ब्रोन्कोलाइटिसको औषधि र उपचार पद्धति सच्याउनुपर्छ

पहिला-पहिला झाडापखालाका कारण र उपचार पद्धति थाहा नहुँदा धेरै खाले परीक्षण गर्नुपर्थ्याे । समयमै उपचार नपाउँदा झाडापखालाका कारण सयौँको मृत्यु हुनेगर्थ्याे र झाडापखालालाई नै मृत्युको प्रमुख कारण मानिन्थ्यो ।
तर अहिले समय फेरिएको छ। उपचार प्रणाली पनि परिवर्तन भएको छ र झाडापखालाका कारण हुने मृत्युदरमा पनि कमी आएको छ । झाडापखाला लाग्दा घरमा नै एक चक्की जीवनजल खाए निको हुने तथ्य पत्ता लागेपछि झाडापखालाका बिरामीलाई गरिने विभिन्न खाले उपचार शैलीमा कटौती गरियो।
अहिले, बालबालिकाहरूमा पनि पहिला झाडापखालाका बिरामीलाई गरिने जस्तै अनावश्यक उपचार भइरहेको छ । ब्रोन्कोलाइटिस अर्थात् श्वास प्रश्वासमा देखिने समस्याको उपचारमा अनावश्यक रुपमा बालबालिकाको छातीको एक्सरे, रगतको परीक्षण तथा एन्टिवायोटिक औषधीको प्रयोग भइरहेको छ ।
जसलाई अमेरिकाको बालरोग चिकित्सक प्रतिष्ठान (आन)ले अनावश्यक भएको निष्कर्ष नै निकालेको छ । ब्रोन्कोलाइटिस १ वर्षमुनिका बालबालिकामा बारम्बार देखिने र यो समस्या क्लिनिकल परीक्षणबट नै थाहा हुने भएकाले छातीको एक्सरे तथा रगतको परीक्षण गर्न नपर्ने निचोड निकालेको छ।
ज्वरो आई श्वासप्रश्वासमा समस्या आएमा चिकित्सकहरूले निमोनियाको संकेत भएको भनी छातीको एक्सरे, रगत परीक्षण गरेर ब्रोन्कोलाइटिस समस्याका लागि निमोनियाको नै औषधी चलाउने गरेका छन् । जुन आवश्यक छैन । समस्या एउटा उपचार अर्काे हुँदा समस्याको जड त पत्ता लगाउन सकिन्न नै यसबाट समय र पैसा समेत खेर गइरहेको छ ।
नेपालमा पनि बालबालिकाहरूमा ब्रोन्कोलाइटिसको समस्या धेरै छ। यस्ता समस्या भएका बालबालिकाहरूको उपचार पनि गलत पद्धतिबट नै भइरहेको छ । ब्रोन्कोलाइटिसको समस्या पटक पटक देखिने र यसलाई वर्षाैदेखिको चिकित्सकको अनुभवबाट नै पत्ता लगाई निको पार्न सकिने भएकाले ल्याब परीक्षणको कुनै जरुरी नभएको निष्कर्ष निकालिएको हो।
बालरोग चिकित्सक समाज नेपालका पूर्व अध्यक्ष एवं वरिष्ठ बालरोग चिकित्सक ज्योतिरत्न धाख्वाले अब नेपालमा पनि निमोनिया पत्ता लगाउनका लागि गरिँदै आएको अनावश्यक रगत परीक्षण छातीको एक्सरे तथा एन्टिवायोटिक औषधीको प्रयोगमा कमी ल्याउनुपर्ने बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ, ब्रोन्कोलाइटिस समस्यालाई निगरानी मार्फत नै निको पार्न सकिन्छ । त्यसैले अनावश्यक रुपमा छातीको एक्सरे, रगत परीक्षणका नाममा हुने खर्चमा कटौती गर्न सकिन्छ। अहिले रगत परीक्षण, छातीको एक्सरे तथा एन्टिबायोटिक औषधीसहित निमोनियाको उपचारका लागि झण्डै ११ हजार रुपियाँसम्म खर्च हुने गर्दछ ।
चिकित्सकको लामो समयदेखिको कार्य अनुभवकै आधारमा सामान्य परीक्षणबाट नै ब्रोन्कोलाइटिस पत्ता लाग्ने भएकाले ल्याब परीक्षणमा खर्च गर्न आवश्यक नपर्ने डाक्टर धाख्वाको भनाइ छ। ब्रोन्कोलाइटिस श्वास-प्रश्वासमा रेष्पिरेटरी साइन्सियल भाइरसको संक्रमणबाट हुने समस्या हो । यो समस्या धेरैजसो जाडो याममा देखिन्छ ।
जाडो याममा अस्पताल भर्ना भएका अधिकांश बिरामी बालबालिका यही समस्याका रहेका हुन्छन् । एक वर्षमुनिका ९० प्रतिशत बालबालिका ब्रोन्कोलाइटिस समस्याबाट ग्रसित हुने गरेका छन् । अहिले अस्पतालमा भर्ना भएका मध्ये अधिकांश बालबालिकाहरू ब्रोन्कोलाइटिस समस्याबाट पीडित भएकाहरू नै छन्।
बच्चालाई ज्वरो आउनु, रुघा खोकी लाग्नु, फोक्सो खुम्ची सास फेर्न गाह्रो हुनु, कोखा हान्नु ब्रोन्कोलाइटिसका लक्षण हुन् । तर चिकित्सकहरूले यसलाई नै निमोनियाको रुवरुप दिएर एन्टिबायोटिक औषधी दिने चलन छ । यो उचित होइन ।
विशेषगरी चिकित्सकहरूले नै यो विषयमा ध्यान दिन जरुरी छ । आफ्नो कार्य अनुभवले नै रोगको निदान गर्न सकिने भएकाले ल्याब परीक्षणमा जोड नदिन आनले चिकित्सकहरूलाई सुझाव दिएको छ । त्यसैले ब्रोन्कोलाइटिसको उपचार पद्धतिका सम्बन्धमा चिकित्सकहरूलाई नै जागरुक गराउनु पर्ने आवश्यकता आनले देखेको छ।
यसकारण अनावश्यक उपचार पद्धति मानियो
ब्रोन्कोलाइटिस सामान्य र पटक पटक देखिने भाईरल रोग हो। निगरानीमा राखेर खानपिन र बेला बेलामा नाक सफा गरे विस्तारै यो समस्या कम हुँदै जान्छ। छातीको एक्सरे, रगत परीक्षण र एन्टिबायोटिक औषधी प्रयोगबाट ब्रोन्कोलाइटिसका कारण हुने मृत्युदरमा कमी आउँदैन।
ब्रोन्कोलाइटिसको उपचार पद्धती
- न्यानोमा राख्ने,
- सकेसम्म आमाको दुधमा जोड दिने,
- खानपीनमा याद गर्ने,
- भीड र प्रदूषणबाट वच्चालाई टाढा राख्ने,
- अक्सिजनको मात्रा जाँच्न उचित निगरानीमा राख्ने,
- नियमित खोप लगाउने
- अक्सिजनको मात्रा कम भए अक्सिजन दिने
- ब्रोन्कोलाइटिस र निमोनिया उस्तै उस्तै देखिए पनि यी दुई समस्या विल्कुलै फरक छन् । ब्रोन्कोलाइटिस १ वर्षमुनिका बालबालिकामा देखिन्छ भने निमोनिया कुनै पनि उमेर समूहमा देखिन्छ ।
ब्रोन्कोलाइटिस श्वाप्रश्वासमा देखिने समस्या हो भने निमोनियाले फोक्सोको तन्तुमा नै असर गर्छ, त्यसैले यसलाई जटिल पनि मानिन्छ।
युनिसेफका अनुसार निमोनियाका कारण वर्षेनी विश्वमा ३० लाख बालबालिकाको मृत्यु हुने गरेको छ । विशेषगरी निमोनियाको समस्या औद्योगिक देशहरूमा धेरै देखिएको छ ।
निमोनिया भाइरस, व्याक्टेरिया तथा वातावरणीय तत्वहरूका कारण लाग्ने गर्दछ । निमोनियाको उपचार एन्टिबायोटिकमार्फत सम्भव छ । निमोनिया, बालमृत्युको एक ठूलो कारण हो । नेपालमा निमोनियालाई बाल मृत्युको कारक मध्ये पाँचौँ स्थानमा राखिएको छ ।
बालमृत्युलाई घटाउने हो भने निमोनियाबाट हुने मृत्युलाई घटाउनेतर्फ लाग्नुपर्छ । यसको लागि उत्तम उपाय भनेको बच्चा जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र खुवाउने । आमाको दूध खुवाउनाले बच्चालाई निमोनिया हुने सम्भावना कम हुन्छ । यस्तै खोप पनि निमोनिया हुनबाट जोगाउने अर्काे उपाय हो।
तर ब्रोन्कोलाइटिसका कारण मृत्यु हुनेको संख्या निमोनियाको कारण भन्दा धेरै कम छ तर पनि सामान्य जस्तो देखिए पनि कहिलेकहीँ अक्सिजनको मात्रा कम भई बच्चाको मृत्यु भएका उदाहरणहरू प्रशस्तै भेटिएका छन्।
त्यसैले श्वास-प्रश्वासमा समस्या आएमा, ज्वरो आएमा तुरुन्तै परीक्षणका लागि नजिकैको स्वास्थ्य चौकी तथा अस्पतालहरूमा लगिहाल्नुपर्छ । खोपका कारण धेरै रोगबाट बचाउँन सकिने भएकाले खोप पनि नियमित लगाउनु आवश्यक छ ।
तपाईँको अभिमत