बिहान कफी पिउँदा स्वास्थ्यलाई बेफाइदा
लन्डन । कफीका थुप्रै गुणहरू छन् । यसले बोसो पगालेर वजन घटाउने, शारीरिक स्फूर्ति प्रदान गर्ने, एकाग्र हुनलाई मद्दत गर्ने साथै पेटको क्यान्सरका बिरामीलाई समेत फाइदा पुर्याउँछ ।
तर पछिल्लो समयको एक अनुसन्धानका अनुसार बिहान खाजा खानुभन्दा पहिले कफी पिउँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने देखिएको छ। द ब्रिटिस जर्नल अफ न्यूट्रिसनमा प्रकाशित शोधअनुसार बिहान केही नखाई कफी पिउँदा रगतको ग्लूकोज नियन्त्रणमा नकारात्मक असर पर्ने देखिएको हो ।
उक्त अध्ययन २९ जना महिला र पुरुषमा गरिएको थियो । सहभागीलाई एक रात राम्रोसँग सुतेर र अर्को रात सुताईमा बाधा पुगेको बेला कफी दिइएको थियो । त्यस्तै हरेक सहभागीलाई केही चिज दिनुभन्दा पहिले र पछि रगत परीक्षण गरिएको थियो ।
अध्ययनका अनुसार बिहान उठ्नेबित्तिकै कफी पिउन दिएर खाजा खाएपछि रगत परीक्षण गर्दा ५० प्रतिशतले ग्लूकोजको मात्रा बढेको पाइयो । त्यस्तै नास्ता वा खाना खाएपछि कफी पिएकामा ग्लूकोजको मात्रा नियन्त्रित देखिएको थियो ।
तर सीमित समय र थोरै सहभागीमा गरिएको अध्ययनमा थप अध्ययन गर्नुपर्ने अनुसन्धाताहरूले बताएका छन् । तैपनि यो नतिजाले पहिले कफी पिउँदा चिनी प्रशोधन गर्ने क्षमतालाई सीमित गराउने पक्का भएको उनीहरूले बताएका छन् ।
तपाईँको अभिमत