तिहारको भाइमसला : कस्ता व्यक्तिले कुन मसाला खाने ?
पुन : प्रकाशन

भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसला दिने चलन छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिन्छन् र
दिदि बहिनीले भाइमसाला दाजुभाईलाई सुस्वास्थ्य तथा दिर्घायुको कामना गरि दिन्छन् । तिहारको सांस्कृतिक परम्परा र धार्मिक विश्वास र भाइमसालाको महत्व मिल्न गएको छ । भाइमसालामा पाइने पोषण तत्वले स्वास्थ्यलाई फाइदा पुर्याउने भएकाले उक्त ड्राइ फुड्सलाई सन्तुलित बनाइ खाँदा स्वास्थ्यमा विभिन्न फाइदा पुग्दछ ।
भाइमसालामा विशेषगरि काजु, ओखर, बदाम, नरिवल, किसमिस हुन्छन् । यी फुड्सलाई पूर्ण खानेकुरा मानिन्छ । यी फुड्समा माइक्रो र म्याक्रो गरि सम्पूर्ण पोषक तत्व पाइन्छन् । सबै किसिमका पोषक तत्व जस्तै कार्बाेहाइडेट्स,भिटामिन,चिल्लो पदार्थ,प्रोेटिन, खनिज पाइन्छन् । त्यसैले यी ड्राइ फुड्स स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण लाभदायक छन् ।
एउटा फलफुल र यी ड्राइफुड खाँदासमेत शरीरलाई चाहिने सबै पोषक तत्व मिल्छ । फाइदाजनक हुन्छ । हामी यात्रा गर्दै गर्दा वा बाहिर कतै जाँदा यी ड्राइफुड्स सँगै लिएर हिड्यौ भने भोक लाग्दा बाहिरको खानेकुरा खान पर्दैन ।
बदाम
विशेषगरि ड्राइफुड्सलाई विहानको समयमा खाँदा राम्रो मानिन्छ । भाइमसलामध्ये सबैभन्दा पहिला बदामको चर्चा गर्रौ । ब्रेक फास्टमा बदाम खानु फाइदाजनक हुन्छ । बदामलाई भिजाएर खाँदा अझ राम्रो मानिन्छ । नभिजेको बदाम कसिएको हुन्छ भने भिजेको बदाम खुल्छ र यसको बोक्रा पनि सजिलै निकाल्न सकिन्छ ।
बदामको बोक्रा फालेर खाँदा अरु खानेकुरा पचाउन सजिलो हुन्छ । बोक्रामा तन्निन् भन्ने तत्व हुन्छ जसले हामीले खाएको खानेकुरालाई राम्रोसँग पचाउँदैन । त्यसैले सकियो भने रातभर अथवा कमसेकम खानुभन्दा ३/४ घण्टा अगाडि बदामलाई भिजाउँदा बेश हुन्छ । बदाममा चिल्लो पदार्थ त्यसमा पनि ओमेगा ३ पाइन्छ । बदामले स्मरण शक्ति तेज बनाउँछ ।
बदाम बृद्ध,वयस्कलाई मात्रै होइन बच्चालाई पनि स्वस्थकर मानिन्छ । बढ्दै गरिरहेका बच्चाहरुलाई बदाम खुवाउँदा उनीहरुको स्मरण शक्ति विकासमा सहयोग पुर्याउँछ । यसैगरी बदाम मुटुका लागि अत्यन्तै फाइदाजनक मानिन्छ । बदाममा पोटासियम नामको पोषक तत्व हुन्छ जसले मुटुलाई रक्षा गर्छ । यस्तै बदाममा भिटामिन 'इ' पनि पाइने भएकाले यसले छालालाई पनि स्वस्थ राख्न मद्धत पुर्याँउछ ।
बदाम दिनमा कति खाने भन्ने कुरा प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने क्यालोरी र प्रोटिनमा भर पर्दछ । तर सामान्यतया वयस्क व्यक्तिले एक पटकमा १० देखि २० ग्राम अथवा करीब ८—१० वटा बदाम खान सकिन्छ । शाकाहारी व्यक्तिले अलि बढी खान सक्छन् भने मांसहारी व्यक्तिले त्यो भन्दा कम खाँदा पनि हुन्छ । बदाम दिनमा २० ग्रामसम्म खान सकिन्छ ।
ओखर
ड्राइफुड्स सबैमा एउटै किसिमका पोषकतत्वहरु पाइन्छन् । ओखरमा ओमेगा - ३ पाइन्छ । ओखर पनि दिमाग तेज राख्न र मुटु स्वस्थ राख्न अत्यन्तै स्वस्थकर मानिन्छ ।
काजु
काजुमा कार्र्बाेहाइड्रेटको मात्रा धेरै हुन्छ । त्यसैले मधुमेहको समस्या भएका व्यक्तिले काजु एकदमै कम खानुपर्छ । उनीहरुले ओखर र बदाममा बढी जोड दिनुपर्छ । मधुमेहको समस्या भएका दाजुभाइका लागि दिदिबहिनीहरुले काजु, पेस्ता, छोकडा, किसमिसभन्दा बदाम र ओखरमा जोड दिँदा राम्रो होला । छोकडा, किसमिसमा चिनीको मात्रा धेरै हुन्छ । पेस्तामा पनि काब्रोहाइड्रेटको मात्रा धेरै हुन्छ । त्यसैले मधुमेहका बिरामीले पेस्ता, काजु, किसमिस, छोकडा नखाएकै राम्रो, खानैपरे एकदमै कम खान म सुझाव दिन्छु ।
बच्चाहरुका लागि भने काजु, बदाम, पेस्ता,छोकडा,किसममिस मिसाएर दिँदा एकदमै राम्रो हुन्छ ।
खानपानमा ध्यान दिनपर्ने कुरा :
तिहारमा विशेषगरि चिल्लो र गुलियो खानेकुराको प्रयोग बढी हुन्छ । तर अब हामी यस्ता खानेकुराबाट टाढै बसेको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हामी चाडवाडमा मासुपनि धेरै खान्छौ तर मासु धेरै खाँदा कव्जियतको समस्या हुने, ज्यान आलस्य हुने जस्ता समस्या देखिन्छन् । त्यसैले मासु खाँदा सँगसगै सलाद, साग खानुपर्छ । फलफुल जतिसकेको धेरै खानुपर्छ ।
अण्डा स्वास्थ्यका लागि अतिनै लाभदायक मानिन्छ । अण्डाको सेतो भागमा प्रोटिन हुन्छ । पहेँलो भागमा कोलेस्टोरोल पनि हुन्छ । त्यसैले मोटो व्यक्तिले पहेँलो भाग खानुहुँदैन । अण्डाको प्रोटिनमा सबैखालको पोषण पाइन्छ र शरीरले त्यसलाई सजिलै ग्रहण गर्न सक्छ ।
अन्त्यमा, हामी हर्षाैल्लासका सात तिहार मनाइरहेका छौं । खानपानमा ध्यान नदिएकै कारण विशेषगरि चाडवाड पछाडि धेरै मानिसहरु विरामी हुने गरेको पाएको छु । त्यसैले म सबैलाई खानपानमा विशेष ध्यान दिन आग्रह गर्दै सबैलाई दिपावलीको शुभकामना दिन चाहन्छु ।
(शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पोषण अधिकृतका रुपमा कार्यरत पोषणविद् वर्षा भट्टराईसँगको कुराकानीमा आधारित)
तपाईँको अभिमत