प्रतिवन्ध खुकुलो पार्दा संक्रमणको नयाँ छालको जोखिम उच्च : विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएका प्रतिवन्धहरु खुकुलो पारिँदा विश्वभर संक्रमण बढ्दै जाने चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका आकस्मिक विभाग प्रमुख माइक रियानले प्रतिवन्ध फुकुवाले संक्रमणको नयाँ लहरकाे देखिने जोखिम बढाएको बताउनुभएको हो ।
राष्ट्रसंघको स्वास्थ्य एजेन्सीले आयोजना गरेको प्रेस ब्रिफिङमा रियानले महामारी भर्खरै सुरु भएको विश्लेष्ण गर्दै प्रतिवन्ध थप खुकुलो बनाएसँगै संक्रमणको नयाँ छाल कुना कुनासम्म पुुग्ने चेतावनी दिनुभयो ।
‘अमेरीकी देशहरुमा अझैपनि हप्तामा १० लाख नयाँ संक्रमित थपिइरहेको अवस्था छ,’ उहाँले भन्नुभयो । ‘युरोपको अवस्था उस्तै छ, त्यहाँ सातामा करीब ५ लाख नयाँ संक्रमित पुष्टि भइरहेको छ । महामारी सकिएको छैन,’ रियानले थप्नुभयो । विश्वभर तिव्र गतिमा डेल्टा भेरियन्ट फैलिरहेका बेला रियानले यस्तो धारणाा बताउनुभएको हो ।
नेपालमा पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएपछि मानिसहरुको चहलपहल र भीड बढेको छ । स्वास्थ्यमा मापदण्ड नअपनाई भीडमा आउने जाने क्रम सुरु भइसकेकाले यहाँ पनि संक्रमणको तेस्रो लहर छिट्टै आउने चेतावनी विज्ञहरुले दिएका छन् ।
दोस्रो लहर सुरु भएपछि बैशाखको तेस्रो सातादेखी नेपालमा संक्रमणदर उकालो लाग्दै जाँदा अक्सिजन र बेडको हाहाकार मच्चियो । अहिले तुलनात्मक रुपमा संक्रमितको संख्या घटेपनि संक्रमणदर २० प्रतिशतभन्दा माथि छ । संक्रमणदर ५ प्रतिशतमा आएपछिको अवस्थालाई संक्रमण घटेको भन्न सकिन्छ । तथ्यांकले संक्रमण घटेको छैन भन्ने प्रष्टै गर्छ । यो अवस्थामा निषेधाज्ञा खुकुलो भयो भन्दैमा स्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्दै भीडमा हिड्दा फेरि सिकिस्तै नहोला भन्न सकिन्न त्यसैले आफैं सचेत हुन विज्ञहरुले अनुरोध गरिरहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८७ हजार १९५ पुगेको छ । जसमध्ये ६ लाख १२ हजार ९९४ हजार जना निको भएका छन् भने ९ हजार २६३ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।
तपाईँको अभिमत