासो छ।
यसमा विद्यार्थीहरूका थरीथरी माग छन् । आवेदन फारम भरेजत्ति सबैले परीक्षा दिन पाउनुपर्ने एकथरीको तर्क छ । ‘पढ्न नपाएपनि अनुभव हुन्छ फारम लिएपछि सबैले परीक्षा दिन पाउनुपर्छ’, विद्यार्थीहरू भनिरहेका छन् ।
कम्तिमा मौका परीक्षा दिने विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउनु पर्ने र मौका परीक्षाको नतिजा आएपछि पास हुनेलाई पढ्न पाउने व्यवस्था गर्नुपर्ने पनि विद्यार्थीहरूको माग छ ।
मौका परीक्षा दिने विद्यार्थीका लागि परीक्षा सार्नुपर्ने माग गर्नेहरू पनि छन्।
एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिएका र अनुतीर्ण भएका कतिपय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका छन् । कम्तिमा पुनर्योगको नतिजा आउँदासम्म चाहिँ कुर्नुपर्ने माग पनि विद्यार्थीहरूको छ ।
यदि प्रवेश परीक्षामा सामेल हुन नपाउने हो भने आवेदन दिँदा तिरेको शुल्क फिर्ता हुनुपर्ने अनुतीर्ण सबै विद्यार्थीको माग रहेको छ ।
आयोगको तयारी के छ ?
अनुतीर्ण भएका विद्यार्थीलाई कुनैपनि हालतमा परीक्षामा सामेल नगराउने चिकित्सा शिक्षा आयोगले स्पष्ट पारेको छ ।
कक्षा १२ को नतिजा नआएको खण्डमा सबैलाई परीक्षामा सामेल गराइने भएपनि नतिजा आइसकेपनि सामेल गराउन नमिल्ने आयोगका सदस्य सचिव कृष्ण प्रसाद काप्री बताउनुहुन्छ ।
छिट्टै प्रवेश परीक्षा गराउने भन्दै र आगामी मंसिरदेखि नै पढाइ सुरु गर्ने उद्देश्यले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाको आवेदन खुलाइएको काप्रीको भनाइ छ ।
‘विद्यार्थीहरूलाई नै धेरै कुर्नु नपरोस् भनेर धेरैको सुझाव र सल्लाहमा यस्तो नियम लागू गरिएको हो । अब पास नै नभएका विद्यार्थीलाई परीक्षामा सामेल गराउन त कसरी मिल्छ र ?’, काप्री भन्नुहुन्छ ।
पूरक परीक्षा पनि एक महिनापछि भएकाले उनीहरूको परीक्षा नहुँदासम्म परीक्षा सार्न नसकिने उहाँको भनाइ छ ।
अघिल्ला वर्षहरूमा पनि पूरक परीक्षा दिने विद्यार्थीले पछिल्लो वर्ष मात्रै एकीकृत प्रवेश परीक्षामा भाग लिन पाएकाले यो नयाँ विषय नभएको काप्रीले बताउनुभयो।
चिकित्सा शिक्षा आयोगका अनुसार यो वर्ष प्रवेश परीक्षाका लागि ५१ हजार ७०० जति आवेदन परेका छन् । यसमा १७ हजार जति एमबीबीएसका छन् । आयोगले ५ वटा फरक-फरक विषयमा प्रवेश परीक्षा गर्दैछ । एक विद्यार्थीले एक भन्दा बढी विषयमा पनि प्रवेश परीक्षा दिन पाउँछन् ।
आवेदन दिएका विद्यार्थी तोकिएको मापदण्डअनुसार कक्षा १२ पास भएका छन् कि छैनन् भनेर अहिले आयोगले प्रमाणिकरण गरिरहेको छ । राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरी प्रमाणिकरण भइरहेको आयोगले जनाएको छ। बिहीबार मध्यान्हसम्म ४७ हजार बढी आवेदन प्रमाणित भइसकेको आयोगले जानकारी दिएको छ । बाँकी ४ हजार बढी आवेदनको १-२ दिनभित्र प्रमाणिकरण सकिने आयोगकोले जनाएको छ ।
ननग्रेडिङमा परेका र परीक्षा दिन अयोग्य विद्यार्थी २ हजारदेखि २५ सयसम्म हुने अनुमान आयोगले गरेको छ ।
पुनर्योगका लागि आवेदन दिएका र पुनर्योगमा पास हुने विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउने प्रयत्नमा रहेको आयोगका सदस्य सचिव काप्रीले जानकारी दिनुभयो ।
काप्रीका अनुसार त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय भइरहेको छ । साउन ३० गतेसम्म पुनर्योगको नतिजा आएपनि ती विद्यार्थीलाई परीक्षामा सामेल गराउन सकिने उहाँको भनाइ छ ।
सबै प्रमाणिकरण गरिसकेपछि आवेदन दिएका तर परीक्षा दिन नपाउने विद्यार्थीको शुल्क फिर्ताका विषयमा आयोग सकारात्मक रहेको सदस्य सचिव काप्रीले बताउनुभयो।
यस विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।
‘आवेदनवापत उठाएको शुल्क सरकारी कोषमा गइसकेको छ’ काप्री भन्नुहुन्छ, ‘त्यसलाई फिर्ता गर्ने प्रक्रिया हुन्छ । कानुनमा के व्यवस्था छ, त्यो अनुसार निर्णय गर्छाैँ।’
बढी पैसा उठाउनकै लागि १२ को नतिजा नआउँदै फारम भर्ने व्यवस्था ल्याएको आरोप विद्यार्थीहरूले लगाएका छन् । एक विषयमा प्रवेश परीक्षा दिनका लागि आवेदन दिँदा ४ हजार शुल्क तोकिएको छ । एक भन्दा बढी विषयमा आवेदन दिँदा प्रत्येकका लागि थप ४ हजार शुल्क बुझाउनु पर्ने हुन्छ । परीक्षा दिन नपाउनेमा ४ हजारदेखि १२ हजारसम्म शुल्क तिरेका विद्यार्थी भेटिएका छन् ।
कक्षा १२ को नतिजा नआइकन आवेदन खोल्नुमा पढाइ छिटो सुरु गर्ने भन्दा अर्काे उद्देश्य नभएको काप्रीले बताउनुभयो ।
यो नयाँ प्रयोग भएकाले अर्काे वर्षबाट विवादरहित बनाउने प्रयत्न गरिने प्रतिवद्धता उहाँले व्यक्ति गर्नुभयो ।
तपाईँको अभिमत