एक्सरे, सिटी स्क्यान गर्दा फिल्मको प्रयोग हटाउने निर्णय, १ अर्ब विदेशिनबाट जोगिने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गर्नुभएको छ । यस निर्णयअनुसार अब २२ संघीय अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउने छन् ।
फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत घटाउने गरी पौडेलले आज मन्त्रीस्तरीय निर्णय गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
यो निर्णयबाट नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम हुने दावी मन्त्री पौडेलको छ ।
स्वास्थ्यका लागि समेत हानिकारक मानिने एक्सरे फिल्म प्रयोगमा भइरहेको ठूलो धनराशी खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार यो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग अन्य तहका अस्पताल र निजी अस्पतालमा समेत विस्तार गर्ने योजना छ ।
हाल वीर अस्पतालले मात्रै वर्षमा करिब चार करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको छ । यसैगरी कान्ति बाल अस्पतालमा करिब तीन करोड रुपैयाँ फिल्मका लागि खर्च हुन्छ ।
यो निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब एक अर्ब रुपैयाँ रकम विदेशिनबाट रोकिने अनुमान गरेका छौँ’ डा.बुढाथोकीले भन्नुभयो, ‘यसले नागरिकलाई रेडियोलोजी सेवामा लागतसमेत कर्म पर्ने र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने अपेक्षा गरेका छौँ।’
हेल्थपाटी 
तपाईँको अभिमत