कर्णालीमा कलिलै उमेरका महिलामा पाठेघर खस्ने समस्या किन ?
महिलामा देखापर्ने प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरुमध्ये पाठेघर खस्नु प्रमुख स्वास्थ्य समस्या हो । १० वर्षअघिसम्म तराईका जिल्लामा ३० प्रतिशत र पहाडका जिल्लामा ७० प्रतिशत महिला पाठेघर (आङ) खस्ने समस्याबाट पीडित थिए ।
सुत्केरी समयमा उचित हेरचाह, स्याहार नहुँदा, गह्रुगो काम गर्न बाध्य हुँदा, कम समयको अन्तरालमा धेरै बच्चा जन्माउँदा महिलाहरूमा पाठेघर खस्ने समस्या देखिन्छ । पछिल्ला दिनमा शहरका महिलाहरुमा यस्तो समस्या कम देखिन्छ । स्वास्थ्य सेवाको सहज पहुँच नभएका ग्रामीण भेगका महिला यो समस्याबाट धेरै पीडित छन् ।
कर्णाली प्रदेशका ग्रामिण क्षेत्रका महिलामा कलिलै उमेरमा पाठेघर खस्ने समस्या देखिने गर्छ । उनीहरु सकेसम्म समस्या लुकाउँछन् । अस्पताल आउँनै चाहदैनन् । बेलाबखत गाउँ-गाउँमा सञ्चालन गरिने स्वास्थ्य शिविरमा पाठेघर खस्ने समस्या लिएर आउने महिलाको संख्या धेरै हुन्छ ।
यस विषयमा हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेर स्त्रीरोग विशेषज्ञ डा.सुबी बस्न्यात बज्राचार्यसँग कुरा गरेका छौँ । उहाँ विगत ८ वर्षदेखि कर्णालीमै कार्यरत हुनुहुन्छ । उहाँ कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य शिविरमा समेत पुगेर स्वास्थ्य जाँच गर्दै आउनुभएको छ ।
कर्णाली धेरै जसो महिलामा देखिने स्वास्थ्य समस्या के-के हुन् ?
स्त्रीरोग विभाग अन्तगर्त रहेर विशेषगरि १६ वर्षभन्दा माथिका महिलाको जाँच हुन्छ तर १५ वर्षभन्दा मुनिका बालिका जसलाई स्त्रीरोग सम्बन्धी समस्या देखिएको छ उहाँहरुको पनि हामी जाँच गर्छाैँ । यहाँ म आएको ८ वर्षको अन्तराललाई केलाउँदा यहाँका महिलाहरुको ठूलो समस्या भनेको पाठेघर खस्ने समस्या हो ।
यहाँका ३० वर्षमाथि अर्थात् कलिलै उमेरका महिलाहरुमा देखिएकाे छ । खासमा याे समस्या ५० वर्ष नाघेपछि मात्रै देखिनुपर्ने हो । यहाँ भौगोलिक जटिलता, जनचेतनामव अभाव जस्ता कारणले सानै उमेरका महिलाहरु पनि यो समस्याबाट पीडित भइरहेका छन् । जुम्लासहित रुकुम, जाजरकोट, बाजुरा कालिकोट जिल्लामा पाठेघर खस्ने समस्या धेरै छ ।
पाठेघर खस्नुका कारणहरु के हुन् ?
सानो उमेरमा विवाह गर्ने, सुत्केरी भएलगत्तै गह्रौ भारी बोक्ने, स्वास्थ्य सेवाबाट नपाउँने, सुत्केरी हुँदा राम्रो स्याहार-सुसार नपाउने, कम अन्तरालमा धेरै सन्तान जन्माउने जस्ता कारणले महिलामा पाठेघर खस्ने समस्या देखिने गरेको छ । कर्णालीमा महिलाहरुको काम गर्ने तरिका, जीवनशैलीले उनीहरुमा छिट्टै पाठेघर खस्ने समस्या देखिएको हो ।
यहाँका महिलाहरुको दैनिकी निकै कष्टकर छ । धेरै स्थानमा बाटाहरु अप्ठेरा छन् । खानेपानी, घाँस दाउराका लागि महिलाहरु घण्टौ उकालो ओरालो हिड्नुपर्छ । अर्काे कुरा गर्भवती हुँदा हेरचाह हुँदैन, परिवारको सहयोग हुँदैन । यिन कारणले यहाँका महिलामा यो समस्या बढी देखिन्छ।
अहिले पनि छोराका लागि धेरै बच्चा जन्माउने प्रवृति कायमै छ । १६ वर्षको कलिलै उमेरमा किशोरीहरुले बच्चा जन्माउनु परिरहेको छ । छोराकै लागि १६ पटकसम्म गर्भवती भएकी महिला पनि भेटेको छु । जाजरकोटमा ३ महिना अगाडि शिविरमा जाँदाको कुरा हो अन्दाजी ४० वर्षकी महिला हुनुहुन्थ्यो । उहाँले ४० वर्षको उमेरमा १६ पटक गर्भवती भएकोे सुनाउनुभएको थियो । छोराका लागि पटक-पटक गर्भवती हुनपरेको दुखेसो उहाँको थियो । कम अन्तरालामा धेरै बच्चा जन्माएकै कारण उहाँको पाठेघर खसेको थियो ।
अस्पतालमा उपचारका लागि महिलाहरु कस्तो अवस्थामा आइपुग्छन् ?
पाठेघर खस्ने समस्या जुम्लामा अलि कम छ । अन्य जिल्लाको तुलनामा भौगोलिक दृष्टिकोणले जुम्ला सुविधासम्पन्न पनि छ । र यहाँ पाठेघर खसेका धेरै महिलाको शल्यक्रिया पनि भइसकेको छ ।
तर अन्य जिल्लामा भने महिलाहरुको दैनिकी अत्यन्तै कष्टप्रद छ र उनीहरु सहज स्वास्थ्य सेवाको पहुँचमा आउन सकेका पनि छैनन् ।
अर्काे कुरा भनेको अहिले पनि महिलाहरु रोगबारे आफ्नै परिवारलाई भन्न लाज मान्छन् । कतिपय महिलाहरु उपचार गर्दा खर्च होला भन्ने डरले रोग लुकाएर बस्नुभएको पनि मैले भेटेको छु । तर गाउँ-गाउँमा जब स्वास्थ्य शिविर जान्छ र त्यहाँ उपचार निशुल्क भनिन्छ त्यतिबेला उपचारमा आउने महिलाहरुको भीड लाग्छ ।
उहाँहरुलाई यतिञ्जेल उपचार गर्न किन नआउनुभएको भनी सोध्दा पैसा नभएर, भन्न लाज लागेर, बुढेशकालमा अपरेशन गरेर पनि के हुन्छ र ? भन्ने खालका जवाफ दिनुहुन्छ ।
उहाँहरु आफ्नो अवस्था जटिल भइसक्दासमेत उपचारमा आउनुहुन्न र परिवारले पनि यसबारे ख्याल राखेको पाइन्न । तर उहाँहरु यस्तो अवस्थामा उपचारमा आउनुहुन्छ की, पाठेघर खसेर हिँडडुल गर्न अप्ठेरो भइसकेको हुन्छ । आङ खसेर रगताम्मे भइसक्दा पनि उहाँहरु अस्पताल पुग्नुहुन्न ।
पाठेघर खस्दा कस्ता-कस्ता समस्या देखिन्छन् ?
सुरु–सुरुमा योनीमा केही निस्केर बसेको जस्तो महसुस हुन्छ । बिस्तारै पिसाब फेर्न गाह्रो हुने, खोकी लाग्दा, हिँड्दा, पेटमा बल पर्दा पिसाब चुहिने तथा ढाड दुख्नेजस्ता लक्षण देखिन्छन् ।
त्यस्तै, योनीबाट सेतो पानी बग्ने, बसेर काम गर्न असहज हुनेजस्ता लक्षण पाठेघर खस्नुअघिका लक्षण हुन् । यी लक्षण देखिनेबित्तिकै तुरुन्तै स्वास्थ्य संस्था पुगिहाल्नुपर्छ । बैलेमा स्वास्थ्य संस्था पुग्न सके त्यही अनुसारको उपचार सुरु गर्न सकिन्छ ।
यसको उपचार के हो ?
पाठेघर खस्नुका पनि विभिन्न चरणहरु हुन्छन् । बिरामीको अवस्था हेरेर विभिन्न तरिकाबाट गर्न सकिन्छ । जसमा व्यायाम, रिङ पेसरी र शल्यक्रिया मुख्य हुन् । यदि पाठेघर अलिकति मात्र तल खसेको छ, अर्थात् चिकित्सकीय भाषामा पहिलो चरणमै छ भने सामान्य व्यायाम गराएर उपचार गराउन सकिन्छ ।
गुप्तांगमा रिङ पेसरी राखेर झरेको पाठेघरलाई भित्रै अड्काएर राख्ने विधिलाई रिङ पेसरी भनिन्छ । यो प्रयोग गरेको प्रत्येक तीन महिनामा फेर्नुपर्ने हुन्छ ।
महिलाको पाठेघर बाहिरै निस्केको भए शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । शल्यक्रियाबाट कसैको पाठेघर पुरानै अवस्थामा फर्काउन सकिन्छ भने कतिपयमा अवस्था हेरेर पाठेघर निकालेरसमेत उपचार गर्नुपर्ने हुन्छ । अन्तिम स्टेजमा पाठेघर निकाल्ने हो । तर दुर्भाय भन्नुपर्छ, यहाँका अधिकांश महिलाहरु अन्तिम अवस्थामा नै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुहुन्छ ।
तपाईँको अभिमत