सांसद लामाले भन्नुभयो-अक्सिमिटर नभएर मुटुको ‘सल्यानकिरा’ रोकियो(भिडियो)

अहिले स्वास्थ्य क्षेत्रको अवस्था समाजवादी अर्थतन्त्र निर्माण गर्ने संविधानको भनाइ विपरित रहेको प्रतिनिधिसभा सदस्य नवीना लामाले बताउनुभयो।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामाले अक्सिमिटरको अभावमा गंगालाल लगायत देशभरका मुटु अस्पताल बन्द भएको बताउनुभयो । अक्सिमिटरको अभावमा गंगालाल अस्पतालसहित देशभरका मुटु अस्पतालमा मुटुमो शल्यक्रिया रोकिएको लामाको दावी छ ।
सांसदमा आफ्ना कुरा राख्दा लामा निकै अल्मलिनुभएको थियो । लामाले मुटुको शल्यक्रिया भन्नुपर्नेमा मुटुको ‘सल्यानकीरा’ भन्नुभएको थियो। 'अहिले गंगालल लगायत देशभरमा मुटु अस्पताल बन्द अवस्था छ र मुटुको सल्यानकिरा बन्द अवस्था छ’ लामाले भन्नुभयो, ‘किनभने अक्सिमिटरको अभावमा मुटुको सल्यानकिरा नगरेको डाक्टरहरुले भनेको छ।’
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको यो समस्या तुरुन्त समाधान गर्न लामाले माग गर्नुभएको छ।
लामो समय विद्यार्थी राजनीतिमा रहनुभएकी लामाले आफैँले लेखेको कुरा समेत पढ्न कठिन भएको, उच्चारण गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
अक्सिमिटरको अभाव होइन
लामाले भनेजस्तो अक्सिमिटर अभाव भएर मुटुको शल्यक्रिया रोकिएको भने होइन । मुटुको शल्यक्रिया गर्दा अतिआवश्यक पर्ने ‘अक्सिजेनेटर’ को अभाव भएको हो।
शल्यक्रियाका बेला मुटु र फोक्सोको काम कृत्रिम रूपमा सञ्चालन गर्नुपर्छ । रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन राख्ने काम ‘अक्सिजेनेटर’ ले गर्छ । यसको मूल्य ४० हजारदेखि ५० हजार पर्छ ।
अस्पताल व्यवस्थापनले समयमै ‘अक्सिजेनेटर’ खरिद नगर्दा समस्या उत्पन्न भएको गंगालाल अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । ‘अक्सिजेनेटर’ अभाव भएपछि शल्यक्रियाका लागि बोलाएका बिरामीलाई घर पठाइएको थियो ।
लामाले भनेको अक्सिमिटरले रगतमा अक्सिजनको मात्रा नाप्ने काम गर्छ । यो एक हजार भन्दा कम मूल्यमा पाइने उपकरण हो ।
तपाईँको अभिमत