१ डिग्री तापक्रम बढ्दा झाडापखालाको जोखिम ५ प्रतिशत बढी

सांकेतिक तस्बिर।
नेपालमा तापक्रम वृद्धि कारण कसैको मृत्यु भएको तथ्यांक नभए पनि स्वास्थ्यमा यसका तत्कालीक, दीर्घकालीन असरहरू धेरै रहेको डा.समीर कुमार अधिकारीले बताए ।
‘लुु’ को प्रभाव र पूर्वतयारी बारे बिहीबार काठमाडौंमा आयोजित संवाद कार्यक्रममा बोल्दै डा.अधिकारीले यसबारे जानकारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा.अधिकारीका अनुसार तापक्रम वृद्धि हुनेवित्तिकै पानीजन्य, कीटजन्य र खाद्यजन्य रोगको जोखिम धेरै हुन्छ । १ डिग्री सेल्सियस तापक्रम बढ्दा झाडापखलाको जोखिम ४–५ प्रतिशतले वृद्धि हुने देखिएको उनको भनाइ छ ।
उच्च तापक्रम वृद्धि र लुबाट नेपालमा कुर्नै वर्ग सुरक्षित हुने र कुनै वर्ग धेरै प्रभावित हुने भन्ने नरहेको डा.अधिकारीले बताए ।
डा.अधिकारीका अनुसार यसले सबैखाले व्यक्तिमा शारीरिक मानसिक रुपमा असर पर्ने देखिन्छ ।
तापक्रम बढ्ने वित्तिकै शरीरबाट धेरै पसिना आउँछ । शरीरमा पानीको मात्रा कम हुने । श्वास फेर्न कठिन हुने, कसैका खुट्टा सुन्निने हुन्छ ।
रगत जम्ने समस्या देखिनसक्छ । घाँटी तथा शरीरमा घाउहरु देखिन सक्छन् । पहिलेदेखि भएका स्वास्थ्य समस्या गर्मी लाग्नेवित्तिकै बढ्दै जान्छन् ।उच्च रक्तचाप, थाइराइडका समस्या भएका व्यक्तिको समस्या बढ्न सक्छ । छालाका आँखाका समस्या बढ्छन्।
गर्मीमा कारण हृदयघातको जोखिम पनि बढी हुन्छ । स्वास्थ्य समस्या बढ्दै गएर कालान्तरमा मृत्युको जोखिम पनि उच्च गर्मीले धेरै बढाउँछ ।
तापक्रम बढेका बेलामा स्वास्थ्य संस्थामा सेवा प्रवाह गर्न समेत कठिन हुने डा.अधिकारीले सुनाए । ‘गर्मी भएको ठाउँमा सेवा प्रवाह गर्न गाह्रो हुन्छ । सेवा लिन जाने मान्छेको संख्या बढ्यो भने दवाव पर्छ । गर्मीमा पंखा, एसी, फ्रिजजस्ता उपकरण धेरै प्रयोग हुने हुँदा लोड नधानेर विद्युत अवरुद्ध हुन्छ, डा.अधिकारीले भने, ‘त्यो समस्या स्वास्थ्य संस्थामा सेवा प्रवाहमा कस्तो असर पर्ला?’
तपाईँको अभिमत