सिभिल अस्पतालको चार वर्षे उपलब्धी : कर्मचारी व्यवस्थापनदेखि फोहोर बिक्रीसम्म

निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले कर्मचारी व्यवस्थापनदेखि फोहोर बिक्री गरेर आर्थिक आर्जन गर्नेसम्म उपलब्धी हासिल गरेको निवर्तमान कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेलले बताउनुभयो । आइतबार आफ्नो कार्यकालका उपलब्धी सार्वजनिक गर्नुहुँदै उहाँले अस्पतालले फोहोर बचेरसमेत आर्थिक आर्जन गरेको बताउनुभएको हो ।
कर्मचारी व्यवस्थापनलाई सबभन्दा ठुलो उपलब्धीका रूपमा लिनुभएका प्रा.डा. पौडेलले फोहोर बिक्रीलाई पनि आफ्नो उपलब्धीमा समावेश गर्नुभएको हो । ‘यहाँको फोहोर बेचेर अहिले हामी पैसा कमाउँछौँ’, उहाँले भन्नुभयो, ‘फोहोर व्यवस्थापन यहाँभन्दा राम्रो अरू कहीँ पनि छैन । नगरपालिका आएर यहीँ फाहोर प्रशोधन गर्छ । यसमा नगरपालिकासँग समन्वय गरेर राम्रो आम्दानी लिइरहेका छौँ ।’
उहाँले आफू आउँदा कर्मचारीको आन्दोलन टड्कारो रहेको बताउनुहुँदै त्यसको व्यवस्थापन गरेको बताउनुभयो । १२ वर्षदेखि करारमै रहेर कार्य गरिरहेका कर्मचारीले स्थायित्वका लागि त्यतिखेर आन्दोलन गरिरहेका थिए । ‘मेरो कार्यकालमा कर्मचारीलाई स्थायित्व दिनु सबभन्दा ठुलो उपलब्धी भएको ठान्छु’, उहाँले भन्नुभयो, ‘अर्को उहाँहरूले सरकारकी स्केलको ६० प्रतिशत मात्र तलब खाइरहनुभएको थियो । त्यसलाई सरकारको तलब बराबर गरियो ।’
प्रा.डा. पौडेलले आफ्नो कार्यकालमा रेडियो थेरापी मेसिन ल्याइएको, चिनियाँ सरकारसँग विभिन्न सम्झौता भएको, कोभिड–१९ का बेला विशेष उपचार सेवा प्रदान गरेको, घाटामा रहेको अस्पताललाई नाफामा लगी चिकित्सकलाई ७५ प्रतिशत र अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता उलब्ध गराउन सक्नु लगायतका उपलब्धी भएको जानकारी दिनुभयो । त्यस्तै अस्पतालको बारेमा हालसम्म कुनै पनि दस्तावेज नबनाइएको भन्दै उहाँले ‘अस्पताल पाश्र्वचित्र–२०८१’ प्रकाशन गरिएको बताउनुभयो । पाश्र्वचित्र प्रकाशन पनि आफ्नो कार्यकालको उपलब्धी भएको उहाँको भनाइ थियो ।
प्रा.डा. पौडेल २०७७ चैत ४ गते कार्यकारी निर्देशकका रूपमा अस्पतालमा हाजिर हुनुभएको थियो । उहाँको कार्यकाल फागुन २६ गते सकिएर विदाइ हुनुभएको थियो ।


तपाईँको अभिमत