उपचारकै लागि मिर्गौला रोगीले माग्दै हिँड्नु पर्ने अवस्था छैन (भिडियो)
सन्दर्भ : विश्व मिर्गौला दिवस
नेपालमा मिर्गाैला रोगको अवस्था भयवाह नै रहेको बरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा.कल्पना श्रेष्ठ बताउनुहुन्छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत श्रेष्ठले हेल्थपाटीसँगको कुराकानीमा बताएअनुसार नेपालको जनसंख्या मध्ये १० प्रतिशतमा कुनै–न कुनै मिर्गाैला रोगको समस्या छ। यसमध्ये १० प्रतिशतको मिर्गाैला फेल नै हुने अवस्था छ । यो भनेको प्रत्येक वर्ष देशमा ३ हजार मिर्गाैला रोगी थपिनु रहेको डा.श्रेष्ठ बताउनुहुन्छ।
डा.श्रेष्ठका अनुसार विश्वमा मिर्गौला फेल हुनुको मुख्य कारण उच्चरक्त चाप, मधुमेह मानिन्छ। अरु विभिन्न रोग छ। नेपालको सन्दर्भमा भने पिसाबमा प्रोटिन चुहिने समस्या(ग्लोमेरुलो नेफ्राइटिस) मिर्गाैला फेल हुनुको मुख्य कारण हो।
ग्लोमेरुलो नेफ्राइटिसको समस्याले गर्दा एकदमै कम उमेरको व्यक्तिको पनि मिर्गाैला फेल हुने गरेको छ। बच्चा देखि जुनसुकै उमेरका व्यक्तिलाई मिर्गाैला फेल हुने समस्या छ।
नेपालमा पनि मिर्गाैला फेल हुनुमा मधुमेह र उच्च रक्तचापको समस्या अगाडि आइरहेको डा.श्रेष्ठले जानकारी दिनुभयो। यसको कारण शहरीकरण उन्मुख जीवनशैली र खानपान रहेको उहाँले बताउनुभयो। मिर्गाैला रोग चुनौतीपूर्ण बन्दै गएको डा.श्रेष्ठले सुनाउनुभयो।
‘वर्षमा ३ हजार मिर्गाैला रोगी थपिनु देशको लागि चुनौती हो र हामी चिकित्सकको लागि पनि चुनौती’ श्रेष्ठले भन्नुभयो।
डा.श्रेष्ठका अनुसार मिर्गाैला फेल भएपछि प्रत्यारोपण र डायलासिस मात्रै विकल्प हो। डायलासिस दुई प्रकारका हुन्छन्। एउटा–पेरिटोनियल डायलासिस, जुन घरैमा बसेर पेटमा पानी राखेर गरिन्छ। अर्काे–होमो डायलासिस जुन, मेसिनबाट रगत शुद्ध पारिन्छ।
मिर्गाैला फेल भएपछि यी दुवै भन्दा राम्रो, जीवन यापन गर्न सजिलो प्रत्यारोपण नै रहेको उहाँको भनाइ छ।
प्रत्यारोपणको लागि एउटा नातेदारले मिर्गाैला दान दिन मिल्छ। अको दुई मिर्गौला बिरामीका नातेदारबाट साटासाट पनि गर्न मिल्छ।
यो भन्दा पनि मुख्य कुरा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त गर्नु रहेको डा.श्रेष्ठ सुनाउनुहुन्छ। नेपालमा यो सुरु पनि भइसकेको छ।
तर यसको गति एकदमै सुस्त छ। जन चेतनाको अभावले यसो भएकाले सबैलाई यसको महत्व बुझाउन आवश्यक रहेको डा.श्रेष्ठ बताउनुहुन्छ। हाम्रो खेर जाने अंगले अरुको ज्यान जोगिन्छ, डा.श्रेष्ठ भन्नुहुन्छ, ‘मिर्गाैला, कलेजो नेपालमै प्रत्यारोपण गर्न सक्ने अवस्था छ। मस्तिष्क मृत्युपछिको अंगदानका बारे सबैलाई बुझाउन जरुरी छ।’
मिर्गाैला फेल भएका बिरामीले उपचारकै लागि बाटो–बाटोमा माग्दै हिँड्नु पर्ने अवस्था नभएको डा.श्रेष्ठ बताउनुहुन्छ। सरकारले डायलासिसदेखि मिर्गाैला रोगको उपचार, प्रत्यारोपणसम्म निःशुल्क गरिदिएकाले बाटोमा तथा गाउँ–टोलमा माग्दै हिँड्नु नपर्ने उहाँको भनाइ छ।
‘बाटो–बाटोमा माग्नु पर्ने अवस्थाको बारेमा म असहत छु’ डा.श्रेष्ठ भन्नुहुन्छ, ‘अहिले मिर्गाैला रोगमा सम्पूर्ण उपचार नै निःशुल्क छ।
डायलासिस, प्रत्यारोपण सबै निःशुल्क छ भने उपचारका लागि मागिरहनु पर्ने आवश्यक छ जस्तो लाग्दैन।’
आफ्नो दिनचर्या चलाउनका माग्दै हिँडेको हुनसक्ने डा.श्रेष्ठ बताउनुहुन्छ। प्रत्यारोपणका लागि सरकारले दिएकोले केही नपुग्ने अवस्था भएपनि नेपाल जस्तो गरिब मुलुकले निशुल्क उपचार गर्नु भनेको ठूलो कुरा रहेको उहाँको भनाइ छ।
‘कतिसम्म सरकारले धान्छ थाहा छैन तर हाम्रो जस्तो गरिब मुलुकको सरकारले अहिले निःशुल्क सेवा उपलब्ध गराइरहेकै छ यो ठूलो कुरा हो’ डा.श्रेष्ठ भन्न्ुहुन्छ।
मिर्गाैला रोगको उपचारमा १० वर्षको अवधिमा नेपालले ठूलो फड्को मारेको डा.श्रेष्ठको दावी छ।
‘त्यो बेलाको अवस्थामा धेरै गाह्रो थियो’ डा.श्रेष्ठ उबेलाको अनुभव सुनाउनुहुन्छ, ‘प्रत्यारोपाण त परको कुरा डायलासिस गर्न पनि धेरै थोरै केन्द्र थिए। सामान्य डाउलासिस गर्न छिमेकी मुलुक पठाउनु पर्ने अवस्था थियो। पहुँच भएको बिरामी मात्रै बाहिर जान सक्थ्यो। मिर्गाैला फेल भएका ९० प्रतिशत बिरामी मर्थे। अहिले १०–१५ वर्षको समयमा मिर्गाैला रोगमा यति धेरै उपलब्धि भएको छकि अब ९० प्रतिशत बिरामी बाच्ने अवस्था छ। दुगर्म ठाउँमा पनि डायलासिस सेवा उपलब्ध छ। निशुल्क पनि छ। उपचारको पहुँच धेरैमा छ। त्यो बेलाको तुलना गर्दा अहिले धेरै फड्को मारेको अवस्था छ।’
मिर्गाैला बिगार्न सक्ने स्वास्थ्य समस्या भएको जानकारी हुँदा–हुँदै पनि समयमा मिर्गाैला जाँच नगराउँदा थाहै नपाइ फेल हुने गरको डा.श्रेष्ठ सुनाउनुहुन्छ। ‘कम उमेरमै उच्च रक्त चाप भएको बिरामी रक्त अल्पता भएका बिरामीले मिर्गाैला बिग्रियो कि भनेर बेला–बेला हेर्नु पर्ने हुन्छ’ डा.श्रेष्ठ भन्नुहुन्छ, ‘तर कम ज्ञानका कारण धेै ठाउँम उच्चरक्त चापको औषधि खाइरहने, रक्त अल्पताको औषधि खाइरहने मिर्गाैला जाँच नगर्ने गर्दा थाहै नपाइ मिर्गाैला बिग्रिसकेको हुन्छ।’
डा.श्रेष्ठका अनुसार धेरै जस्तो अवस्थामा यो लक्षणबिहीन भएकाले यसलाई साइलेन्ट किलर पनि भनिन्छ। मिर्गाैलाको करिब १५ प्रतिशत कार्य क्षमता हुँदैमा पत्ता लाग्यो भने औषधि उपचारबाट गर्न सकिन्छ। पूरै निको बनाउन त होइन तर डायलासिस गर्नुपर्ने अवस्थामा पुग्ने समयलाई पर धकेल्न सकिन्छ। एक वर्षमै डायलासिस गर्नुपर्ने हुन्थ्यो भने त्यसलाई ४–५ वर्षसम्म धकेल्न सकिन्छ। मिर्गाैलाको कार्यक्षमता १५ प्रतिशत भन्दा कम भइसकेको अवस्थामा भनेको डायलासिस र प्रत्यारोपण मात्रै विकल्प भएको डा.श्रेष्ठले सुनाउनुभयो।
हेल्थपाटी
तपाईँको अभिमत