स्वास्थ्य बीमा बोर्डमा काजमा आएका अधिकृतकाे आतंक, आन्दोलनमा उत्रिए कर्मचारी
स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित भएका छन् । एक शाखा अधिकृतले कार्यालयका अन्य कर्मचारीलाई दुर्व्यवहार गरेको विषयमा बोर्डका कर्मचारी आन्दोलित भएका हुन् ।
बोर्डका अध्यक्षको सचिवालयमा कार्यरत शाखा अधिकृत शोभित रिजालले करारका कर्मचारीहरू माथि दुर्व्यहार गरेको कर्मचारीहरुले प्रेस विज्ञप्ति जारी जानकारी दिएका छन्। स्वास्थ्य मन्त्रालयबाट काजमा बोर्डमा आएका शाखा अधिकृत रिजालले कर्मचारीलाई हैरानी दिने गरेको त्यहाँका कर्मचारीहरूको गुनासो छ।
बोर्डमा कार्यरत अन्य कर्मचारीका अनुसार रिजालले कर्मचारीलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्षभित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने जस्ता हर्कत गर्नेगर्छन् ।
कर्मचारीबीच एकअर्काेमा मनमुटाव हुने अवस्थाको सिर्जना गरी काम गर्ने वातावरण नै बिर्गार्ने गरेको आरोप बोर्डका अन्य कर्मचारीहरूको छ।
बोर्डका एक कर्मचारीले दिएको जानकारी अनुसार रिजालले केहीदिन अघि कार्यालय उपसचिवको कार्यकक्षमा गई विवाद गर्दै प्रिन्टर समेत फुटाएका थिए ।
रिजाललाई बोर्डबाट हटाउन माग गर्दै कर्मचारीहरुले साउन ४ गते कार्यकारी निर्देशकलाई पत्र पठाएका थिए । १५ दिनसम्म पनि माग पूरा नभएको भन्दै बोर्डका कर्मचारीहरुले आजबाट पेन डाउन सुरु गरेका छन् ।
बोर्डका एक कर्मचारीले बताएअनुसार रिजालले जिम्मेवारीबाहेक जुनसुकै विभागमा हस्तक्षेप गर्ने गर्छन् । उनको मात्रै कुरा सुन्नुपर्ने, आफू मात्रै जान्नेसुन्ने पल्टने, तिमीहरू करारको कर्मचारीको जागिर खाइदिन्छु भन्दै थर्काउने गर्दै आएका छन्।
यिनै व्यक्तिका कारण विगतमा केही कर्मचारीहरुले जागिर समेत छाडेको बोर्डका एक कर्मचारीको दावी छ ।
'एउटा शाखा अधिकृतले सबैलाई अण्डरमा राख्न खोज्ने, निर्देशक हल्लाउने गर्न थालेपछि कसरी काम गर्ने वातावरण हुन्छ ? बोर्डका एक कर्मचारी गुनासो गर्छन्।’
कर्मचारीहरुले काम बन्द गरी बसिरहेका छन् । कर्मचारीको आन्दोलनले बोर्डको काम प्रभावित भएको छ ।
उहिल्यै कारबाहीमा परेका थिए रिजाल
स्वास्थ्य बीमा बोर्डमा अहिले अन्य कर्मचारीलाई आतंकित बनाइरहेका रिजाललाई यसअघि पनि कारबाही गरिएको थियो । २ वर्ष पहिला हालकै कार्यकारी निर्देशक डा.दामोदर बसौलाले रिजाललाई बोर्डको जिम्मेवारीबाट हटाएका थिए ।
यस्तै व्यवहार देखाएपछि उनलाई २०७९ बैशाख ४ गते उनलाई कार्यकारी निर्देशक बसौलाले सबै जिम्मेवारीबाट हटाएका थिए । हटाएको ११ महिनापछि रिजाल २०७९ चैत १६ गते पुनः बोर्डमै काजमा आएका थिए ।
बोर्डमा आएर रिजालले फेरि पहिलेकै जस्ता हर्कत जारी राखेको त्यहाँका कर्मचारीहरुको गुनासो छ। रिजालको मानसिकता र व्यवहार हेर्दा पेशागत रुपमा नै अयोग्य भएको आरोप बोर्डका एक कर्मचारीले लगाए ।
तपाईँको अभिमत