‘कोरोना भाइरस पनि रुघाखोकी जस्तै सामान्य हुन सक्छ’

काठमाडौं । विभिन्न देशहरुमा कोरोना भाइरसको नयाँ–नयाँ रुप देखा परिहेका छन् । बेलायत, दक्षिण अफ्रिका र नाइजेरियामा गरि कोरोना भाइरसको फरक–फरक ३ प्रजाति फेला परेका छन् । दक्षिण अफ्रिका र नाइजेरियामा देखिएको भन्दा बेलायतमा पहिचान भएको प्रजाति छिटो गतिमा फैलनसक्ने अध्ययनहरुले देखाइसकेका छन् । बेलायतमा फेला परेको कोरोनाको नयाँ प्रकार पहिलाको भन्दा ७० प्रतिशत बढी संक्रामक रहेको विज्ञहरुले बताउदै आएका छन् ।
नयाँ प्रजाति पहिलाको भन्दा बढी संक्रामक हो तर कम खतरनाक हो ।
भारत, जापान, बेलायत, अमेरिका, फ्रान्स, क्यानडा लगायत १५ भन्दा बढि देशमा कोरोनाको नयाँ प्रजाति भेटिएका छन् । भारतमासमेत नयाँ प्रजाति देखिएपछि नेपाल पनि नयाँ प्रकारको कोरोनाको जोखिममा रहेको छ । खुल्ला सिमानाकाका कारण सजिलै भाइरस सर्नसक्ने जोखिम छ । यसै सन्दर्भमा हामीले ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख एवं वरिष्ठ भाइरोलोजिष्ट डा. वासुदेव पाण्डेससँग कुरा गरेका छौँ ।
नयाँ प्रकारको कोरोनाको चर्चा निकै भइरहेको छ, के हो नयाँ प्रकारको कोरोना ?
कुनै पनि भाइरस बिस्तारै म्यूटेशन हुँदै उसले आफ्नो स्वरुप परिवर्तन गरिरहन्छ । म्यूटेशन हुने र आफूलाई नरम बनाउँदै लैजान्छ । यो मेरो तथ्य होइन, विज्ञानले प्रमाणित गरेको कुरा हो । अहिले चर्चा भइरहेको नयाँ प्रकारको भाइरस पनि कोरोना भाइरसको परिवर्तित स्वरुप हो ।
नयाँ प्रजातिको भाइरसबाट गम्भीर बिरामी हुने दर न्यून छ ।
नयाँ प्रकारको भाइरसबाट नेपाल कति जोखिममा छ ?
बेलायतबाट आएका ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको नयाँ प्रजातिको भाइरसको संक्रमण हो की पुरानै हो भन्ने विषयमा अनुसन्धान गर्न जिन सिक्विन्सिङ गर्नुपर्छ । जिन सिक्विन्सिङको लागि नेपालमा स्रोत साधन नभएकाले हङकङ स्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा नमुना पठाउने तयारी भएको छ ।
अहिलेसम्म नेपालमा नयाँ प्रजातिको भाइरस भित्रिएको एकिन भएको छैन । तर सचेत हुन जरुरी छ । म सर्वसाधारणलाई अनुरोध गर्छु, जनस्वास्थ्यका मापदण्ड (सही तरिकाले मास्क लगाउने, कम्तिमा २ मिटरको भौतिक दूरी कायम राख्ने र बेला–बेलामा साबुन पानीले हात धुने तथा सेनेटाइज गर्ने लगायतका जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गर्नुहोस् ।
नयाँ प्रकारको भाइरस कति खतरनाक हुन्छ ?
मैले गरेको अन्य भाइरसहरुको अध्ययन र अनुभवले के बताउछ भने भाइरसहरु म्यूटेड हुने र नरम हुँदै जाने भएकाले कालान्तरमा कोरोना भाइरस पनि रुघाखोकी जस्तै सामान्य हुन सक्छ । जस्तै पहिलो पटक स्वाइन फ्लू (इन्फ्लुएन्जा) फैलिँदा पनि अहिलेको जस्तै महामारी भएको थियो । अहिले इन्फ्लुएन्जा समुदायमा सामान्य रुघाखोकीका रुपमा स्थापित भइसकेको छ ।
अहिलेसम्मको अवस्था हेर्दा, नयाँ प्रजाति पहिलाको भन्दा बढी संक्रामक हो तर गम्भीर बिरामी हुने तथा मृत्युदर कम भएकाले पहिलेकाे खतरा कम हो । किनकी बेलायतमा गरिएको एक अध्ययनले नयाँ प्रजातिको भाइरसबाट गम्भीर बिरामी हुने दर न्यून साथै मृत्युदर पनि कम रहेको तथ्य देखाएको छ ।
अहिले कोरोनाको स्वरुप परिवर्तन हुँदा संक्रमणदर बढे पनि कोरोनाको असर भने घटेको देखिन्छ । यसको अर्थ के हो भने भाइरस सामान्यकरणतर्फ उन्मुख भएको देखिन्छ । भाइरसको असर यसरी नै विस्तारै घट्दै जान्छ । यो भाइरसको विशेषता हो । यद्यपि कोरोनाको नयाँ प्रजातिबारे विश्व स्वास्थ्य संगठनले अनुसन्धान गरिरहेको छ केही दिनमा यसबारे एकिन तथ्य बाहिर आउनेनै छ ।
पहिलाको भाइरस र अहिले देखिएको भाइरस बीच फरक कसरी छुट्याइन्छ ?
जिन सिक्विन्सिङ गरेर पहिलाको भाइरस र अहिले देखिएको भाइरसको गुण जाँचिन्छ । यसमा मानिसको बंशाणुगत गुण हेर्न डिएनए जाँच गरेको जस्तै भाइरसको गुणको जाँच गरिन्छ । सजिलो भाषामा भन्नुपर्दा, पहिलाको भाइरस र अहिलेको प्रजातिको विशेषतामा आएको फरकपन हेर्ने हो ।
तपाईँको अभिमत