अनलाइन कक्षामा सहभागी बालबालिकाको आँखा कसरी जोगाउने ?
डिजिटल उपकरणको बढ्दो प्रयोगले आँखामा पारेकाे असर
अहिले विश्व दृष्टि सप्ताह २०२० चलिरहेको छ । सो अवसरमा म डिजिटल उपकरणको बढ्दो प्रयोगले आँखामा पारेका असरबारे केही चर्चा गर्दैछु । कोरोना महामारीको विषम् परिस्थितिमा अध्ययन अध्यापन सुचारु गराउन अपनाइएको अनलाइन कक्षाले आँखा स्वास्थ्यमा नकारात्मक असर बढ्दै गएको देखिन्छ ।
अनलाइन कक्षालाई शिक्षा मन्त्रालयले पनि मान्यता दिएकाले विद्यालयहरुले अनलाइन कक्षालाई सशक्त रुपमा अघि बढाइरहेका छन् । दिनमा ४ देखि ६ घण्टाको विद्यालय अनलाइन कक्षा र त्यसपछिको २ देखि ३ घण्टाको अनलाइन गृहकार्य अनि त्यसबाहेक १ देखि २ घण्टाको मोबाइल, ट्याब्लेट हेर्दाको समय गरि दिनमा बालबालिकाहरुले कम्तिमा ८ देखि १० घण्टा डिजिटल स्क्रिनमा हेरेर बिताउने गरेका छन् ।
यसरी लामो समयसम्म डिजिटल स्क्रिनमा व्यस्त हुँदा आँखामा तत्कालिन तथा दीर्घकालिन असर पर्दछ । आँखामा पर्ने तत्कालिन असरमध्ये आँखा पोल्ने, आँखा बिझाउने, आँशु बग्ने तथा हेर्न कठिनाई पर्दछ । त्यस्तै एकनासले धेरै लामो समयमा आँखासमेत नझिम्काई स्क्रिनमा हेरिरहँदा आँखा सुख्खा हुने, भारी हुने समस्या देखिन्छन् । यसरी डिजिटल स्क्रिनबाट आउने विकिरणहरुले निन्द्रामा समेत गडबडी हुने तथ्य पनि विभिन्न अध्ययनहरुले देखाइसकेका छन् ।
डिजिटलबाट आउने विकिरणबाट आँखा जोगाउन बजारमा विभिन्न किसिमका सुरक्षात्मक चश्माहरु पनि आएका छन्, तर ती चश्माहरु विद्यालय बालबालिकाहरुका लागि उपयोगिता तथा प्रभावकारिताबारे भने अझै अनुत्तरीत रहेको छ ।
यस्ता विद्युतीय उपकरणमा धेरै नजिक गएर २० सेन्टिमिटर भन्दा कम लामो समयसम्म सामान्यत ३ देखि ६ घण्टा पढ्दा विद्यालय उमेरका (लगभग ३ देखि १२ वर्षउमेर)सम्मका बालबालिकामा दीर्घकालिन रुपमा अदूरदृष्टिदोषको समस्या बढ्दै गएको देखिन्छ ।
विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले सन् २०५० सम्मका विश्वका आधा जनसंख्यामा अदूरदृष्टिदोषको समस्या देखिने प्रक्षेपण गरेको भए पनि अत्याधिक डिजिटल उपकरणको प्रयोगले दृष्टिदोषको समस्या प्रक्षेपण गरेभन्दा अझै अगाडि देखिने अनुमान गर्न सकिन्छ ।
त्यसैले समस्या देखियो भनेर अनलाइन कक्षा नलिने होइन अनलाइन कक्षालाई व्यवस्थित गर्न जरुरी छ । डब्ल्यूएचओले डिजिटल स्क्रिन प्रयोगका सम्वन्धमा मापदण्ड बनाएको छ । जसअनुसार ५ वर्षमुनिका बालबालिकालाई १ घण्टाभन्दा कम, ५ वर्ष माथिका बालबालिकालाई केही समयको विश्राम लिई दिनमा २ देखि ३ घण्टामात्रै डिजिटल स्क्रिनको प्रयोग गराउन मिल्छ ।
शिक्षक, अभिभावक तथा बालबालिकाका लागि सुझाव
–कक्षा सत्रको समयवधि १ कक्षाभन्दा कम तहका बालबालिकाका लागि ३० मिनेटको मात्रै अनलाइन कक्षा सञ्चालन गर्ने,
–कक्षा १ देखि ८ कक्षा सम्मका बालबालिकाका लागि ४५/४५ मिनेटको दुइ सत्र गरि दिनमा डेढ घण्टाको मात्रै कक्षा सञ्चालन गर्ने
–९ देखि १२ कक्षा सम्मका बालबालिकाका लागि ४५/४५ मिनेटको गरि ४ सत्रमा अनलाइन पढाउन सकिन्छ । यी तहका बालबालिकाहरुका लागि ३ घण्टाको अनलाइन कक्षा चलाउने,
४५ मिनेटको अनलाइन सत्रमा पालना गर्नुपर्ने शर्तहरु
४५ मिनेटको कक्षालाई २०/२० मिनेटको गरि दुई सत्रमा सञ्चालन गर्ने । यस बीचमा ५ मिनेट विश्राम दिने र त्यो विश्रामको समयमा पानी पिउने, २ मिनेट जति उभिने, ३ मिनेट जति हिँडड्डुल गर्ने र ५ देखि १० मिनेट आँखा झिम्क्याउने गर्नुपर्दछ ।
अनलाइन कक्षाका लागि आवश्यक वातावरण
–प्रकाश भएको कोठामा बस्ने तर धेरै चम्किलो प्रकाशमा नबस्ने ।
–हावाको आवतजावत हुने राम्रो भेन्टिलेसन भएको कोठामा बस्ने ।
अनलाइन कक्षाका लागि हुनुपर्ने आसन
–डिजिटल उपकरण १८ देखि २४ इन्च टाढा राख्ने, कम्युटरको स्क्रिनलाई आँखाको सतहदेखि १५ देखि २० डिग्रिको तल पारेर राख्ने।
–ढाडलाई कुप्रो नपारी सिधा हुनेगरि बस्नुपर्छ।
–बेडमा सुतेर वा ओछ्यानमा बसेर मोबाइल नचलाउने तथा कम्युटरको स्क्रिन नहेर्ने।
–आँखामा सिधा बाह्य किरणहरु नपर्ने गरि बस्ने।
–प्रत्येक २० मिनेटमा आशनको अवस्थाको ख्याल गर्ने र सुधार्दै जाने।
आँखाको समस्या हुन नदिन निम्न कुरामा ध्यान दिनुपर्छ
–दिनमा २ पटक सफा र चिसो पानीले आँखा सफा गर्ने
–दिनमा कम्तिमा २ देखि ३ लिटर पानी पिउने
–बिहानपख तातोपानीमा सफा कपडा भिजाएर राम्ररी सो कपडालाई निचोरी आँखा सेक्ने ।
–डिजिटल उपकरणको प्रयोग गर्दा प्रत्येक २० मिनेटमा २० सेकेण्ड विश्राम लिएर २० फिट टाढाका दृश्यहरु हेर्ने गर्नुपर्दछ ।
–यदि हामी लगातार २ घण्टादेखि डिजिटल प्रयोग गरिरहेका हुन्छौँ भने कम्तिमा १५ मिनेटको विश्राम लिनुपर्छ ।
–आँखा झिम्क्याउने पर्छ ।
–सुत्नुभन्दा कम्तिमा १ घण्टा अगाडि नै डिजिटल उपकरण प्रयोग गर्नुपर्दछ ।
–एसी र पंखाको हावा सिधा आँखामा नपार्ने,
दृष्टि धमिलो भए, टाउको दुखेमा तुरुन्तै आँखाको परीक्षण गराउनुपर्दछ ।
(डा.शाह दृष्टि विशेषज्ञ संघका प्रवक्तासमेत हुनुहुन्छ । )
तपाईँको अभिमत