ओपिडी शुल्क वृद्धि, मेडिकल अधिकृतहरुको न्यूनतम तलव ४२ हजार

फाइल फोटो
काठमाडौं । आजदेखि लागू हुने गरि निजी अस्पतालहरुमा बहिरगं (ओपिडी) सेवा शुल्क बढाइएको छ । नेपाल चिकित्सक संघ र निजी स्वास्थ्य संस्था तथा अस्पतालहरुको संस्था अफिनको संयुक्त बैठकले परामर्श शुल्क बढाउने निर्णय गरेको हाे ।
ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते चिकित्सकहरुको परामर्श शुल्कलाई ३० दिनभित्र लागू गर्ने प्रतिवद्धता जनाएपनि कार्यान्वयन नगरेकाले राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई आधार मानेर उक्त निर्णय लिइएको संघ र अफिनले जनाएका छन् ।
निर्णय अनुसार डाक्टरहरुको योग्यता र कार्य अनुभवका आधारमा ओपिडी शुल्क ३७० रुपैया देखि ८२५ रुपैयासम्म बनाइएको छ ।
नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउनेछन् ।
डिप्लोमा गरेका डाक्टरहरुको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने छन् । यस्तै, एमडी/एमएस र एमडिएस डाक्टरले ५ वर्ष भन्दा कम अनुभव भएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन् । डिमए तथा एमसिएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन् ।
यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडी/एमएस /एमडिएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन्। डाक्टरको परामर्श शुल्क २०७१ असोज १ गतेदेखि तोकिएको थियो । हरेक २/२ वर्षमा शुल्क पुनरावलोकन हुने निर्णय भएपनि यसो हुन सकेको थिएन । पहिलो पटक डाक्टरको परामर्श सेवा तोकिदा समयमा मेडिकल अफिसर अर्थात एमबिबिएस बिडिएस डाक्टरको शुल्क २५० र कन्सल्टेन्टको शुल्क ४५० रुपैयाँ थियो ।
यसैगरी बैठकले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुमा मेडिकल अधिकृतको न्यूनतम तलव ४२ हजार कायम गर्ने निर्णय पनि गरेको छ ।

तपाईँको अभिमत