ग्रिनसिटी हस्पिटलमा ३० किलोकाे ट्युमरको शल्यक्रिया, उपचार निशुल्क

बसुुन्धरास्थित ग्रीनसिटी हस्पिटलमा एक महिलाको पेटमा रहेको ३० किलोभन्दा बढीको ट्युमरको शल्यक्रिया गरिएको छ । ४९ बर्षकी रिता शेर्पाको पेटमा रहेको ३० किलो बढी ट्युमरको शल्यक्रिया गरिएको हो । आर्थिक अवस्था कमजोर रहेपछि बेलैमा उपचार गर्न नसक्दा रिताको ट्युमर बढ्दै गएको थियो ।
पेटमा ३० किलोको ट्युमरको भारीले हिड्न नमिल्ने, खाना खान असहज हुनेलगायत रिताको अन्य दैनिकीमा पनि निकै समस्या देखिएको थियो ।
केही समययता पेट अस्वाभाविक रूपमा बढेपछि उहाँलाई हिँडडुल गर्न गार्हो भएको थियो । आर्थिक अवस्था कमजोर रहेकाले उपचार गर्न नसकेको रिताको अवस्थाबारे सामाजिक सञ्जालमा चर्चा भएपछि ग्रिनसिटी अस्पतालले निशुल्क उपचार गरिदिएको थियो । डाक्टर रुपा झाको टोलीले माघ ६ गते रिताको पेटमा बढ्दै गएको ट्युमरको शल्यक्रिया गरेको थियो ।
डा. झाका अनुसार यस्तो किसिमको शल्यक्रिया पश्चात संक्रमण भई शरीरका अन्य अंगहरुले काम गर्न नसक्ने तथा शरीरमा प्रोटिनको मात्रा कम हुने जोखिम उच्च रहन्थ्यो । तर रिता शल्यक्रिया गरेको दोस्रो दिनदेखिनै सामान्य अवस्थामा फर्कनुभएको डा. झाले बताउनुभयो ।
रिताको उपचारमा ५ लाख बढी खर्च भएको हस्पिटलले जनाएको छ । शल्यक्रिया पश्चात आफ्नो दैनिकी सामान्यकरणतर्फ उन्मूख भएको र पहिलाको जस्तै जिवनयापन गर्न सकेको भन्दै रिताले अस्पतालप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
फाइनान्स डाइरेक्टर रेणुका गुरुङले अस्पतालले सामाजिक काम गर्दै आएकाे र आर्थिक अवस्था कमजाेर रहेका नागरिककाे निशुल्क तथा सहुलियतमा उपचार गरिरहेकाे जानकारी दिनुभयाे । अस्पतालले गर्दै आएकाे निशुल्क उपचारबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा उहाँले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई यो वर्ष झण्डै ४० लाख रुपैंया बराबरको उपचार निशुल्क गरिएको बताउनुभयाे ।
उहाँले यस वर्ष सहुलियत उपचारमा अस्पतालले २ करोड रुपैंया खर्च ब्यहाेरेकाे बताउनुभयो ।
यसैगरी भारतमा ८ पटकसम्म शल्यक्रिया गर्दापनि रोग निको नभएकाे तथा उपचारमै भएकाे जायजेथा सकेपछि चिन्तित रहनुभएका डडेल्धुराका २९ वर्षका किशन बहादुर तमोटाको पनि निशुल्क उपचार गरिएको छ । उहाँको ५ महिना अगाडि शल्यक्रिया गरिएको थियो । उहाँको खाना नलीको समस्या देखिएको थियो ।
अस्पतालका अध्यक्ष लोकबहादुर टण्डलने सामाजिक उत्तरदायीत्व वहन गर्ने उद्धेश्यले नै ग्रिनसिटी अस्पतालको स्थापना भएकाले आर्थिक अवस्था कमजोर भएका नागरिकको उपचार निशुल्क गर्न अस्पताल प्रतिवद्ध रहेको वचन दिनुभयो ।
उहाँले महिना २ जना विपन्न नागरिकको शल्यक्रिया निशुल्क गर्ने योजनामा अस्पताल रहेको बताउनुभयो । अन्य अस्पतालहरुले पनि विपन्न नागरिकको औषधि उपचार निशुल्क गर्नपर्नेमा जोड दिनुभयो । २०६९ सालामा ग्रिनसिटी अस्पतालको स्थापना भएको थियो ।
तपाईँको अभिमत