महिना नपुगी जन्मिएका शिशुको हेरचाह र उपचार कसरी गर्ने ?
विश्वभर वर्षेनी १ करोड ५० लाख शिशु समयअगाबै जन्मन्छन्। अर्थात हरेक दशमध्ये एक शिशु महिना नपुगी अथवा समयअगाबै जन्मिन्छन्।
यो संख्या बढ्दो क्रममा छ। यसरी समयअगाडि जन्मिएका शिशुमध्ये १० लाख शिशुको मृत्यु समयअगाबै जन्मिएकै कारण हुनेगर्छ।
लान्सेटले २०१९ मा प्रकाशित गरेको एक अध्यययन प्रतिवेदनले विश्वभर जन्मिने यस्ता शिशुमध्ये आधा भन्दाबढी ५२.९ प्रतिशत एसियाली मुलुकमा रहेको देखाएको छ।
संसारभर हुने नवजात शिशु र ५ वर्षमुनिका बच्चाको मृत्युको प्रमुख कारण महिना नपुगी जन्मिनुसँग सम्बन्धित् समस्या रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
भारत र बंगलादेशमाको तुलनामा नेपालमा यस्ता शिशुहरूको जन्मदर केही कम छ। अध्ययनअनुसार भारत र बंगलादेशमा १० देखि १४ प्रतिशत शिशुको जन्म महिना नपुगी हुन्छ।
नेपालमा यो संख्या ५ देखि ९ प्रतिशतसम्म छ। नेपालका विभिन्न स्वास्थ्य संस्थामा गरिएको अध्ययनअनुसार अस्पतालका नवजात शिशु कक्षमा भर्ना भएका मध्ये धेरै शिशु समयअगाबै जन्मिनेहरू हुन्छन्।
ती कक्षमा भर्ना भएका शिशुको मृत्यु हुने प्रमुख कारण नै समयअगाबै जन्म हो। यस्ता शिशुको उपचारका लागि तुलनात्मक रुपमा स्वास्थ्य संस्थाको स्रोत साधनको बढी प्रयोग गर्नुपर्ने हुन्छ। त्यति मात्र नभई, यस्ता शिशुको जन्मले परिवारमा थप आर्थिक भार र भावनात्मक असर पनि परिरहेको हुन्छ।
त्यसैले यो समस्यालाई नवजात शिशु स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीका रुपमा लिने गरिन्छ। यो समस्याबारे जनचेतना जगाउन, यो समस्या न्यूनिकरण गर्न छलफल तथा कार्ययोजना बनाउने उद्देश्यले विश्वभर हरेक वर्ष नोभेम्वर १७ का दिन 'World Prematurity Day' मनाउने गरिन्छ।
सामान्यतया गर्भ रहेको ४० हप्ता वा १–२ हप्ता कम-बढीमा शिशुको जन्म हुन्छ। यस्तोलाई महिना पुगेर जन्मेको शिशु भनिन्छ। गर्भ रहेको ३६ हप्ता वा भन्दा अगाडि जन्मियो भने त्यस्लाई समयअगाबै जन्मेको 'preterm' भन्ने गरिन्छ।
यसरी समयअगाबै जन्मिएको शिशुलाई उनीहरूको गर्भावधिअनुसार तीन समूहमा वर्गीकरण गरिन्छ।
३३ देखि ३६ हप्ता, २९ देखि ३२ हप्ता र २८ भन्दाकम।
समयअगाबै जन्मिएका शिशुहरू प्राय कम तौलका हुन्छन्। तौल अनुसार शिशुहरूको वर्गीकरण गर्दा जन्मिदा २५०० ग्राम भन्दा कम तौल भएको शिशुहरूलाई कम तौल भएका शिशु भनिन्छ।
१५०० ग्राम भन्दा कम तौल भएकालाई धेरै कम र १००० ग्राम भन्दा कम तौल भएकालाई अतिकम तौल भनिन्छ।
शिशु जन्मिँदा गर्भअवधि र तौल जति कम हुन्छ त्यति नै धेरै स्वास्थ्य समस्याको जोखिम हुन्छ।
किन जन्मिन्छ समय नपुगी शिशु ?
समय नपुगी शिशुको जन्म हुनुका पछाडि धेरै कारण हुन्छन्। धेरैजसोमा समयअगाबै सुत्केरी व्यथा लाग्नु वा पानी फुट्ने कारणले समयअगाबै बच्चा जन्मन्छ।
यो समस्या आउनुका पनि विभिन्न कारण हुन्छन्।
गर्भवतीको उमेर २० वर्षमुनि वा ३० वर्षमाथि भएमा, जुम्ल्याहा गर्भ रहेमा, धेरै वर्षको अन्तरालमा बच्चा भएमा, महिलामा पाठेघर सम्बन्धी समस्या भएमा समयअगाबै सुत्केरी व्यथा लाग्ने हुन्छ।
त्यसैगरी सक्रमणजन्य स्वास्थ्य समस्या वा दीर्घरोग जस्तैः–मधुभेह, उच्च रक्तचाप, रक्तअल्पता, थाइराइड आदि भएमा, गर्भावस्थामा गह्रौँ सामान उठाउँदा, चुरोट–सुर्ती सेवन गर्दा जस्ता कारणले समयअगाडि सुत्केरी व्यथा लाग्न सक्छ।
कुनै अवस्थामा आमा तथा बच्चाको स्वास्थ्यमा असर पार्ने खालका अप्ठेरो स्थिति हुँदा पनि शिशुलाई चाँडै जन्म गराउनु पर्ने हुन्छ।
गर्भमा शिशु निसास्सिँदा, गर्भमा शिशुको वृद्धि विकास नहुँदा, आमालाई कुनै जटिल स्वास्थ्य समस्या देखिँदा शल्यक्रिया वा औषधिको प्रयोग गरी व्यथा लगाएर समयअगाबै शिशुको जन्म गराइन्छ।
यस्तो बेला सम्भव भएसम्म गर्भअवधिलाई लम्ब्याउन कोसिस चाँही गरिन्छ।
अविध नपुगी जन्मिएका शिशुको हेरचाह/उपचार
समयअगाबै जन्मेको शिशुहरूको शरीर बाहिरी वातावरणमा जीवनयापन गर्न अपरिपक्क हुन्छ। यही कारण यस्ता शिशुहरूको स्वास्थ्यमा बढी जोखिम हुन्छ।
यी शिशलाई आमाको दूध खुवाउने, न्यानो राख्ने चुनौती देखि, श्वासप्रश्वास सम्बन्धी समस्या, संक्रमण, जण्डिस, आन्द्रा सम्बन्धी समस्या, मस्तिष्कमा रक्तश्रावजस्ता समस्या हुनसक्छन्।कतिपय अवस्थामा यी समस्याको उपचार गर्दागर्दै शिशुहरूको मृत्यु हुन्छ।
अर्कोतिर श्वासप्रश्वास सम्बन्धी समस्याका लागि अक्सिजन दिँदा आँखाको ज्योतिमा समस्या आउने पनि हुन्छ। यी सबै समस्या र मृत्युको जोखिम ३२ हप्ता भन्दा कम अवधिमा जन्मिएका शिशुमा बढी हुन्छ।
३२ देखि ३६ हप्तामा जन्मिएका शिशुमा पनि समय पुगेर जन्मिएका शिशुको भन्दा मागि उल्लेखित समस्याको जोखिम धेरै हुन्छ।
यस्ता विभिन्न जोखि झेल्दै बाँच्न सफल शिशुहरूमा शारीरिक विकासका दीर्घकालीन समस्या देखिन सक्छन्। शारीरिक अपांगता, सिकाइ क्षमतामा कमी, श्रवण र दृष्टिमा समस्या, व्यवहार सम्बन्धी समस्या देखिन सक्छन्।
यी समस्याहरूलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि योजन अघि सारेको छ।
सम्बन्धित निकायको सहकार्यमा सन २०१५ र २०१९ मा भएका अध्ययनका प्रमाणका आधारमा सुलभ र सघन अवस्थामा प्रभावकारी उपचार र हेरचाह विधिहरू तथा उपचार निर्देशिका सुझाएका छन्।
जुन विकाशील र कम विकसित देशका लागि अत्यन्त उपयोगी छन्। यो निर्देशिका अनुसार उपचार सेवा दिँदा सकेसम्म समय अगाबैको जन्मलाइ रोक्ने प्रयत्न गरिन्छ।
यदि सम्भव नभई शिशुको जन्म भइहालेमा उचित उपचार र हेरचाह गरी जोखिम रोकथाम र व्यवस्थापन गर्ने विधिहरूको प्रयोग गरिन्छ।
विश्वभर र नेपालमा यस्तो अवस्थाको गर्भवती महिला र शिशुको उपचार त्यही विधिका आधारमा गरिन्छ।
यी उपचार सेवाहरू गर्भअवधि, गर्भावती महिलाको स्वास्थ्य अवस्था, शिशु जन्मिसकेको भए, उसको जन्मअवधि, तौल, स्वास्थ्य आदिको मूल्यांकन गरी उपचार दिइन्छ।प्रसूति सेवा भएको अस्पताल तथा प्रसूति केन्द्रबाट यो सुविधा दिइन्छ।
हालको स्वास्थ्य संरचनामा प्रत्येक वडा तथा पालिकामा रहेका प्रसूति केन्द्रमा दक्ष स्वास्थ्यकर्मीबाट यो सेवा दिइन्छ। जटिल अवस्था भएमा उपयुक्त स्वास्थ्य संस्थामा रेफर गरिन्छ।
गर्भवती महिलाले आमा सुरक्षा कार्यक्रम अनुसार निशुल्क उपचार पाउने व्यवस्था साथै सुत्केरी हुँदा सुत्केरी भत्ता पनि पाउने व्यवस्था छ।
समयअगाबै शिशु जन्मिएमा बच्चाको गर्भअवधि, जन्म तौल र स्वास्थ्य समस्याको मूल्यांकन गरी आवश्यकताअनुसार शिशुलाई नवजात शिशु कक्षमा अथवा आमासँगै राखेर उपचार गर्नुपर्ने हुन्छ।
स्वास्थ्य समस्याको गम्भीरताका आधारमा हेरी बिरामी नवजात शिशु कक्ष(एसएनसीयू वा संघन नवजात शिशु कक्ष(एनआइसीयू) मा राखी हेरचाह तथा उपचार गर्नुपर्ने हुन्छ।
बच्चाको अवस्थाअनुसार उपचार पद्धति फरक–फरक हुन्छन्। बालरोग विशेषज्ञको नेतृत्वमा डाक्टर, नर्सहरू तथा अन्य स्वास्थ्यकर्मीको टोलीले उपचार गर्छ।
नेपालमा यस्ता कम तौलका र बिरामी वच्चाको उपचारका लागि हरेक जिल्ला अस्पतालमा नवजात शिशु उपचार केन्द्र साथै केन्द्रीय, प्रदेश तथा अन्य अस्पतालमा संघन नवजात शिशु उपचार केन्द्र सञ्चालन गर्ने लक्ष अनुसार यस्ता सुविधा उपलब्ध छन्।
ती अस्पतालबाट आवश्यकता अनुसार बिरामी बच्चालाई रेफर गर्ने प्रणाली पनि छ। नेपाल सरकारले नवजात शिशुको उपचारका लागि पनि निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
यसलाई केही परिमार्जनको आवश्यकता देखिन्छ। केन्द्रीय स्तरका सरकारी र शिक्षण अस्पतालमा यो सेवा उपलब्ध नहुँदा त्यहाँ आउने शिशुका परिवार समस्यामा परेको म स्वयंले गरेको अध्ययनले देखाएको छ।
समयअगाबै र कम तौलमा जन्मेका शिशुलाई ‘कंगारु केयर’(मायाको अंगालो) अत्यन्त प्रभावकारी, सस्तो र सुलभ उपचार विधि हो। विश्व स्वास्थ्य संगठनको २०१५, २०१९ को समय अगाडि जन्मेका र कम तौल भएका शिशुहरूको उपचार निर्देशिकाको महत्वपूर्ण वुँदामा यो पद्धति पर्दछ।
मायाँको अंगालोसँग आमाको दूध खुवाउँदा बच्काका लागि आवश्यक पर्ने प्राय सबै शारीरिक क्रियाकलाप र वृद्धि, विकास र वात्सल्यका लागि आवश्यकता पूरा हुन्छन्।
यसलाई शुरुमा शितांग (hypothermia) रोकथाम गर्न र तौल बढाउन प्रयोग गरिन्थ्यो। विभिन्न अध्ययनहरूले यसको महत्वमा बच्चाको वौद्धिक विकास, आमा–बच्चाको आत्मीय सम्बन्ध र आमाको मानसिक स्वास्थ्य समेत उल्लेख गरेका छन्।
यही कुरालाई मनन गरी यस वर्ष (सन २०२२) को विश्व प्रिम्याच्यूरिटी दिवस को विषयवस्तु ‘मायाको अंगालो’ को बारेमा रहेको छ।
जसमा शिशुलाई आमा बुबाले आफ्नो नांगो छातीमा बच्चाको नांगो शरीर टॉसेर गरिने हेरचाहलाई प्रभावकारी उपचार विधिको रुपमा प्रस्तुत गरिएको छ।
नेपालमा पनि यो विधि धेरै वर्ष अघिदेखि प्रयोग भइरहेको छ। तर जति प्रभावकारी रुपमा यसको अभ्यास हुनुपर्ने हो त्यो नभएको अध्ययनहरूले देखाएको छ।
लेखक स्वयंले विभिन्न अस्पतालमा गरेको अध्ययनअनुसार अस्पतालहरूमा यस प्रयोजनका लागि बेडको कमी, स्वास्थ्यकर्मी तथा अन्य स्रोत साधनको कमी छ।
जुन अस्पतालमा यसै प्रयोजनका लागि भनेर ठाउँ छुट्टयाइएको छ र कंगारु केयर बेड उपलब्ध छ, त्यहाँ राम्रो अभ्यास भएको देखिन्छ।
नेपालका नवजात शिशुको उपचार र हेरचाहमा केही सकारात्मक पहलहरू भएका छन्।
जस्तै नवजात शिशुको स्वास्थ्य सेवा विकासका लागि समयमै रणनितिक कार्ययोजना बनेका छन्। सरकारी र गैरसरकारी संस्थाहरूले नवजात शिशु सेवालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नु, देशका ग्रामीण क्षेत्रसम्म कम्तिमा न्यूनतम सेवा विस्तार हुनु, निशुल्क उपचार आदिले शिशुको उपचार सेवामा सकारात्मक प्रभाव पारेको छ।
त्यसैगरी, हालै परोपकार प्रसुति तथा महिला रोग अस्पतालमा स्थापना भई सञ्चालन भएको ‘अमृत कोष’ पनि शिशुको उपचार, सेवाका लागि सह्रानीय पहल हो।
गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा धेरै चुनौतिहरू छन्। लेखकले नेपालका विभिन्न अस्पतालमा गरेको अध्ययन अनुसार नवजात शिशु कक्षमा तोकिएको मापदण्ड भन्दा अतिन्यून स्वास्थ्यकर्मीको व्यवस्था रहेको देखियो।
सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम तथा व्यवसायिक सीप कमी पाइयो। साथै आवश्यक स्रोत, साधनको पनि कमी थियो।
जुन अन्तर्राष्ट्रिय तबरबाट नेपाल लगायतका विकासोन्मुख देशमा गरिएका अध्ययनका निष्कर्षस‘ग मेल खाएका छन्।
आगामी दिनमा नीति निर्माण तहमा रहेका व्यक्तिहरूले यस्ता कुरामा उचित ध्यान दिन जरुरी देखिन्छ।
तब मात्र समय अगाबै जन्मिएका कम तौलका र बिरामी शिशुका लागि स्वास्थय सेवा गुणस्तरीय र प्रभावकारी हुनसक्छ। यसबाट मात्रै शिशुको दीर्घकालीन स्वास्थ्य समस्या, अपांगता र मृत्युदरमा कमी आउनसक्छ।
तुम्ला श्रेष्ठ
तपाईँको अभिमत