नेपालमा पहिलो पटक दमका बिरामीले तान्ने ‘ड्राइपाउडर इनहेलर’ उत्पादन

नेपालमा पहिलो पटक ‘ड्राइपाउडर इनहेलर’ को उत्पादन सुरु भएको छ । दमका बिरामीले प्रयोग गर्ने यो औषधि नेपाल फर्मा एक्स्पो २०२४ मा प्रदर्शनीमा राखिएको छ ।
एमडिएच फर्मास्युटिकल्सले उत्पादन गरेको ड्राइपाउडर इनहेलर’ लाई प्रर्दशनीमा राखेको हो ।
नेपालमा पहिलो पटक दम र श्वासप्रश्वासका बिरामीलाई लक्षित गरी ‘ड्राइपाउडर इनहेलर’ बनाइएको एमडिएच फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत दीपकप्रसाद दाहालले जानकारी दिनुभयो ।
‘संसारमा मानिस मृत्यु हुने कारणमध्ये तेस्रो कारण फोक्सोमा हुने दम र फोक्सोको श्वास थुनिने रोग हो’ दाहालले भन्नुभयो, ‘ यो ती दुवै रोगलाई उपचार गर्नका लागि ल्याएर आएको हो ।’
दाहालका अनुसार ‘ड्राइपाउडर इनहेलर’ मा एउटा क्याप्सुल हुन्छ र त्यो क्याप्सुलमा औषधि हालेको हुन्छ । त्यो औषधि प्रयोग गर्नका लागि एउटा डिभाइस हुन्छ । त्यो डिभाइसमा क्याप्सुल हालिन्छ । अनि त्यो क्याप्सुलको पाउडर डिभाइसमा झर्छ । यसरी डिभाइसमा औषधिको धूलो झारेपपछि फोक्सोका बिरामीले बेस्सरी तान्नुपर्छ ।
अहिले पनि दम, तथा फोक्सोका बिरामीले यो खालको औषधि प्रयोग गरिरहेका छन् । नेपाली औषधि उपलब्ध नहुँदा बाहिरबाट आयातीत औषधि प्रयोग गर्दै आएका छन् । औषधि राख्ने डिभाइस पनि प्रयोग भइरहेका अन्य भन्दा प्रभावकारी रहेका एमडिएच फर्मास्युटिकल्सका सिइओ दाहालको दावी छ ।
भारतबाट आउने औषधिभन्दा करिब १५ प्रतिशत कम मूल्यमा उपलब्ध हुने फर्मास्युटिकल्सका महाप्रवन्धक कृष्णचन्द्र लम्सालले जानकारी दिनुभयो । लम्सालका अनुसार उपचारका लागि ३० वटा क्याप्सुलको ३५० देखि ५०० रुपियाँसम्म मूल्य राखिएको छ भने डिभाइसको ३२० रुपियाँ मूल्य निर्धारण गरिएको छ । भारत लगायत बाहिरमुलुकबाट डिभाइसलाई मात्र ५२४ रुपियाँ पर्ने लम्सालले बताउनुभयो ।
अहिले एक्स्पोमा प्रर्दशनीको लागि मात्र उपलब्ध गराइएको र बैशाखदेखि विक्री विवरण गरिने जानकारी लम्सालले दिनुभयो ।
पहिले फोक्साका बिरामीले औषधि खाने गर्दथ्ये । यसरी खाएको औषधि आन्द्रा हुँदै रगतमा गएर फोक्सोसम्म पुग्न धेरै समयमालाग्थ्यो । तर ‘ड्राइपाउडर इनहेलर’ सिधै फोक्सोमा जाने र तत्काल काम गर्ने भएकोले फर्मास्युटिकल्सका सिइओ दाहालले जानकारी दिए ।
पछि अनुसन्धान गरेर एन्टिवायोटिक औषधि पनि ‘ड्राइपाउडर इनहेलर’को रुपमा प्रयोग गर्न सकिने दाहालको भनाइ छ । यो औषधि एक पटक लिएपछि १२ देखि १४ घण्टासम्म काम गर्छ ।
तपाईँको अभिमत