दुर्गम बसेकै कारण धेरै अवसर गुमे तर मूल्यांकन भएन
दुर्गम हिमाली जिल्ला मुस्ताङमा जन्मिएर त्यहीँ हुर्कनुभएकी प्रमिला थकाली रहरले नर्स बन्नुभएको होइन । प्रमिला तत्कालीन धौलागिरी अञ्चलकै एक उत्कृष्ठ खेलाडी हुनुन्थ्यो । उहाँले २०४० र २०४२ सालमा भएकाे पहिलाे र दाेस्राे राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने मौका पाउनुभयो । दौड र भलिबल खेलमा उहाँको विशेष दखल थियो ।
बिहान उठ्नेबित्तिकै घाँस दाउरा नगरी स्कुल जान पाइन्नथ्यो । त्यो समय एलएलसी पास गर्नै मुस्किल पर्थ्यो । एसएलसीलाई अन्तिम पढाइ ठानिन्थ्यो । यसपछि थप पढ्नु पर्दैन भन्ने मान्यता थियो।
त्यो ब्याचमा एसएलसी पास गर्ने छात्रा प्रमिला मात्रै हुनुहुन्थ्यो। छोरी मान्छेले एसएलसी पास गर्नु धेरै प्रतिष्ठाको विषय मानिन्थ्याे । प्रमिलाले २०४४ सालमा एसएलसी पास गर्नुभएको थियो। त्यसपछिका लगातार ३ वर्षसम्म उहाँको गाउँमा कोही छात्रा पनि एसएलसी पास नभएको उहाँ सुनाउनुहुन्छ।
एसएलसी उतीर्ण हुँदा उत्साहसँगै चिन्ता पनि थपियो । प्रमिलालाई थप पढाइ गर्नु थियो । यसमा उहाँको परिवारको पनि साथ थियो । तर कुन विषय पढ्ने कहाँ पढ्ने, कुन विषय पढे कस्तो काम पाइन्छ भनी सुझाव दिने कोही थिएनन् ।
मार्फामा रहेको मामाघरमा बसेर प्रमिलाले एसएलसीसम्मको अध्ययन गर्नुभएको थियो । एसएलसी दिएपछि जन्मस्थल जोमसोम जाँदा एक नर्स(अनमी) सधैं जिल्ला अस्पताल जाने गरेको देख्नुहुन्थ्यो । त्यतिञ्जेल प्रमिला नर्सबारे अनभिज्ञ हुनुन्थ्यो ।
सानामा बिरामी हुँदा अस्पताल वा स्वास्थ्य संस्था लगेको उहाँलाई याद छैन । त्यसैले पनि नर्सबारे कत्ति पनि जानकारी थिएन । जिल्ला अस्पताल धाउने नर्स छिमेकी भाउजू हुनुन्थ्यो । स्थानीयले उहाँलाई सम्मानजनक व्यवहार गरेको देखेपछि प्रमिलालाई अनि आफू पनि भाउजू जस्तै नर्स बन्ने इच्छा जाग्न थाल्यो ।
तर नर्सको काम के हो ? भन्ने थाहै थिएन । नर्सिङ पढ्नका लागि उहाँ २०४६ सालमा पोखरा झर्नुभयो । पढाइ सुरु गरेपछि मात्रै प्रमिलाले नर्स त स्वास्थ्य संस्थाको खम्बा पो रहेछ भन्ने कुरा थाहा पाउनुभयो।
उद्योगमा नर्सको जागिर
प्रमिलाले २०४९ सालमा पिसिएल नर्सिङ उतीर्ण गर्नुभयो । अन्तिम परीक्षा दिएलगत्तै गण्डकी मेडिकल कलेजको अस्पतालमा स्वंसेवक भएर ४ महिना बिरामीको उपचार गर्नुभयो ।
पढेर नर्सिङ जीवनको यात्रालाई सुरु गरिरहँदा २०४९ सालमा नेपालको एकमात्रै रबर उद्योग गोरखकाली टायर उद्योगमा नर्स माग भयो ।त्यो पनि एक जना मात्रै । विज्ञापनमा भनिएअनुसार सबै कागजात जुटाएर प्रमिलाले फर्म भर्नुभयो ।
गोरखकाली टायर उद्योगमा प्रमिलाले जागिर पाउनुभयो । २२ वर्षको उमेरमा जागिरे हुन पाउँदा प्रमिलालाई थप उर्जा मिल्यो । ओभरटाइमसमेत गरी उहाँको मासिक तलब ४ हजार रुपैयाँ पुग्थ्यो । करिब ४ सय कर्मचारी रहेको उक्त उद्योगमा १ वर्षसम्म प्रमिला एक्लो स्वास्थ्यकर्मी हुनुन्थ्यो ।
अहिले उद्योगहरुमा नर्स राख्ने चर्चा चलिरहेको छ । तर २९ वर्षअगाडि नै प्रमिलाले उद्योगमा नर्सका रुपमा काम गर्नुभएको थियो । उहाँले उद्योगमै मेडिकल विभाग खडा गर्नुभयो । त्यो विभागबाट प्राथिमक उपचार हुन्थ्यो । गम्भीर प्रकृतिका केसलाई काठमाडौं रिफर गरिथ्यो ।
उद्योगका कर्मचारीलाई मात्रै होइन आबुखैरनी, मनकामना भेगका बासिन्दालाई पनि सेवा दिनुपर्थ्यो । उक्त विभागले अस्पतालमा हुने गरेको ओपिडी जस्तो झल्को दिन्थ्यो।
त्यतिबेला गोरखामा नजिकै मेडिकलहरु थिएनन् । जसका कारण उद्योगमै स्थापना गरिएको मेडिकल डिपार्टमा स्थानीय बासिन्दाको भीड लाग्थ्यो । सेवाग्राहीको चाप बढ्न थालेपछि २ वर्षपछि उद्योगमा एक जना डाक्टर र एक अनमी थप गरियो ।
उद्योगमा काम गर्दागर्दै मेसिनमा परी घाइते कामदारको उपचार गर्नुपर्थ्यो । त्यसका अलवा टाउको दुख्ने, रुघाखोकी, निमोनिया, पेट दुख्ने, झाडापखाला लगायतका समस्या लिएर स्थानीय आउँथे।
५ वर्षसम्म प्रमिलाले त्यहाँ काम गर्नुभयो । नर्सिङ पेशामा काम गर्दाको अहिलेसम्मको अनुभवमा गोरखाली रबर उद्योगको समय स्वर्ण र सुन्दर लाग्छ । तर उक्त उद्योग २०७२ सालदेखि बन्द छ । जुन देशकै लागि दुर्भाग्य रहेको प्रमिलाको बुझाइ छ ।
सर्पको डर
गोरखकाली रबर उद्योगमा ५ वर्ष काम गरेपछि प्रमिला लोकसेवा परीक्षामा सहभागी हुनुभयो। पहिलो प्रयासमै नाम निकाल्न सफल हुनुभयो ।
२०५३ सालमा पाल्पा रामपुरको प्राथमिक स्वास्थ्य चौकीबाट प्रमिलाको सरकारी जागिरे यात्रा सुरुभयो । त्यतिबेला ३० वर्षको हुनुन्थ्यो । स्वास्थ्यचौकीमा उहाँ जाँदा एक डाक्टर, एक अनमी र एकजना अहेव गरी ३ जना हुनुन्थ्यो ।
मुस्ताङ जोमसोममा हुर्कनुभएकी प्रमिला दुर्गम परिवेशबारे अभ्यस्त हुनुन्थ्यो । पाल्पा रामपुरमा पनि मुस्ताङमा जस्तै बिजुली थिएन। बाटोघाटो थिएन । दुर्गममा बस्न रमाइलो लाग्ने प्रमिलालाई रामपुरमा भने सधैं डर लागिरह्यो ।
एक्ली महिला ।हिमाली भेगमा त्यतिधेरै सर्प नदेखेकी रामपुरमा धेरै सर्प देखिन्थे।
सर्पकै डरले रातको समयमा लालटिन नबाली प्रमिलालाई निद्रा पर्दैनथ्यो । अस्पतालमा पनि सर्पले डसेका बिरामीहरू धेरै आउँथे । सर्पकै डरले प्रमिलालाई रामपुरमा ५ महिना बिताउन ५ वर्ष जत्तिकै लाग्यो।
जन्मस्थलमा सेवा
५ महिना रामपुरमा बसेपछि प्रमिलाले सरुवा माग्नुभयो । छोटो समयमा सरुवा माग्नुको कारण सर्पकै डर थियो । आफ्नै गाउँमा सरुवा हुने अवसर मिल्यो । आफ्नो जन्मस्थल, घाँसदाउरा, पानी पँधेरो गरेकै ठाउँमा स्वास्थ्यकर्मी भएर जान पाउँदा प्रमिलामा खुसीको सीमै थिएन।
गाउँमै चिनेजानेकाको उपचारमा खटिन पाउनु ठूलो खुसीको कुरा भयो प्रमिलालाई।
सेना प्रहरीको घेरामा उपचार
दुर्गमस्थल प्यारो लाग्ने प्रमिलाले जोमसोममा ३ वर्ष सेवा गरेपछि फेरि गाउँमै सरुवा माग्नुभयो । २०५६ सालमा उहाँ गोरखा जिल्ला अस्पताल आउनुभयो । गोरखामै उहाँको विवाह भयो । श्रीमान् र छोराछोरी साथमै रहेकाले गोरखाको बसाइँ राम्रो चल्दै थियो । सुरु सुरुमा त्यहाँको बसाँइ सहज भएपनि केही समयपछि निकै त्रासदी वातावरणमा काम गर्नुपर्ने भयो।
गोरखा जिल्ला अस्पतालमा नियुक्त हुँदा जनयुद्ध चलेको ४ वर्ष पुगिसकेको थियो । गोरखा माओवादी जनयुद्धको उद्गमस्थलमध्येको एक हो । देशका विभिन्न स्थानमा लडाइँ, बम विष्फोटका घटना भइरहन्थे । गोरखामा पनि विष्फोट र गोली हानाहानका घटना धेरै हुनेगर्थे । अस्पतालका पुरै १५ वटा बेड विष्फोटमा परी घाइते भएकाले भरिन्थे । सुत्केरी बेथा लागेर ल्याइएका गर्भवतीहरु त्यतिकै हुन्थे । उनीहरुलाई बेड पाउनै मुस्किल थियो।
द्धन्द्धको समयमा लोडसेडिङ धेरै हुन्थ्यो । कुनैबेला बत्ति गयो कि कहीँ न कहीँ बम विष्फोट भयो भन्ने शंका हुन्थ्यो ।
प्रायजसो बत्ति गयोकी विष्फोट भइहाल्थ्यो र एकैछिनमा रगताम्य भएर ल्याइएका घाइतेहरुको उपचारमा खटिनु पर्थ्यो । कहीँ कतैबाट माओवादी घाइते भएर अस्पताल ल्याइयो भने अस्पतालबाहिर भित्र र स्वास्थ्यकर्मीहरुको वरिपरि सेना र प्रहरी बदुक ताकेर बस्थे।
डरले थरथर काँप्दै घाइतेहरुको उपचार गर्नुपरेको सम्झनाे अहिले पनि झसक्क बनाउँछ प्रमिलालाई । जिल्ला अस्पतालमा सबै घाइतेको उपचार गर्न सकिदैनथ्यो । गम्भीर केसलाई काठमाडौं रिफर गरिन्थो । तर रिफर गरिएका धेरै केस काठमाडौं पुग्दैथ्यो । क्षतविक्षत अवस्थाका घाइतेहरुको बाटैमा मृत्यु हुने गर्थ्यो । यस्ता समाचारले प्रमिलाको मन खिन्न बनाउथ्यो ।
झण्डै डाक्टर मारिए
प्रमिलालाई ठ्याक्कै मिति याद छैन तर घटना मानसपटलमा ताजै छ । त्यतिबेला माओावादी र प्रहरी बराबरी जसो मारिन्थे । एक मध्यरात प्रमिला बस्ने क्वार्टर नजिकै रातभर गोली चल्यो । मोबाइल फोन केही थिएन । त्यतिबेला एक अर्काबीच सञ्चार गर्न निकै कठिन हुन्थ्यो ।
धेरैपटक गोली चलेको सुनेपछि एउटै भवनमा बस्नुभएका डा.विकास लामिछाने अत्तालिएर बाहिर निस्कन खोज्नुभयो । बन्दुक तेर्साएर बसिरहेका सेना र प्रहरीले माओवादी ठानेर उहाँमाथि झण्डै गोली चलाएनछन् । त्यसदिन डा. विकास ठूलो भाग्यले बाँचेको प्रमिला सुनाउनुहुन्छ ।
प्रमिलाले लगभग ५ वर्ष गोरखामा त्रासदीपूर्ण वातावरणमा काम गर्नुभयो ।
अनि काठमाडौं सरुवा
द्वन्द्वकालभरी गोरखामा बिताएपछि प्रमिलाले पहिलो पटक सुगममा सरुवा माग्दै निवेदन दिनुभयो । प्रमिलाले काठमाडौँको वीर, प्रसुती, र कान्ति बाल अस्पतालमध्ये एकमा सरुवा माग्नुभएकाे थियो
सकभर बालअस्पताल नपरोस् भन्ने चाहना थियो प्रमिलालाई । बच्चाको केस ह्याण्डल गर्न सार्है डर लाग्ने । तर २०६२ सालमा उहाँको पोष्टिङ कान्तिबाल अस्पतालमा भयो । कान्तिमा आइसकेपछि पनि उहाँलाई दुर्गम जिल्लामै छु जस्तो लाग्यो।
देशभरबाट बालबालिकालाई उपचारका लागि ल्याइन्थ्यो । कान्तिमा सुगमबाट भन्दापनि गाउँ दुरदराजबाट धेरै बालबालिका ल्याइने भएकाले प्रमिलालाई त्यहाँ काम गरिरहँदा खुशी, रमाइलो र बालबालिका तथा उनीहरुका आफन्तप्रति बेग्लै किसिमको भाव प्रकट हुन्थ्यो।
बच्चाकै उपचारमा खटिएको १६ वर्ष बित्यो ।
इमरजेन्सी विभाग हुँदै आइसीयू, पीआइसीयूसम्म काम गर्नुभएकी प्रमिलासँग कान्तिमा काम गर्दाका धेरै दुखद् घटनाका स्मरणहरू पनि छन्
झण्डै ७ वर्ष अगाडिको कुरा हो, करिब २ वर्ष उमेरको बच्चालाई ईमर्जेन्सीमा ल्याइयो । आइसीयूमा लान नपाउँदै ती बच्चाको मृत्यु भयो ।
गाडी ब्याक गर्दा बच्चा टायर मुनि छिरिसकेको उसको बाबुलाई पत्तो भएनछ ।
अफिसबाट घर पुगेपछि ब्याक गर्ने बेला गाडीले बच्चालाई किचेको थियो ।अस्पताल ल्याएको १ घण्टा बित्न नपाउँदै बच्चाको मृत्यु भयो ।
यस्तै अर्काे एक घटनाले प्रमिलालाई अझै पनि झस्काउँछ, १४ वर्षको एक बालकलाई नसा सम्बन्धी समस्या भएर ल्याइएको थियो । हातखुट्टा केही नचल्ने अवस्थामा ल्याएका ती बालकलाई झण्डै ३ महिना भेन्टिलेटर र आइसीयूमा राखेर उपचार गरिएको थियो ।
उसको स्वास्थ्य अवस्थामा निकै सुधार आइसकेको थियो । केहीदिनमै डिस्चार्ज गर्ने तयारी डाक्टरहरुले गरेका थिए । तर एक्कासी उसको मृत्यु भयो ।
दुर्गममा बसेकै काम लागेन
प्रमिलाले दुर्गमबाटै सरकारी सेवामा प्रवेश गर्नुभयो । दुर्गममा बस्दा सेवा सुविधा खासै राम्रो थिएन ।
प्रमिला दुर्गममा जन्मिएकाले पटक-पटक दुर्गममै सेवा दिन रुचाउनुभयो । दुर्गमको परिवेशसँग घुलमिल भएकाले उहाँलाई दुर्गम प्यारो लाग्थ्यो । तर दुर्गममा बसेकै कारण धेरै अवसरहरु गुमाउन परेकोमा प्रमिलालाई थकथकी लागेको छ ।
उहाँको पालामा बढुवा पनि रोकियो । लोकसेवा पनि खुलेन । सरकारी सेवामा प्रवेश गरेको २६ वर्ष पुग्यो तर उहाँ छैठो तहबाट माथि पुग्नसक्नु भएन । विभिन्न वहानामा वर्षाैसम्म झुलाएर बल्ल बल्ल स्तरवृद्धि गरिएपनि दुर्गममा बसेको कामै लागेन।
प्रमिला अहिले ५६ वर्ष पुग्नुभयो । अवकास पाउने समय नजिकिँदै छ । नर्सिङ सेवाबाट खुसीभन्दा धेरै निराश हुनपरेको उहाँको गुनासो छ। निराश हुनुको प्रमुख कारण राज्यले सेवाको उचित मंल्याकन गरेन जस्तो लाग्छ प्रमिलालाई।
उहाँसँगै सरकारी सेवामा प्रवेश गरेका अनि दुर्गममा पनि नबसेका धेरै नर्स आठौं तहसम्म पुगेका छन् ।
लोकसेवा खुलेको भए माथिल्लो तहमा पुगिन्थ्यो भन्ने उहाँलाई लाग्छ । अथवा दुर्गमको सट्टा सुगममा बसेको भएपनि बढुवा भइने रैछ भन्ने सोचेर उहाँलाई पछुतो लाग्छ।
उहाँको पालामा सरकारी सेवामा काम गर्दा दुर्गममा बस्नै पर्ने बाध्यकारी व्यवस्था थिएन । व्यवस्था नभएपनि दुर्गमलाई नै रोज्नुभएकी प्रमिला अहिले त्यही दुर्गमको प्रावधानका कारण धेरै पछाडि पर्नुभएको छ । दुर्गममा बसेर सेवामा मात्रै समर्पित हुँदा पढाइ, तालिम, स्तरवृद्धि सबै रोकिएको उहाँको गुनासो छ ।
सेवाका लागि जुन स्थानमा गएपनि क्वार्टरमै बस्ने भएकाले प्रमिला कुनैपनि बेला सेवामा हाजिर हुनै पर्थ्यो । 'हुन त सेवा गर्दा फाइदालाई हेर्न नहुने हो तर त्यतिका वर्ष दुर्गममा सेवा गरेको कुनै मूल्यांकन नै भएन' प्रमिलाको दुखेसो छ।
उहिले भन्दा अहिले राम्रो छ
अहिले प्रावधान फेरिएको छ । बढुवा हुन निश्चित समय दुर्गममा बसेकै हुनपर्छ । यो प्रावधानले अहिलेका स्वास्थ्यकर्मीलाई सजिलो बनाएको उहाँको बुझाइ छ । तर जनशक्तिको अवस्था प्रमिलाले नर्सिङ पढ्नेबेलादेखि अहिलेसम्म पनि उस्तै छ । बिरामीको चाप धेरै बढेको छ तर जनशक्ति उही छ । बिरामी धेरै जनशक्ति थाेरै हुँदा गुणस्तरीय सेवा पर्वाहमा असर पुगिरहेकाे छनै जिम्मेवारीकाे चाङ धेरै हुँदा तनावपूर्ण वातावरणमा काम गर्नुपर्ने अवस्था रहेकाे प्रमिला गुनासाे गर्नुहुन्छ ।
तपाईँको अभिमत