सकियो प्रतिक्षाको घडी, नेपालमा आयो कोरोना खोप !

काठमाडौं । नेपालमा काेराेना विरुद्धकाे खाेपकाे लामो प्रतीक्षाको घडि समाप्त भएको छ । नेपालमा काेराेना भाइरस भेटिएकाे १ वर्ष पुरा हुँदा काेराेना विरुद्धकाे खाेप भित्रिएकाे छ । यस अवधिमा नेपालमा २ लाख ६८ हजार ३१० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ, जसमध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् भने १ हजार ९७५ जनाकाे मृत्यु भएको छ ।
भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप(कोभिशिल्ड) मध्यान्ह १२ बजे नेपाल आइपुगेको छ । भारतले १० लाख मात्रा कोरोनाको खोप नेपाललाई उपलव्ध गराएको छ । खोप एयर इन्डिया मार्फत मुम्बई नयाँ दिल्ली हुँदै काठमाडौं ल्याइएको हो ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नुहुनेछ । बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरि भारतले खोप सहयोग गरेकोबारे औपचारिक जानकारी गराएको थियो ।
ती खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा लगिनेछ । टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि खोप भित्रिएको एक साताभित्र खोप लगाउने तयारी रहेको बताएको थियो । यद्यपी कुन दिनबाट खोप लगाउने भन्ने मिति तय भइसकेको छैन ।
देशभरका जिल्ला अस्पतालबाट एकैसाथ खोप अभियान सुरु गर्ने योजना सरकारको छ । अहिले ल्याइएको उक्त खोप सुरुमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइएको सफाई कर्मचारीलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि जोखिमका आधारमा चरणवद्ध रुपमा खोप लगाइनेछ ।
दैनिक अत्यावश्यक सेवाका कार्यालयमा खटिने जसले सामाजिक दूरी कायम राख्न सक्दैनन् उनीहरु र ५५ वर्षभन्दा माथि उमेरका व्यक्ति र ४० देखि ५५ वर्षउमेरका दीर्घरोगीलाई पहिलो चरणमा खोप दिने तयारी सरकारकाे छ ।
तपाईँको अभिमत