डा.वसन्त मृत्यु प्रकरण : 'डर्माटोजोली'को रटान, योग्यताक्रममा अन्याय
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी) अध्ययन सुरु गर्नुभएका डा.वसन्त कार्की यही जेठ १७ गते सुन्धारास्थित एक होटलको कोठामा मृत फेला पर्नुभयो।
घटनाको प्रकृति हेर्दा वसन्तले आत्महत्या गरेको आफन्त र प्रहरीको अनुमान छ।
पोस्टमार्टमको रिपोर्ट नआएको र प्रहरीले अनुसन्धान पूरा गरिनसकेकाले आत्महत्या नै भनेर किटान भने भएको छैन ।
डा.वसन्त बालरोग विज्ञान(पेडियाट्रिक) अध्ययन लागि भर्ना भएर जम्मा २ दिन मात्रै पढ्न जानुभएको थियो।
उहाँका साथीका अनुसार डा.वसन्तले जेठ १२ र १३ गते २ दिन अस्पतालको इमर्जेन्सीमा ड्यूटी गर्नुभएको थियो।
त्यहाँबाट अब यो पढ्दिन छाडिदिन्छु भनेर काठमाडौं आउनुभएका वसन्त मृत भेटिनुभएको हो।
नजिकका साथी र बुबा, आमाको कुरा सुन्दा डर्माटोलोजी(छालारोग विज्ञान) पढ्ने तीब्र इच्छा नै डा.वसन्तलाई मृत्यु रोज्न बाध्य पार्ने एउटा कारण देखिन्छ ।
कार्यविधि परिवर्तनका नाममा चिकित्सा शिक्षा आयोगले भर्ना प्रक्रियामा अपनाएको नयाँ प्रणाली पनि डा.वसन्तको मृत्यु प्रकरणमा कारक देखिन्छ।
आफूले रोजेको विषय(डर्माटोलोजी)पढ्न आफूभन्दा कम योग्यताक्रमको व्यक्तिले पाएको तर आफूले नपाएको भन्ने विषयले डा.वसन्तको मनमा ठूलो इखको रुपमा बसेको उहाँका नजिकमा साथी डा.सरोज कार्की बताउनुहुन्छ।
यी कारणले उब्जिएको परिस्थितिमा सम्हालिन नसक्दा वसन्तले मृत्युको बाटो रोजेको परिवार र उहाँलाई नजिकबाट चिनेका सबैको निष्कर्ष छ।
डर्माटोजोलीको भूत
डा. वसन्तका स्कुलदेखिकै साथी रहनुभएका मुक्ति दाहालका अनुसार वसन्तलाई पीजीमा जसरी पनि डर्माटोजोली पढ्ने भूत सवार भएको थियो।
यसकै लागि अन्य विषय छाड्दै वसन्तले ६ वर्षदेखि निरन्तर प्रवेश परीक्षा दिइहनुभएको थियो।
डा.वसन्तको स्थायी घर ओखलढुंगा सुनकोशी गाउँपालिका–७ मा पर्छ । उहाँका बुबा कुलबहादुर भूपू प्रहरी हुनुहुन्छ ।
जागिरको सिलसिलामा कुलबहादुर ४ दशक पहिल्यै काठमाडौं छिर्नुभएको थियो। त्यसयता उहाँको परिवार हाँडीगाउँमा बस्दै आएको छ।
त्यहीँ २०४४ सालमा वसन्तको जन्मभयो । आमा पवित्रा र कुलबहादुरका एक्लो सन्तान हुनुहुन्थ्यो वसन्त।
हाँडीगाउँस्थित सिदार्थ विद्यापीठबाट वसन्तले २०६० सालमा एसएलसी पास गर्नुएभएको थियो।
स्कुलमा वसन्तसँगै १० कक्षासम्म पढ्नुभएका उहाँका साथी भरत शर्माका अनुसार वसन्त प्राय कक्षामा दोस्रो हुनुहुन्थ्यो । ८-९ कक्षादेखि वसन्तले डाक्टर बन्ने योजना बनाउनुभएको थियो।
भरतका दाजु पनि डाक्टर हुनुहुन्थ्यो । यत्तिको राम्रो पढ्नेले डाक्टर बन्नुपर्छ भनेर भरतका दाजुले दिएको हौसलाले नै वसन्तलाई डाक्टर पढ्ने प्रेरणा मिलेको थियो।
एसएलसीपछि जोरपाटीस्थित एक कलेजमा ११-१२ कक्षा पढ्नुभयो। प्लटू सकिएपछि एक वर्ष तयारी गरेर २०६४ मा एकै पटकमा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा एमबीबीएस पढ्न नाम निकाल्नुभएको थियो ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवामा एमबीबीएस पढ्ने मौका पाउनुभयो।
एमबीबीएस सकिएपछि छात्रवृत्तिमा पढेकाले पालना गर्नुपर्ने सर्तबमोजिम २ वर्ष महेन्द्रनगरमा गएर काम गर्नुभयो।
महेन्द्रनगरबाट २०७३ मा फर्किएपछि वसन्त पीजीको तयारीमा लाग्नुभयो। डर्माटोजोलीमा नाम निकाल्ने ध्याउन्नमा उहाँ सबै काम छाडेर पढ्न मात्रै थाल्नुभयो।
‘काम गर्दै पढ्दा हुँदैन छोरा भन्दा त्यसरी त आफूले भनेको विषय पढ्न नाम निकाल्न सकिँदैन भन्थ्यो’ आमा पवित्रा भन्नुहुन्छ, ‘सधैँ पढेको पढ्यै गर्थ्यो।'
वसन्तले पहिलो वर्षदेखि नै पीजीमा पनि कुनै न कुनै विषयमा छात्रवृत्तिमा नाम निकाल्नुभएको थियो।
उहाँका साथी डा.सरोजले बताएअनुसार डर्माटोजोली नै पढ्ने, छात्रवृत्तिमा मात्रै पढ्ने लक्ष्य डा.वसन्तको थियो। त्यसबाहेकका विषयमा उहाँले एकीकृत प्रवेश परीक्षा आउनुभन्दा पहिला नै चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम) र धरानमा समेत छात्रवृत्तिमा नाम निकाल्नुभएको थियो।
तर डर्माटोजोलीबाहेक अरुमा फर्मनै नभर्ने, उहाँको योग्यताक्रमले त्यो विषय नपाउने हुँदै आएको थियो।
एकीकृत प्रवेश परीक्षा हुन थालेपछि पनि अरू विषयमा पढ्न पाउने गरी नम्बर आएको थियो । तर वसन्तको लक्ष्य डर्माटोजोली मात्रै थियो।
यसरी ६ वर्ष बितिसकेको थियो।
गत पुसमा भएको पीजीको एकीकृत प्रवेश परीक्षामा वसन्तको नाम २६५ योग्यताक्रममा निस्कियो । अघिल्ला वर्षको तुलनामा यो धेरै राम्रो योग्यताक्रम रहेको उहाँका साथी डा.सरोज बताउनुहुन्छ।
डा.सरोजका अनुसार यसपाली राम्रो र्यांक आएको र धेरै वर्ष खेर गएकाले पाएसम्म डर्माटोलोजी नपाए अर्को राम्रो विषयमा भर्ना हुने योजना डा.वसन्तको थियो।
त्यही अनुसार डर्माटोलोजी, पेडियाट्रिक र प्याथोलोजी विषय प्राथमिकताक्रममा राखेर फारम भर्नुभएको थियो।
अगाडिका कसैले ड्रप गर्ने र त्यो सिटमा आफूले डर्माटोलोजी पढ्न पाउनेमा उहाँ निकै आशावादी हुनुहुन्थ्यो । नभए ठिकै छ मेरो क्षमताले जे भ्याएँ त्यही पढ्छु भनेर सन्तुष्टि नै मान्नुभएको थियो।
यस पटक चिकित्सा शिक्षा आयोगले भर्ना प्रणालीमा केही परिवर्तन गरेका कारण निकै विवाद भयो। सर्वोच्चमा रिट पनि पर्यो। यसैका कारण भर्ना प्रक्रिया महिनौँ रोकियो।
डा.वसन्त पनि यो अभियानमा जोडिनुभएको थियो । फागुन ४ गते सर्वोच्चले विद्यार्थीको मागअनुकुल हुनेगरी फैसला गर्यो। भर्नामा योग्यताक्रम मिचिने गरी कुनै प्रणाली लागू नगर्नू भन्ने आशयको फैसला सर्वोच्चले गरेको थियो।
करिब २ महिनादेखि रोकिएको भर्ना प्रक्रिया सुरुभयो । चैतको अन्तिम साता डा.वसन्तले धरान पुगेर पेडियाट्रिकमा भर्ना गर्नुभयो । ताप्लेजुङ घर भएका साथी डा.सरोजलाई सँगै लिएर जानुभएको थियो । भर्ना गरेर डा.सरोजको घर ताप्लेजुङ पुगी त्यहाँ बसेर पाथीभरा, इलाम घुमेर दुवैजना काठमाडौँ फर्किनुभएको थियो।
आयोगले सर्वोच्चको आदेशपछि पनि पुरानै प्रणालीबाट भर्ना प्रक्रिया अघि बढाएको भन्दै यसबीचमा पुन: सर्वोच्चमा रिट पर्यो। आन्दोलन भए।
आयोगको भर्ना प्रक्रियाका क्रममा डा.वसन्त भर्ना हुनुभएको धरानमै उहाँले नपाउनुभएको डर्माटोलोजीमा उहाँ भन्दा तल योग्यताक्रम भएका व्यक्तिले भर्ना पाउनुभयो।
अघिल्लो योग्यताक्रम भएकाले भर्ना नगरेका कारण २८० भन्दा तल योग्यताक्रम भएका उम्मेदवारले त्यो सिट प्राप्त गरे । आयोगको अघिल्ला वर्षको भर्ना प्रक्रियाअनुसार हुँदा त्यो सिट डा.वसन्तले पाउने पक्का थियो।
डर्माटोलोजीकै लागि त्यत्रो वर्ष खेर फालेँ, म २६५ र्यांक भएकोले पाइँन तर मेरो भन्दा कमले पायो भन्ने कुराले वसन्तलाई निकै तनाव दिएको उहाँका साथी सरोज बताउनुहुन्छ।
'हाम्रोमा राम्रो सिस्टम भइदिएको भए त मैले रोजेकै पाएको थिएँ नि, तर के गर्नु हामीलाई न्याय दिने कोही भएन भनेर गुनासो थियो उसको' डा.सरोज भन्नुहुन्छ, 'पहिले त मेरो क्षमताले भ्याएन ठिकै छ पेड्रो नै पढ्छु भनेर खुसी भएको थियो । तर यो कुराले चाँही उसलाई निकै पिन्च भएको थियो।'
सर्वोच्चको आदेशअनुसार नगरेर चिकित्सा शिक्षा आयोगले अदालतको मानहानी गर्यो भनेर फेरि विद्यार्थीले रिट हाले । यसबाट निर्णय सच्चिने र उक्त सिट आफूले पाउने आशा डा.वसन्तमा थियो । तर रिट खारेज भयो । त्यो दिन वसन्त निकै निराश भएर घर आएको आमा पवित्रा बताउनुहुन्छ।
जेठ १० गतेबाट पढाइ सुरु हुने भनेपछि वसन्त ६ गते धरान जानुभएको थियो । २ दिन मात्रै अस्पताल ड्युटीमा गएपछि उहाँले साथीहरूसँग-म यो पढ्दिन छाड्छु भन्नुभएको थियो । धरानमा बुझ्दा उहाँ पढाइ छाड्ने निर्णय लिएर डीनको कार्यालयमा जानुभएको थियो । छाड्ने भए कानुनअनुसार ५ लाख जरिवाना चाहिने कुरा वसन्तलाई बताइयो।
म काठमाडौँ पुगेर ५ लाख व्यवस्था गरेर आउँछु भनेर १४ गते रातिको बसमा काठमाडौँ हिँडेको अनुमान उहाँका धरानमा रहेका साथीहरूको छ । रुम मेट र साथीहरू सबै अस्पतालमा लामो ड्यूटीमा रहेका कारण १५ गते बिहान हिँडेको होकि १४ गते राति हिँडेको यकीन नै भएन।
वसन्तका दाजु(ठूलोबुबाका छोरा) हरि कार्कीका अनुसार १५ गते १ बजे सुन्धारा आएर होटलको कोठा बुक गरेको रेकर्डमा देखिन्छ ।
जेठ १५ गते साँझ ७ बजेतिर वसन्तले आमालाई फोन गर्नुभएको थियो । वसन्तको २ वटा नम्बर थियो । वसन्तले सुरुमा आमा पवित्राका अनुसार सानो मोबाइलबाट फोन गर्नुभएको थियो। ‘आमा खाना खानुभयो ? भनेर सोध्यो खाएँ भनेँ एकछिन कुराभयो । एकछिनपछि फेरि ठूलो मोबाइलबाट फोन गर्यो’ पवित्रा त्यो दिनको कुरा सुनाउनुहुन्छ, ‘अघि भर्खर कुरा गरेको होइन किन फेरि गरेको भनेँ, यो नम्बरबाट पनि गरेको नि भन्यो, ऊसँग अन्तिम बोलेको त्यही हो।’
त्यसपछि वसन्तले फोन अफ गर्नुभएछ । वसन्त पढाइ छाड्छु भन्दै धरानबाट हिँडेको कुरा पोखरामा रहनुभएका उहाँका साथीले थाहा पाउनुभएछ।
उसलाई गएर सम्झाउँछु भनेर प्लेन चढेर १५ गते साँझतिर काठमाडौँ आउनुभएछ।
काठमाडौँमा भएका अरु साथी समेत जम्मा भएर फोन गर्दा पनि नलागेपछि घरमै त गयो होला भनेर उहाँको डेरा हाँडी गाउँमै साथीहरू पुग्नुभयो। १५ गते राति ९ बजेतिर वसन्त काठमाडौँ आएको छ भन्दै साथीहरू डेरामा आएको आमा पवित्राले जानकारी दिनुभयो।
त्यसपछि त्यो दिन भोलिपल्ट दिनभर खोजी भयो ।
१७ गते बिहान दिलबहादुर र पवित्रा खोजीका लागि रिपोर्ट दिन मालीगाउँ प्रहरी वृत्तमा पुग्नुभयो ।
धरानबाट हराएको भनेपछि धरान नै जानुपर्छ भनेर प्रहरीले सुरुमा रिपोर्ट लिएनन् । आफू भूपू प्रहरी भएको उहाँ जान गाह्रो हुने भनेर निकै आग्रह गरेपछि प्रहरीले रिपोर्ट लिएको दिल बहादुर बताउनुहुन्छ ।
वसन्तका साथीहरू पनि खोजीमा लागिरहेका थिए । बुबा आमाले रिपोर्ट दिएको भनेपछि उनीहरू पनि त्यहाँ आए। चिनेका प्रहरी अधिकारीहरूलाई फोन गरेर छिटो खोजीका लागि पहल पनि भएको थियो।
१७ गते साँझ ५ बजेतिर आमा पवित्राको मोबाइलमा फोन आयो । वसन्तका साथीहरू पनि सँगै थिए । म प्रहरी बोलेको, तपाईको छोरा हराएको हो ? भनेर फोनमा सोधियो । त्यसपछि प्रहरीले भनेको कुरा पवित्राले बुझ्नुभएन । फोन वसन्तका साथीहरूलाई दिनुभयो ।
प्रहरी र उनीहरूबीच के कुरा भयो पवित्रालाई थाहा भएन । वसन्त सुन्धारामा रैछ। हामी लिएर आउँछौँ भनेर, बाइक, ट्याक्सी चढेर साथीहरू गए । ‘कुशलै त होला नि भनेँ’ आमा पवित्रा भन्नुहुन्छ, ‘तर एकैछिनमा आउछौँ भनेर गएका उसका साथीहरू आएनन् बेलुका साढे ७ बजेतिर मात्रै आए।'
वसन्तलाई सञ्चो रैनछ । आमा बुबा अस्पताल जाऊँ भने । ‘यति भनेपछि मनमा चिसो पसिसकेको थियो । पक्कै छोरो छैन' भक्कानिदै पवित्रा भन्नुहुन्छ, ‘गाडीमा हालेर लिएर गए । सुन्धारा अस्पतालमा पुगेपछि अहिले तलै बस्नुस् भने । बिरामी मात्रै भए त लिएर गइहाल्थे नि । त्यसपछि खासै होस् छैन।’
शिक्षण अस्पतालमा पोस्टमार्टम सकेर १८ गते डा.वसन्तको पशुपतिमा अन्त्येष्टि भयो ।
१५ गते सुन्धारा होटलमा आएर बस्नुभएका डा.वसन्तले १७ गते बेलुका विष सेवन गरेको अनुमान छ ।
होटलका कर्मचारीले प्रहरी र आफन्तलाई दिएको जानकारी अनुसार १६ गते दिउँसोतिर आएर वसन्तले-म अब पढ्नु छ । मलाई डिस्टर्व नगर्नू र केही चाहिए म आफैँ लिन आउँछु भन्नुभएको थियो । त्यो भनेकाले खाना खान पनि बोलाउन कोही गएनन् । १७ गते दिउँसोसम्म पनि कोठाबाट बाहिरै ननिस्कएको, ढकढक गर्दा कुनै प्रतिक्रिया नआएपछि होटल सञ्चालकले ३ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।
जनसेवाबाट गएको प्रहरी टोलीले ढोका फुटाएर हेर्दा मृत्यु भइसकेको अवस्थामा फेला पार्यो ।
कोठामा केही वियरका बोतल, एउटा पूरै खाली र एउटा आधा खाली भएको विषादीको बोतल फेला परेको प्रहरीलाई उद्धृत गर्दै उहाँका दाजु हरिले बताउनुभयो। दाजु हरिका अनुसार ३ दिनसम्म दिलबहादुर र पवित्रा लगभग बेहोसीमै हुनुहुन्थ्यो।
शनिबारबाट केही सामान्य बन्दै जानुभएको छ।
चिकित्सा शिक्षा आयोगमाथि दोष
डा.वसन्तको मृत्युमा चिकित्सा शिक्षा आयोग दोषी भएको उहाँका साथीहरूको आरोप छ । उसले पाउनुपर्ने सिट पाएको भए यो घटना नहुने आमा पवित्रा बताउनुहुन्छ ।
आमा पवित्राका अनुसार छोरा वियोगको पीडामा छटपटिनुभएका बुबा दिलबहादुरले ‘मेरो छोरामाथि अन्याय गर्ने त्यो कार्यालय कहाँ छ । म गएर आगो लगाउँछु’ भनेर चिच्याइरहने गर्नुभएको थियो । अहिले सम्हालिनुभएको छ ।
यसै वर्ष पीजीमा चितवन मेडिकल कलेजमा भर्ना हुनुभएका एक डाक्टर वसन्तको हत्या चिकित्सा शिक्षा आयोगले गरेको आरोप लगाउनुहुन्छ ।
‘आयोगले गरेको अन्यायको शिकार आफू पनि भएको उहाँको गुनासो छ । हामी धेरै अन्यायमा परेका छौँ’ हामीले रोजेको विषय हामी भन्दा निकै पछिको र्यांककाले पाएका छन् हामीले पाएका छैनौँ ती डाक्टर भन्नुहुन्छ, ‘आयोगले धेरैलाई निकै तनाव दिएको छ।’
सपनामाथि खेलबाड हुँदा निश्चय पनि मानसिक तनाव हुने ती डाक्टर सुनाउनुहुन्छ ।
'एउटा सपना बोकिएको हुन्छ । त्यही अनुसार मेहनत गरिएको हुन्छ । आफू पछाडि परेर भनेअनुसार नपाउँदा त चित्त बुझाउनै पर्यो । तर नियमको नाममा महेनत होइन भाग्य, चिठ्ठामा भर पर्नुपर्ने अवस्था बनाए।’
डा.वसन्तको मृत्युमा चिकित्सा शिक्षा आयोग दोषी भएको उहाँका साथीहरूको आरोप छ । उसले पाउनुपर्ने सिटी पाएको भए यो घटना नहुने आमा पवित्रा बताउनुहुन्छ ।
अन्याय हुनेगरी लागू गरिएको नयाँ प्रणाली नै डा.वसन्तको मृत्युको कारण भएकाले आयोग नै यसमा मुख्य दोषी रहेको उहाँको आरोप छ ।
वसन्तलाई नजिकबाट चिनेका साथीहरूको निष्कर्ष छ–६ वर्षसम्म कुरेर पनि आफूले मन लागेको विषय पढन नपाउनु, आफू भन्दा कम योग्यताक्रमकाले आफू पढ्ने कलेजमै उक्त सिट पाउनु, जस्ता घटनाले वसन्तको मनमा वेचैन भइरहेको थियो ।
बालरोग विभागमा अरुमा भन्दा बढी नै तनाव हुन्छ । खटाइ धेरै हुन्छ । धेरै समय काम नगरी बसेको मान्छे दुई दिन त्यहाँ लामो ड्यूटी गर्दा अत्यास लागेको हुनसक्छ।
छाड्ने निर्णय गर्दा ५ लाख तिर्नुपर्ने त छँदैछ । २ वर्ष आयोगको प्रवेश परीक्षामा भाग लिन समेत पाइँदैन । यी सबै कुराको तनावले डा.वसन्तले यस्तो बाटो अपनाएको साथीहरू बताउछन्।
‘आफ्नो सम्पूर्ण कमाइ छोराको पढाइ र छोराको सपनामा लगानी गर्नुभएको वसन्तका बुबा, आमालाई छोराका यस्ता कुरा खासै बुझ्न सक्नुहुन्न । मात्रै छोराले जे भन्यो त्यही क्षमताले भ्याएसम्म पुर्याउँदै जानुभयो । अहिले उहाँहरूको सबै गुमेको छ ।’ वसन्तका साथी मुक्ति भन्नुहुन्छ।
चिकित्या शिक्षा आयोगका अधिकारीहरू भने आफूहरूले विद्यार्थीलाई कुनै अन्याय नगरेको अडानमा छन् ।
एक पटक एउटामा भर्ना भइसकेको विद्यार्थीलाई अपग्रेड गर्ने नाममा अर्काेमा पठाउन नमिल्ने तर्क उहाँहरूको छ ।
विद्यार्थीहरूका अनुसार अघिल्ला वर्षमा एक पटकको म्याचिङपछि २–३ चरणमा पुनः म्याचिङ हुन्थ्यो, पहिले पूर्वभर्ना सूची प्रकाशन गर्ने त्यसपछि पनि छाडेका विद्यार्थीलाई अपग्रेड गर्दा योग्यताक्रम मिचिने घटना एकाध मात्रै हुने गरेको थियो ।
अहिले एक पटक भर्ना सूची निकालेपछि भर्ना गरिनस भने प्रक्रियाबाट आउट हुने चेतावनी दिइएको हुन्छ । त्यही पनि नपाइने होकि भन्ने डरले भर्ना गरिहाल्छन् ।
अगाडीको कसैले भर्ना नगरेमा त्यहाँ पछिल्ला क्रमबाट ल्याइन्छ ।
तपाईँको अभिमत