मंकीपक्स संक्रमितको अनुहारमा ‘भयंकर खटिरा’ !
मंकीपक्स संक्रमणपछि अनुहारमा ‘भयंकर खटिरा’ हुने देखिएको छ । अमेरिकाका एक मंकीपक्स संक्रमित पुरुषले सामाजिक सञ्जालमा राखेको तस्बिरमा यस्तो देखिएको हो ।
उनले मंकीपक्सलाई सामान्य नठान्न भन्दै आफ्नो तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा राखेका हुन् । उनले राखेको तस्बिरमा उनका औँला सुन्निएर राता खटिरा आएको र अनुहारमा गहिरो खटिरा अनि चिउँडोमासमेत खटिरा देखिएको छ ।
लेक जाभान नाम गरेका ती व्यक्तिले तस्बिर राख्दै खेलाची नठान्न आग्रह गरेका हुन् । ‘यदि कसैले मंकीपक्सलाई ख्यालठट्टा ठानेको छ भने त्यस्तो होइन’, उनले लेखका छन्, ‘तस्बिरहरू ग्राफिक गरेर बनाए जस्तो देखिए पनि यो मंकीपक्सका कारण भएको सत्य हो ।’
जाभानले सुरुवाती लक्षणबारे पनि आफ्नो अनुभव बताएका छन् । उनले सुरुवातमा अत्यधिक चिसो महसुस गरेको, असाध्यै टाउको दुखेको तथा जिउसमेत दुखेको बताएका छन् । त्यस्तै चिसो हुन छाडेपछि अत्यधिक पसिना आएको अनि पछि मुखभित्र र बाहिर खटिरा आउन थालेको बताएका छन् ।
पछिल्लो समय महामारीकै रूप लिएको मंकीपक्स विश्वभर फैलिरहेको छ । हालसम्म करिब २० हजार मानिसमा संक्रमण भइसकेको छ ।
(टाइम्स अफ इन्डियाबाट)
तपाईँको अभिमत