डाक्टर नै नबस्ने कर्णालीमा अब रोजी-रोजी, १५ जिल्लाका विद्यार्थी जुम्लामा

दुर्गम क्षेत्रको स्वास्थ्य र शिक्षाको विकास गर्न तत्कालीन कर्णाली अञ्चलको जुम्लामा १० वर्ष अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)को स्थापना गरियो । २०६८ कार्तिक ३ गते स्थापित कास २०६९ कार्तिक १५ गते विधिवत् रुपमा सञ्चालनमा आयो । उतिबेला जम्मा ३ जना डाक्टरको भरमा पुरानै संरचनामा प्रतिष्ठान स्थापना गरिएको थियो ।
अहिले प्रतिष्ठानमा सय जनाभन्दा बढी डाक्टर । यस वर्षदेखि कर्णाली प्रतिष्ठानले आफैँ डाक्टर उत्पादन गर्न सुरु गरेकाे छ ।
प्रतिष्ठानले कर्णाली प्रदेशका जिल्लाका अलवा सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लाको स्वास्थ्यलाई समेत हेरेको छ ।
सुगमका स्वास्थ्य संस्थाका सेवाभन्दा गुणस्तरीय विशेषज्ञ सेवा, कर्णालीमा उपलब्ध छ । प्रतिष्ठानसँग ३०० बेडको अस्पताल छ ।
९ वर्ष अघिसम्म एक जना डाक्टर बस्न नमान्ने कर्णालीमा अहिले रोजी-रोजी डाक्टर पाइन्छन् । सामान्य उपचारका लागि समेत अन्यत्र धाउनु पर्ने कर्णालीवासीले अहिले रोग अनुसारको विशेषज्ञ सेवा पाइरहेका छन् ।
यो संख्या अब बढ्दै जाने देखिएको छ । किनकी कर्णालीमै एमडीसँगै एमबीबीएस पढाइ सुरु भएको छ ।
काठमाडौंसहितका १५ जिल्लाका विद्यार्थी एमबीबीएस पढ्न कर्णाली प्रतिष्ठान पुगेका छन् । पहिलो ब्याचको एमबीबीएस कक्षामा छात्रा ७ र छात्र १२ जना छन् । पहिलो ब्याच एमबीबीएस पढ्ने काठमाडौं, सिरहा र रुपन्देहीबाट २-२ जना विद्यार्थी एमबीबीएस पढ्न कर्णाली पुगेका छन् ।
दैलेख, धनुषा, काभ्रेपलाञ्चोक, सप्तरी, बैतडी, नवलपरासी पूर्व, सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, बारा, स्याङजा र महोत्तरीबाट १-१ जना कर्णाली पुगेका छन् ।
कर्णालीमा यतिसम्म विकास गराउन पहल गर्नेहरु एमबीबीएस पढाइ सुरु हुनुलाई जहाज अवतरण भएको तर उडान भर्न बाँकी रहेको ठान्छन् । प्रतिष्ठानको सपना देखेर साकार पार्न अहोरात्र लाग्नुभएका मध्ये एक नरेश भण्डारी चट्टान र पहरालाई छिचोल्दै बल्ल-बल्ल जहाज अवतरण गरेको बताउनुहुन्छ ।
'बल्ल जहाज अवतरण भयो, अझै थुप्रै उडान भर्न बाँकी छ' भण्डारी कर्णाली प्रदेशसभा सदस्य समेत रहनुभएका भण्डारी भन्नुहुन्छ, 'अरु फ्याकल्टी पनि थप्नुपर्छ । अझै गुणस्तरीय सेवा र शिक्षा प्रदान गर्न बाँकी नै छ ।'
शहरमा बिरामी पठाउने कर्णाली अब देशका लागि डाक्टर उत्पादन गर्नसक्ने बनेको र अस्पताल नै नटेकी अकाल ज्यान गुमाउनु परेका कर्णालीबासीले रोजी-रोजी डाक्टर पाउन थालेको भण्डारी बताउनुहुन्छ ।
प्रतिष्ठानको सपना
शवको पोष्टमार्टम गर्नसमेत नेपालगञ्जदेखि डाक्टर बोलाउन पर्ने, हत्तपत्त डाक्टर नै नआउने र कयौं दिनसम्म शव कुहिएर रहने हृदयविदारक दृश्य देखेपछि भण्डारीले कर्णालीको स्वास्थ्य सुधार गर्ने प्रण गर्नुभयो ।
उहाँले २०६४ सालमा दुर्गमको स्वास्थ्य शिक्षा विकासका लागि प्रतिष्ठान मोडलको सपना देखेर यसलाई स्थापना गर्नैपर्छ भनी लाग्नुभयो ।

प्रतिष्ठानका लागि उहाँले संसदमा प्रतिष्ठान विद्येयक प्रस्तुत गर्नुभयो । जतिबेला नेपालमा धरान र काठमाडौंमा मात्रै विश्वविद्यालय स्तरको स्वास्थ्य संस्था थियो । त्यो विधेयक पारित भयो । संसदीय इतिहासमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पहिलो त्यस्तो विधेयक बन्यो जुन विधेयक एक जना सांसदले दर्ता गरेर त्यही विधेयकलाई सरकारले पारित गरेको थियो ।
विद्ययेक पारित हुन नदिन उच्च पदस्थ व्यक्तिहरु नै लागिरहे । उक्त विद्ययेक पारित भएमा आत्मदाहसम्मको धम्की खेप्नुपरेको भण्डारी स्मरण गर्नुहुन्छ ।
कर्णालीको भरोसा र मुलुकको आशा
बल्लबल्ल प्रतिष्ठान स्थापना त भयो तर पनि उनीहरुले पत्याएनन् । असाधारण संघर्षको प्रतिफलस्वरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेको भण्डारी बताउनुहुन्छ ।
स्थापनाको झण्डै एक दशकपछि प्रतिष्ठान कर्णालीको भरोसा र मुलुकको आशा बनेको उहाँको बुझाइ छ । कर्णालीमा प्रतिष्ठान निर्माण भई डाक्टर उत्पादनमा अग्रसर हुनुले समग्र स्वास्थ्य प्रणालीलाई नै चुनौती दिएको उहाँको दाबी छ । 'विश्वमै पिछडिएको क्षेत्रमा प्रतिष्ठान मोडल कम छ । यो अवस्थामा कर्णालीमा डाक्टर उत्पादन हुनुले काठमाडौंभन्दा बाहिर पनि डाक्टरी पढाइ हुन्छ है भन्ने सन्देश दिएको छ' भण्डारी भन्नुहुन्छ ।
अनि एमबीबीएस पढाइ सुरु
कर्णालीमा डाक्टरी पढाइ सुरु हुँदा, प्रतिष्ठानको जन्मभएदेखि नै कर्णालीमा चिकत्सकीय सेवा दिदैँ आउनुभएका डा.मंगल रावल पनि उत्तिकै खुसी हुनुहुन्छ ।
कर्णालीमै जन्मनुभएका रावल आफ्नो दुर्गम क्षेत्रमा विश्वविद्यालय स्तरको स्वास्थ्य संस्था निर्माण हुनु ठूलो गौरबको कुरा भएको ठान्नुहुन्छ । उहाँ कासमा विशेषज्ञ अध्ययन(एमडी) गर्ने पहिलो ब्याचको विद्यार्थीसमेत हुनुहुन्छ ।
एमडी पढ्दै गर्दा कर्णालीमा एमडी मात्र किन एमबीबीएसको पढाइ किन नहुने भन्ने प्रश्नले रावललाई बारम्बार पिरोलिरहन्थ्यो । सामान्य चिकत्सकको हैसियतमा बिरामीको उपचार गरिरहँदा नै एमबीबीएस पढाइ हुनुपर्छ भनेर पहल गरिरहनुभएका रावल ६ महिना अगाडि प्रतिष्ठानको नेतृत्वमा पुग्नुभयो ।
डा.मंगल रावल ।
२३ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँ प्रतिष्ठानको उपकुलपति बन्नुभयो । उपकुलति भएलगत्तै चिकित्सा शिक्षा आयोगबाट निरीक्षण टोली बोलाएर रावलले एमबीबीएस पढाइको अनुमतिका लागि कसरत गर्नुभयो । कर्णालीले देशलाई नै समृद्ध बनाउनेमा उहाँ विश्वस्त हुुनुहुन्छ । शहरका मानिसले मात्रै डाक्टरी पढ्न सक्छन् भन्ने जकडिएको मान्यतालाई कर्णालीले उखालिदिएको रावलको तर्क छ ।
'घर आँगनमै डाक्टरी पढ्न पाउने दुर्गमबासीको सपना साकार भएको छ, उहाँ सुनाउनुहुन्छ । प्रतिष्ठानमा हाल ४५ जना विशेषज्ञ, ३२ जना मेडिकल अफिसर, १३१ जना नर्ससहित ४ सय बढी कर्मचारी रहेका छन् ।
त्यतिमात्रै होइन देशमै सबैभन्दा खराब हुने गरेको कर्णालीको मानव सूचकांकको अवस्थामा अहिले सुधार आएको रावल बताउनुहुन्छ । वर्षाैदेखि शहरमा बिरामी पठाँउदै आएको कर्णालीले कोभिडको बेला प्रतिष्ठानबाट नेपालगञ्ज डाक्टर पठाएर आइसब्रेक गर्यो ।
पूर्वाधार र संरचना अञ्चलस्तरीय, जनशक्ति कम
उपकुलपति रावलका अनुसार प्रतिष्ठान भइकन पनि पूर्वाधार र संरचना अझैपनि अञ्चलस्तरीयनै छ । अस्पतालमा एड्भान्स ल्याब छैन । जनशक्ति अझै पनि कम छ । विशेषज्ञ चिकित्सक अझै पुगेको छैन । स्वीकृत ११० जना विशेषज्ञ चिकित्सकमध्ये ४५ जनाको मात्रै पदपूर्ति भएको छ ।
आँखा रोग, मानसिक रोग, प्याथोलोजिष्ट, नाँक कान घाँटी, छाला रोग विशेषज्ञ ४/४ जनाको दरबन्दी छ तर अहिले एक-एक जना विशेषज्ञ मात्रै हुनुहुन्छ ।
यसैगरी नर्सिङ शिक्षा अन्तर्गत रहेको एक प्रोफेसरको दरबन्दी अझै रिक्त छ । ओपिडी, ल्याबको छुट्टै भवन छैन ।कर्मचारीहरुलाई बस्न भवन छैन । जसका कारण अझै कर्णालीमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई टिकाउन गाह्रो देखिएको छ । अझैपनि बाटो, विजुली र इन्टरनेटको विकास पर्याप्त नभएकाले स्वास्थ्य सेवा र शिक्षा प्रवाहमा केही कठिनाइ छ ।
२० सिटले पुग्दैन
स्थापनाको १० वर्षपछि एमबीबीएस सुरु हुनुलाई धेरै ढिला भएको उपकुलपति रावल बताउनुहुन्छ । यद्यपी ढिलै भएपनि कर्णालीमा एमबीबीएस पढाइ सुरु हुनु देशको स्वास्थ्यमा नयाँ कोशेढुंगा रहेको तर्क उहाँको छ ।
२० सिटको एमबीबीएस पढाएर प्रतिष्ठान स्थापित नहुने रावल बताउनुहुन्छ । प्रतिष्ठानसँग ५० सिट क्षमता रहेकोले अर्काे वर्षदेखि बढाएर ५० सिटमा पुर्याउनुपर्ने माग उहाँको छ । यसलाई देशकै एक उत्तम स्वास्थ्य शिक्षाको संस्थाका रुपमा विकास भएको हेर्ने सपना उहाँको छ ।
यसका लागि आफू नेतृत्वमा हुँदा योजना बनाएर लागिपरिरहने प्रतिवद्धता रावलले जनाउनुभयो । यसो गरे अबको १० वर्षभित्र कास अन्तर्राष्ट्रिय स्तरकै स्वास्थ्य शिक्षण संस्था बन्ने दावी उहाँ गर्नुहुन्छ ।
डाक्टरी पढ्न चीन, मरिससमा लार्खाै खर्चिरहेको अवस्थामा स्वच्छ वातावरण, सुन्दर र शान्त ठाउमा गुणस्तरीय शिक्षा दिन सके विदेश जाने विद्यार्थी नेपालमै रोकिने रावल बताउनुहुन्छ । आगमी वर्षदेखि पिएचडीको पढाइ हुने उहाँले जानकारी दिनुभयो।
करिब ७ लाख जनसंख्या ओगट्ने यस क्षेत्रमा प्रतिष्ठानको अस्पतालले पूर्ण रूपमा काम गर्न सकेको खण्डमा प्रतिष्ठानले दीर्घकालीन रूपमै एमबीबीएस, एमडी, एमएस मात्र नभई डीएम, एमसीचए, पीएचडी लगायतका कार्यक्रम शुरु गर्न सक्नेछ ।

अनुसन्धानमा पनि लाग्ने
प्रतिष्ठान स्वास्थ्य सेवा र शिक्षाको मात्रै केन्द्रविन्दु नरहेको भन्दै यसलाई अनुसन्धानमुलक संस्थाको रुपमा पनि अघि बढाउने उपकूलपति डा.रावल बताउनुहुन्छ । 'बहुमूल्य जडिबुटीको स्रोत कर्णालीमै छ । यहाँका जडीबुटी विदेशमा बेचिन्छ र त्यही जडीबुटीलाई औषधिका रुपमा फेरि नेपालले किनिरहेको अवस्था छ । त्यसैले फार्मेसी अनुसन्धानतर्फ पनि लागि रहेका छौँ' रावल भन्नुहुन्छ ।
विभिन्न कार्यक्रममा पढाइ
हाल प्रतिष्ठानमा स्नातकोत्तर पिजीमा पहिलो ब्याचमा एमडीजीपी ३, पेडियाट्रिकमा १, एनेस्थेसियामा १ जना अध्ययनरत छन् ।
यस्तै स्नातक तहमा एमबीबीएसमा २०, बी फर्मामा २०, पब्लिक हेल्थ तेस्रो ब्याच ५९, बीएमएस दोस्रो ३६, बीएनसमा २० जना पढिरहेका छन् ।
यसैगरी नर्सिङकाे सातौँ ब्याचमा २४०, जनरल मेडिसिनको पाचौँ ब्याचमा १९२, फार्मेसीमा पहिलो ब्याचमा ३१ जना विद्यार्थी छन् ।
तपाईँको अभिमत