गर्भवतीलाई फुड सप्लीमेन्ट कति आवश्यक ?

काठमाडौं । गर्भावस्थामा आमाले खाने खान्कीले शिशुको शारीरिक अवस्था स्वस्थ रहन्छ । आमाले खाएको आहारबाट नै शिशुले पौष्टिक तत्व पाउने भएकोले गर्भावस्थामा विशेष ख्याल गर्नुपर्दछ । आजभोलि यही पौष्टिक आहारको बहानामा गर्भवतीहरुलाई सप्लीमेन्ट (आहारपुरक खाद्यपदार्थ ) दिने चलन बढिरहेको देखिन्छ।
काठमाडौं बाँसबारीकी ३४ वर्षकी एक महिलाले पनि डाक्टरलाई भेटेदेखि नै सप्लीमेन्ट खाएकी थिइन् । निजी अस्पतालमा नियमित परीक्षण गराउनुभएकी ती महिलालाई गर्भ रहेदेखि नै डाक्टरले प्रोटिन पाउडर खान प्रिस्क्राइब गर्नुभयो । सुत्केरी नहुञ्जेलसम्म ती महिलाले १३ बट्टा प्रोटिन पाउडर खाएर सिद्याइन् । त्यो प्रोटिन पाउडरको एक बट्टाको मुल्य १४ सय रुपैया पर्दथ्यो । डाक्टरले युवतीलाई प्रोटिन पाउडरले बच्चाको विकास र तौल बढाउन सहयोग पुग्ने बताउदै पाउडर खान सुझाउनुभएको ती युवतीले बताइन् । ती युवतीले गत असोजमा २.५ किलोग्रामको शिशु जन्माइन् ।
सरकारी स्वास्थ्य संस्थाहरुमा डाक्टरहरुले गर्भवतीलाई सप्लीमेन्ट लिन सुझाएको पाइँदैन तर निजी अस्पतालमा जाँच गर्ने गर्भवतीहरुलाई सप्लीमेन्ट प्रिस्क्राइव नै गर्ने गरेकाे पाइन्छ । यसरी अस्पताल पुग्ने एकै प्रकृतिका व्यक्तिलाई कतै सप्लीमेन्ट अनिवार्य भनिन्छ भने कतै आवश्यक नै नपर्ने बताइन्छ । जसले गर्दा गर्भवतीहरु अलमलमा पर्ने गरेका छन् ।
गर्भवतीलाई सप्लिमेन्टको आवश्यकता कति ? भन्ने विषयमा हामीले वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा भोला रिजाल र स्वास्थ्य मन्त्रालयका प्रवक्तासमेत रहनुभएका स्त्रीरोग विशेषज्ञ प्रा.डा.जागेश्वर गौतमलाई यसबारे प्रश्न गरेका छौँ ।
प्रा.डा.भोला रिजाल
गर्भवतीलाई सप्लीमेन्ट अनिवार्य गर्न खोज्नु आार्थिक कारोबारप्रेरित अभियान हो । केही वर्षयता नेपालमा पनि गर्भवतीले सप्लिमेन्टको प्रयोग गर्ने क्रम ह्वात्तै बढेको छ । सप्लिमेन्टका नाममा ११ हजारसम्मको प्रिस्क्राइब गरेका केस म आफैँले पनि भेटेको छु । नगन्य गर्भवतीलाई मात्र सप्लिमेन्टको आवश्यक पर्नसक्छ । गर्भवतीलाई सप्लीमेन्ट दिनु विदेशीहरुले आफ्नो उत्पादनलाई बढावा दिन रचिएको प्रोपोगाण्डा हो । यो बिल्कुलै आर्थिक चलखेल हो।
त्यसैले यो अनावश्यक र खर्चिलो चलन हो । यसले आमा र शिशु स्वस्थ हुने होइन खर्च थेग्न नसकेर परिवारलाई नै उल्टो तनाब उत्पन्न गराउँछ । हाम्रो देश नेपालमा गर्भवतीलाई सप्लीमेन्ट दिन म आवश्यक ठाँन्दिन । हाम्रो भूमिमा सबै किसिमका सागसब्जी पाइन्छ । जुन गर्भवतीलाई आवश्यक पर्दछ। हामी कर्कलो, गेडागुडी सधैँ नै खाइरहेका हुन्छाैँ। गर्भवतीलाई चाहिने भनेको फोलिक एसिड, आइरन र क्याल्सियम हो । त्यसैले सरकारले नै अनावश्यक प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक औषधि मात्रै तोक्नुपर्छ ।
प्रा.डा.जागेश्वर गौतम
क्याल्सियम, भिटामिन, प्रोटिन, खनिज र कार्बाेहाइडेट्सजस्ता खानेकुराले आमाको मात्र होइन गर्भमा रहेको शिशुलाई पनि स्वस्थ राख्दछ । सुरुको अवस्था अर्थात् पहिलो ३ महिना गर्भवतीका लागि निकै जटिल अवस्था मानिन्छ । गर्भ रहेको थाहा पाएदेखि १४ हप्तासम्म नियमित फोलिक एसिड खानुपर्दछ ।
गर्भ रहेको १६ हप्तापछि आइरन र क्याल्सियम खानुपर्दछ । नेपालमा अझै पनि रक्तअल्पताको समस्या छ । गर्भावस्थामा रगतमा पानीको मात्रा धेरै बढ्छ तर ठोसको मात्रा कम बढ्छ जसले रक्तअल्पता हुने जोखिम रहन्छ त्यसैले रगतको कमी भएमा गर्भ रहेको १४ हप्तापछि एकपटक जुकाको औषधि खानुपर्छ ।
हाम्रो खानेकुरामा आइरन कम पाइने भएकाले हामीले आइरन दिन परेको हो। जापान र बेलायतमा त गर्भवतीलाई आइरन पनि दिइँदैन किनकी त्यहाँको खानेकुरामा नै आइरन प्रशस्त पाइन्छ । तपाईले भन्नुभए जस्तै नेपालमा गर्भवतीलाई सप्लीमेन्ट प्रयोगको चलन बढेकै हो तर सप्लीमेन्ट सबै गर्भवतीलाई जरुरी छैन।
म के आग्रह गर्दछु भने डाक्टरहरुले सप्लीमेन्ट प्रिस्क्राइव गर्नुभयो भने पनि के कारण भनेर गर्भवतीले सोध्नुहोस्, सप्लीमेन्ट एकदमै नगन्य केसमा मात्रै नभई नहुने कुरा हो । यदि तपाईको स्वास्थ्य अवस्था ठिक छ भने डाक्टरले सप्लीमेन्ट खानु भने पनि प्रोटिन पाउडरको साटो दिनको एउटा अण्डा खान सकिन्छ। अण्डा नखाने गर्भवतीले गेडागुडी, सोयाबिन खाएमा प्रशस्तै प्रोटिन पाइन्छ । हाम्रो खेतबारीमा पाइने साग सब्जी, खानेकुरा नै तागतिला छन्, अनावश्यक सप्लीमेन्ट खानु पर्दैन।
हामीसँग भएका खानेकुरालाई तरिका पुर्याएर पकाउन भने जरुरी छ। जस्तो की हरियो तरकारीलाई धेरैबेर पकाउनु हुँदैन । गर्भवतीले दाल, भात र तरकारी नै खाने हो । डाक्टरहरुले सप्लिमेन्टमा भन्दा काउन्सिलिङमा ध्यान दिन जरुरी छ । अकस्मात् बेथा लाग्यो भने सुत्केरी कहाँ गराउने भन्ने कुरामा राम्रो काउन्सिलिङ नहुँदा समस्या उत्पन्न भइरहेको हुन्छ।
अकस्मात् बेथा लाग्यो भने सुत्केरी कहाँ गराउने भन्ने कुराको जानकारी पहिलो पटक जाँच्न आएको बेलादेखिनै गर्भवती र परिवारलाई गराउनुपर्छ । मैले लाखभन्दा बढीको सुत्केरी गराइसकेको छु, सबैलाई यो भन्दै आएको छु कि गर्भवतीले कडा काम गर्न हुँदैन आराम गर्नुपर्दछ । गर्भ र सुत्केरी दुवै प्राकृतिक चक्र हुन् । त्यसैले हामीले स्वतन्त्र छोड्नुपर्छ । पहिला–पहिला कुनै पनि औषधि नहुँदा पनि बच्चा जन्मिएकै थिए । गर्भावस्थामा धेरै परीक्षणहरु गर्नुहुँदैन, अप्ठेरो भएको बेला मात्रै डाक्टरको सहयोग लिने हो ।
युरोप र अमेरिकामा घरमा नै सुत्केरी गराइन्छ त्यहाँ तालिमप्राप्त मिडवाइफहरुले सुत्केरी गराउँछन् । हाम्रो देशको सन्दर्भमा भन्नुपर्दा घरमा नै सुत्केरी गराउने अवस्था छैन किनकी यहाँ स्रोत र साधनको कमी छ । यहाँ घर–घरमा डाक्टर पुग्ने अवस्था छैन ।
अल्ट्रासाउड कति पटक गर्ने ?
साधारणतया ३ पटक अल्ट्रासाउण्ड गर्नुपर्छ ।
पहिलो पटक : गर्भ रहेको थाहा पाएपछि बच्चा जिउँदो छ कि छैन । ठाउँमा छ कि छैन, भ्रुण कति हप्ताको भएको हो भन्ने पत्ता लगाउन भनी अल्ट्रासाउण्ड गरिन्छ ।
दोस्रो पटक : बच्चाको अवस्थाबारे बुझ्न, अंगको विकासक्रम हेर्न १९/२० हप्तामा दोस्रो पटक अल्ट्रासाउण्ड गर्नुपर्दछ।
अन्तिममा,
पानीको अवस्था, बच्चाको तौल कति छ? बच्चाकाे अवस्था उल्टोऽ सुल्टो हेर्न, सालको अवस्था के छ भनेर थाहा पाउन सुत्केरी हुने दिनभन्दा केही दिनअगाडि अल्ट्रासाउण्ड गर्नुपर्दछ ।
तपाईँको अभिमत