प्रहरी तालिम केन्द्रमा कुकुर तिहारको रौनक(फोटो फिचर)
आजबाट यस वर्षको तिहार अर्यात यमपञ्चक सुरु भएको छ । यस वर्ष कागतिहार र कुकुर तिहार एकैदिन परेको छ ।
आज हिन्दुधर्मावलम्बीहरुले काग र कुकुरको पूजा गरी यो पर्व मनाइरहेका छन् । यमपञ्चकको दोस्रो दिन कात्तिक कृष्ण चर्तुदशीमा भैरवको बहानको रुपमा कुकुरको पूजा गर्ने प्रचलन छ ।
कुकुर तिहारको उपलक्ष्यमा केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रले कुकुरको पूजा गरी मनाएको छ । अपराध अनुसन्धानका लागि प्रयोग गरिएको तालिमप्राप्त कुकुरहरु प्रहरी कुकुर तालिम केन्द्रमा रहने गरेका छन् ।
यस अवसरमा कुकुरको पूजाका साथै कुकुरका विभिन्न खेल तथा विभिन्न प्रतियोगिताहरु आयोजना पनि गर्ने गरिन्छ। आजकै वर्षभरिको अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गर्ने कुकुर तथा त्यसका गाइडलाई पनि पुरस्कृत गर्ने गरिन्छ । यस अन्तर्गतका अन्य कर्मचारीलाई समेत पुरस्कृत गर्ने गरिएको छ ।
पौराणिक कथन अनुसार कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास छ ।
यस्तै, महाभारत कथाका पात्र सत्यवादी युधिष्ठिर स्वर्ग जाँदा कुकुरलाई समेत साथ लिएर गएका थिए । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
तपाईँको अभिमत