अस्वस्थ खानेकुराले मानसिक स्वास्थ्यलाई पनि बिगार्छ (भिडियो)
अस्वस्थ खानेकुरा खायो भने हाम्रो शरीर अस्वस्थ हुन्छ भन्ने प्रायलाई थाहा भएकै कुरा हो। भोजनले शारीरिक स्वास्थ्य मात्रै नभएर मानसिक स्वास्थ्यमा पनि ठूलो असर पार्ने जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती बताउनुहुन्छ।
हेल्थपाटीसँगको कुराकानीमा डा.उप्रेतीले पेट र मस्तिष्कको ठूलो सम्बन्ध गरेको जानकारी दिनुभयो। धेरै सम्बन्ध हुने भएकै कारण पेटलाई दोस्रो मस्तिष्क समेत मान्ने गरेको उहाँको दावी छ।
अवस्स्थ खानेकुरा खाएको आजको भोलि नै मानसिक स्वास्थ्यमा समस्या नदेखिएपनि थाहै नपाइ दीर्घकालीन असर पुर्.याइरहेको उहाँको भनाइ छ।
हामीले खाने खानेकुराले मानसिक स्वास्थ्यमा गर्ने असरबारे अहिले पनि धेरै खोज, अनुसन्धान जारी रहेको डा.उप्रेतीले बताउनुभयो। शारीरिक र मानसिक स्वास्थ्यलाई ठिक राख्न स्वस्थ खाना खानुपर्नेमा उहाँले जोड दिनुभयो।
भोजन र मानसिक स्वास्थ्यबारे कस्तो सम्बन्ध छ ? हेल्थपाटीसँगको कुराकानीमा डा.अरुणा उप्रेतीले दिनुभएको जानकारी तल प्रस्तुत छ।
पहिले खाना, पोषणको बारेमा कुराकानी गर्दा शारीरिक स्वास्थ्यमा कस्तो असर गर्छ ? भइरहेको रोग निको पार्न कस्तो प्रभाव पार्छ भनेर छलफल हुन्थ्यो। पछिल्ला वर्षहरुमा हामीहरुको भोजनले शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यमा कस्ता किसिमका सकारात्मक र नकारात्मक असरहरु पर्छन, परिरहेका छन् भनेर छलफलहरु भइरहेको छन्। खोज, अनुसन्धान पनि भइरहेको छ।
बिरामी भइसकेका मासिनलाई पनि विशेष किसिमको पोषणयुक्त भोजन दियो भने निको हुने दर छिटो हुनेभयो। कतिपय पोषणको समस्या भएका मानिसलाई, पोषण नपुगेका मानिसलाई मानसिक समस्या भएको देखिएको छ। जस्तो भिटामिन बी१२ को कमी भयो भने डिप्रेसन हुन्छ भनेर विभिन्न अध्ययनले देखाएको छ।
मानसिक स्वास्थ्य र पोषणको बारेमा धेरै छलफलहरु भएको छ। यसको अर्थ मानसिक रोगीलाई पोषण मात्रै दिएर औाषधि उपचार नगर्ने भन्ने पक्कै पनि होइन। तर हामीले कस्तो किसिमको खानेकुरा खान्छौँ त्यसले मानसिक स्वास्थ्यमा चाहिँ निकै असर पर्छ।
हाम्रो पेट र मस्तिष्कको धेरै सम्बन्ध छ। पहिले यस किसमले छलफल हुँदैनथ्यो। यतिधेरै सम्बन्ध छकि पेटलाई दोस्रो मस्तिष्क समेत मानिन्छ। सेराटोनिन भनिने विशेष किसिमको रसले हामीहरुको खुसी हुने आनन्दको अनुभूति गराउने काम गर्छ।
त्यो रस करिब ९० प्रतिशत पेटबाट उत्पन्न हुन्छ। १० प्रतिशत मस्तिष्कबाट निस्कन्छ। पेट अस्वस्थ भयो भने सेराटोनिन भन्ने जुन रस छ त्यो राम्रोसँग निस्कँदैन। त्यसो हुँदा हामीलाई आनन्दको अनुभूति नहुने हुन्छ। यो वैज्ञानिकहरुले विभिन्न अनुसन्धान गरेर निकालेको तथ्य हो।
पेटमा एउटा विशेष किसमको संसार छ। विभिन्न किसमका कीटाणुहरु छन्। जीवाणुहरु छन्। ढुसीहरु छन्। तिनीहरुमध्ये कीण्टाणुहरु जुन छन्, तिनलाई स्वस्थ राख्न स्वस्थ खानेकुरा खानुपर्ने हुन्छ। उनीहरु स्वस्थ हुँदा जुन रस उत्पादन गर्छ त्यसले हामीलाई आनन्द दिन्छ।
यसो हेर्दा दैनिक जीवनमा पनि हामी पेटको समस्या भयो भने हामी मानसिक रुपमा पनि चिन्तित हुन्छौँ। अथवा मानसिक रुपमा हामीलाई समस्या प¥यो वा तनाव भयो भने हाम्रो पेट पनि गडबड हुन्छ। जस्तो कुनै विद्यार्थीलाई परीक्षा नजिक आएर एकदमै तनाव भएको छ भने पेट दुख्ने, घरिघरि दिसा लागेको जस्तो हुने जस्ता समस्या देखिन्छ।
कहिले कहीँ परिवार, आफन्तका कसैको मृत्यु भएको, कोही बिरामी परेको सुन्यौँ भने हाम्रो भोक, प्यास नै हराउँछ। खानै मन नलाग्ने हुन्छ।
मानसिक अवस्थाले पेटको स्वास्थ्यमा असर पार्छ, पेटको अवस्थाताले मानसिक स्वास्थ्यमा असर गर्छ। यसबारे अझै धेरै अनुसन्धानहरु भइरहेका छन्।
यी कारणहरुलेृ गर्दा मानसिक अवस्था स्वस्थ रहन भोजनको ठूलो भूमिका छ भन्ने देखिन्छ। यस कारण पनि पत्रु खाना खानु हुँदैन स्वस्थ खाना खानुपर्छ भनेर हामीले बारम्बार भनिरहेका छौँ।
कस्तो–कस्तो खानेकुरा खाने भन्ने हुन्छ। यसको बारेमा छुट्टै छलफल गर्न सकिन्छ। साधारणतया हामीले घरमा पाक्ने खानेकुरा खानुपर्छ
आजै अस्वस्थ खाना खाएर भोलि नै मानसिक असर पर्छ भन्ने होइन। बिस्तारै समस्या देखिन्छ। अवस्थ खानाबाट उत्पन्न हुने विभिन्न रोग र त्यसको चिन्ताले हामीलाई मानसिकरुपमा पनि अस्वस्थ बनाउने त भइहाल्यो।
तपाईँको अभिमत