यस वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पुरस्कार सुनारलाई

यस वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई प्रदान गरिएको छ। २० हजार राशीको यो पुरस्कार राधा क्यान्सर सचेतना फाउण्डेसनले हरेक वर्ष एक जनालाई दिँदै आएको छ।
पुरस्कारका लागि परेका आवेदन मध्येबाट छनोट गरी नागरिक दैनिकमा कार्यरत सुनारलाई पुरस्कार प्रदान गरिएको फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिनुभयो।
बस्यालका अनुसार आज नवलपुरको कावासोती–२ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा आयोजना गरिएको समारोहमा पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य बिन्दु पौडेल रहनुभएको थियो।
पौडेलले क्यान्सर न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले क्यान्सर सचेतना तथा हिंसा न्यूनीकरणमा संस्थाले गरेको कामको प्रसंशा गर्नुभयो।
पुरस्कार राशी बढाउन र संस्थालाई बलियो बनाउन सहयोग गर्ने प्रतिवद्धता पनि पौडेलले जनाउनुभयो।
२०४८ सालमा जन्मिनु भएकी पत्रकार राधा बस्यालले एक दशक भन्दा बढी समय नवलपुरमा रहेर पत्रकारिता गर्नुभयो। उहाँले वैवाहिक जीवनपछि घरेलु हिंसा समेत भोग्नुपर्यो। यसैबीच राधालाई स्तन क्यान्सर देखियो।
क्यान्सरसँग लड्दै राधाले समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान चलाउनुभएको थियो। स्तन क्यान्सरकै कारण २०७७ कार्तिक १४ गते राधाको निधन भएको थियो।
राधाको निधनपश्चात फाउण्डेसनलाई उहाँका भाइ प्रकाश बस्यालले निरन्तरता दिइरहनुभएको छ। फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिएका छन्।
फाउण्डेसनको अक्षयकोष मार्फत हरेक वर्ष राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ।
तपाईँको अभिमत