‘एमबीबीएसका विद्यार्थीसँग मेडिकल कलेजले १ करोड उठाउनुपर्छ'

चिकित्सा शिक्षा आयोगले तोकेको मूल्यमा एमबीबीएस पढाउँदा निजी मेडिकल कलेजलाई धेरै घाटा भएको दावी सञ्चालकको छ ।
विराटनगरस्थित विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्र मानसिंह कार्कीले अहिलेको शुल्क सित्तै पढाए बराबर रहेको गुनासो गर्नुभयो ।
निजी मेडिकल कलेजलाई राम्रोसँग चलाउने हो भने एमबीबीएसका एक विद्यार्थीबाट एक करोड शुल्क उठाउन पाउनुपर्ने माग डा.कार्कीको छ।
नेपाल चिकित्सक संघको आयोजनामा भएको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलनमा बोल्दै डा.कार्कीले अहिले ४४ लाख शुल्क लिँदा आधा नपुग भएको तर्क गर्नुभयो।
सम्मेलनमा ‘नेपालको चिकित्सा शिक्षामा अवसर र चुनौती’ विषयमा भएको बहस कार्यक्रमका बक्ता रहनुभएका कार्कीले एमबीबीएसमा अहिले दिइएको भन्दा दोब्बर सिट पढाउन पाउनुपर्ने माग समेत राख्नुभयो । अहिले विराट मेडिकल कलेजले १०० सिट मात्रै एमबीबीएस पढाउन पाएकोमा २०० सिट पाउनु पर्ने माग गर्नुभयो ।
५० जना विदेशी विद्यार्थीको कोटासहित २०० सिट पाएमा ५० जना नेपाली विद्यार्थी निशुल्क पढाउन तयार रहेको डा.कार्कीले बताउनुभयो।
दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा निजी मेडिकल कलेजले ठूलो योगदान गरेको दावी पनि डा.कार्कीले गर्नुभयो ।
सरकारले तोकिदिएको शुल्क लिँदा पनि निजी मेडिकल कलेजले ब्रह्मलुट मच्चाएर भनेर गलत प्रचार भइरहेको उहाँको गुनासो छ।
‘एक महिनाको फिस ६१ हजार ५७० रुपैयाँ पर्छ’ डा.कार्कीले भन्नुभयो ‘त्यसमा चार टाइम सानोतिनो स्टार होटलकै जत्तिको खाना, खाजा खुवाउनु पर्छ । बस्न दिएर, उसलाई बिरामी उपचार गरिदिएर, सुरक्षा दिएर राख्दा कसरी ब्रह्मलुट भयो?’
सरकारले तोकेको रकमले आफ्नो मेडिकल कलेजको आधा खर्च पनि नधान्ने दावी कार्कीले गर्नुभयो ।
उसभए कति भए पुग्छ त तपाईहरुलाई ? यस बहस सत्रका मोडिरेटर जीवराम भण्डारीले प्रश्न गर्दा डा.कार्कीले भन्नुभयो–‘इमान्दारीसँग भनौँ! एक करोड।’
गुणस्तरीय शिक्षा दिने र दक्ष जनशक्ति उत्पादन गर्ने हो भने एक करोड लिनुपर्ने जिकिर उहाँको छ।
अन्य मुलुकमा एमबीबीएसको शुल्क नेपालको तुलनामा धेरै बढी रहेको दावी उहाँले गर्नुभयो ।
‘यदि तपाईहरु आफ्नो बच्चालाई भारतको साधारण मेडिकल कलेजमा ६०, ७० लाख ८० लाख, एक करोड, डेढ करोडसम्म आइसी लाग्छ । यदि इंङ्ल्याण्ड, युएसमा गएर पढाउनुभयो भने न्यूनतम पनि ५ करोड, ७ करोड, १० करोड रुपैया लाग्छ’ कार्कीको दावी छ।
अन्य देशको तुलना गर्ने हो भने आफूहरुले सित्तै पढाए बराबर रहेको डा. कार्कीले बताउनुभयो।
अस्पतालमा भएको कमाइले यताको घाटा पूर्ति गरेको दावी डा.कार्कीको छ ।
तपाईँको अभिमत