जाजरकोट भूकम्प : विपद्को समयमा ख्याल गर्नुपर्ने मनोसामाजिक सवाल (भिडियो)
जाजरकोट केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते राति गएको भूकम्पले त्यो क्षेत्रमा धेरै धनजनको क्षति भएको छ । धेरै जना घाइते भएका छन् । भूकम्प पीडितलाई एकातिर शोक र पीडा छ भने । अर्कोतर्फ उनीहरूका दैनिकी लथालिंग भएका छन् ।
यस्तो समयमा शारीरिक स्वास्थ्यको ख्याल गर्नुका साथै मनलाई पनि ख्याल गर्नुपर्ने चिकित्सा मनोविद डा.सुरज शाक्य बताउनुहुन्छ।
यो असामान्य परिस्थिति भएकाले यो बेला भूकम्पपीडित तथा प्रभावितहरूले परिस्थितिलाई स्वीकार गर्दै मनलाई स्वस्थ बनाउनमा ध्यान दिनुपर्ने डा.शाक्यको भनाइ छ ।
पीडामा रहेका व्यक्तिलाई सहयोग गर्न जानेले उनीहरूलाई सम्झाउन हतार गर्न नहुने तर्क डा.शाक्यको छ ।
शोक तथा विक्षिप्त अवस्थामा रहेका व्यक्तिलाई सम्झाउँदा उनीहरूलाई झन् पीडा हुनसक्ने कुरामा विचार गर्नुपर्ने डा.शाक्य बताउनुहुन्छ ।
‘हामीले त्यहाँ गएर सकारात्मक सोच्नुस्, यो खानुस्, यो नखानुस्, धैर्य गर्नुस्, तपाईको यस्तो भयो, बाच्नु भो भाग्यमानी हुनुहुन्छ जस्ता कुरा गरेर सम्झाउन हतार गर्नुहुँदैन’ डा.शाक्य भन्नुहुन्छ, ‘यस्तो हुँदा पीडितलाई उल्टै पीडा पनि हुनसक्छ ।’
यस्ता बेला एकान्तमा राखेर उनीहरुको पीडा सुन्ने र रुन खोज्छ भने रुन दिनुपर्ने उहाँको सुझाव छ ।
भूकम्पपीडितले मानसिक समस्याबाट बाहिर निस्कन सम्भव भएसम्म यसअघिका दैनिकीलाई निरन्तरता दिन प्रयास गर्नुपर्ने पनि डा.शाक्यले बताउनुभयो ।
साथीभाइ, परिवारसँग कुरा साटासाट गर्ने, काममा नभए अरुलाई सहयोग गरेर पनि व्यस्त रहँदा पीडा भुल्न मद्दत मिल्ने उहाँको भनाइ छ
भूकम्पपछि परिवार, धन सम्पत्ति गुम्दा विक्षिप्त अवस्थामा रहेका व्यक्तिको मानसिक अवस्था सामान्य हुन केहीदिन, केही हप्ता र केही महिना समेत लाग्न सक्ने डा.शाक्य बताउनुहुन्छ ,
केहीलाई महिनौँसम्म पनि पीडाबाट फर्किन गाह्रो हुनसक्छ । डर, त्रास तथा पीडाबाट लामो समयसम्म बाहिर निस्कन गाह्रो भएमा भने मनोपरामर्शविज्ञ स्वास्थ्यकर्मीको सहयोग लिन उहाँको सुझाव छ ।
यो बेला शोकमा भएका व्यक्ति र आत्तिएका व्यक्तिलाई विश्वासमा लिएर उनीहरुको कुरा सुन्नु अत्यन्तै जरुरी हुने डा.शाक्यको भनाइ छ ।
‘केही पर्यो भने हामी छौँ भन्ने विश्वास दिलाउन सक्नु सबै भन्दा हुन्छ’ शाक्य भन्नुहुन्छ।
डा.शाक्यका अनुसार परिवार गुमेको स्वीकार गर्न गाह्रो हुने हुन्छ । कसैलाई भगवानप्रति, साथीभाइ, परिवारप्रति, सरकारप्रति वा म चाहिँ किन बाँचे भनेर भनेर आफैँप्रति आक्रोशित भइरहेका हुन्छन् ।
मेचमा बस्दा पनि हल्लिएको महसुस हुने, जस्ता समस्या हुन्छ । मलाई कुनै ठाउँमा जान डर लाग्ने पनि हुन्छ । यस्ता डर बिस्तारै हट्दै जान्छन् । मनमा असाध्यै तनाव भए जे गर्दा अराम हुन्छ ती क्रियाकपाप गर्न डा.शाक्यको सुझाव छ ।
भूकम्पको मारमा परेका बालबालिकालाई खेल्ने ठाउँहरु उपलब्ध गराएर, त्यसमा व्यस्त बनाएर खुसी बनाउन तथा मानसिक पीडालाई कम गराउन सकिन्छ । यो समय जेष्ठ नागरिक तथा महिलाका लागि समेत विशेष ख्याल गर्नुपर्ने डा.शाक्य बताउनुहुन्छ ।
भूकम्पपीडितको मात्रै नभएर उद्धार र व्यवस्थापनमा खट्नेले पनि आफ्नो शारीरिक तथा मानसिक हेरचाह गर्न आवश्यक रहेको छ उहाँ सुनाउनुहुन्छ ।
भूकम्पपछि उपन्न हुने मानसिक समस्या र त्यो कम गर्न अपनाउन उपायबारे चिकित्सा मनोविद डा.सुरज शाक्यसँग हेल्थपाटीका लागि जगन्नाथ ढकालले कुराकानी गर्नुभएको छ ।
तपाईँको अभिमत