'श्रीमान् र सासुआमालाई धन्यवाद !'

यही चैत्र ११ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौ दीक्षान्त समारोह सम्पन्न भयो । समारोहमा २०८० असार–साउन देखि २०८१ वैशाख–जेठ सम्ममा उत्तीर्ण स्नातकोत्तर र स्नातक तहका विद्यार्थी दीक्षित हुनुभयो ।
समारोहमा काखे छोरा लिएर ब्याचलर इन नर्सिङ साइन्स क्रिटिकल केयर उत्तीर्ण गर्नुभएकी सपना ज्ञवाली श्रीमान्सँगै भेटिनुभयो । पीसीएल नर्सिङ गरेर विवाह गर्नुभएकी उहाँले स्नातक गर्ने रहर पूरा गर्नुभएको हो । आफ्नो रहर र सपना पूरा गर्न पाउँदा उहाँ निकै हर्षित हुनुहुन्थ्यो ।
प्रस्तुत छ ज्ञवाली र उहाँका श्रीमान् पद्मनाभ ढकालसँग गरिएको सङ्क्षिप्त कुराकानीको अंश :
श्रीमान् र सासुआमालाई धन्यवाद ! : सपना ज्ञवाली
म एकदमै हर्षित छु । मेरो श्रीमान् र उहाँको परिवारको साथ र सहयोगले आज स्नातक तह पूरा गर्न पाएकी छु ।
बिहे गरेपछि पनि पढ्ने इच्छा थियो । त्यो पूरा गर्न पाएकी छु । उहाँ (श्रीमान्) र उहाँका आमा अर्थान् मेरी सासुआमालाई यस अवसरका लागि धेरैधेरै धन्यवाद दिन्छु ।
यता माइतपट्टिबाट पनि एकदमै सहयोग र साथ रह्यो । बुवाआमाले पहिले पीसीएल पढाइदिनुभयो । अनि जागिर गर्न थालेँ । विवाह भयो । त्यही जागिर गर्दै स्नातक तह गरेँ । बुवाआमाप्रति कृतज्ञ छु । यो कृतज्ञता व्यक्त गर्नै सकिदैन ।
काम गर्दा सजिलो र अप्ठ्यारो दुवै हुन्छ । मलाई पनि त्यस्तै भयो । दुवै चुनौतिलाई सामना गरेर यो सफलता प्राप्त गर्न सकेँ ।
छोरी छोराभन्दा ठुलो छिन् । तर शारिरीक रूपमा ऊ अशक्त छ । यसले गर्दा पनि अर्को चुनौति थियो । उनको रेखदेख गर्नुपर्ने, पढाइलाई पनि समय दिनुपर्ने र जागिरसमेत गर्नुपर्ने चुनौति थियो ।
कति रात निद्रा पूरा गर्न पाइएन होला । कति छाक समयमा खान पाइएन होला । सङ्घर्ष, चुनौतिका त कुरो धेरै नै छन् ।
मलाई साथ दिनुहुने आमा हुनुहुन्छ । आमाले छोराछोरीलाई हुर्काउन सहयोग गर्नुभएको छ । आमाको सहयोग थिएन भने त यो सम्भव नै थिएन ।
विहेअघि नै ब्याचलर इन नर्सिङ गर्न पाउनुपर्छ भन्ने उनको इच्छा थियो : पद्मनाभ ढकाल (श्रीमान्)
श्रीमतीले स्नातक गर्दा मलाई अत्यन्तै हर्ष लागेको छ । उनको इच्छा विहेअघि नै पनि ब्याचलर इन नर्सिङ गर्न पाउनुपर्छ भन्ने थियो । श्रीमती र मेरो एउटै क्षेत्र भएकाले पनि अलि सहज भयो होला ।
फेरि उनी पढ्नमा अलि टाठो छ । उनले एकैपटकको प्रयासमै सरकारी छात्रवृत्तिमा नाम निकाल्न सकिन् । सरकारी कर्मचारी पनि हो । छात्रवृत्ति पाएर भरतपुर, चितवनमा पढ्न पाइन् । सरकारी तलबसहित उनले पढ्न पाएको छ ।
उनले निकै ठुलो लगनशीलता देखाइन् । त्यही लगनशीलताकै प्रतिफल अहिले पाएकी छिन् ।
मैले खासै के गर्न सकेँ र ? कुनै वेला आर्थिक सहयोग गरेँ । बालबच्चाको रेखदेख त मैले कति न गर्न सक्थेँ र ? आफै पनि सरकारी जागिरे हुँ । म जनस्वास्थ्य अधिकृत हुँ । मैले दिन सकेको भनेको सानोतिनो हौसला हो । समस्याहरू आएका वेला ढाडस दिने हो ।
अझ उनले मास्टर्स गरेको देख्ने इच्छा छ । धेरै पनि छैन । अब दुई वर्ष खर्चिए त्यो पनि पूरा हुनेछ ।
तपाईँको अभिमत