अहेबको परीक्षा दिँदा मोबाइल नम्बर लेखेपछि कारबाही
अहेबको जागिरका लागि लोकसेवा परीक्षा दिँदा उत्तरपुस्तिकामा मोबाइल नम्बर लेख्ने परीक्षार्थी कारबाहीमा परेका छन् । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का नवीन कुमार रेउलेलाई दुई वर्षसम्म लोकसेवाको कुनैपनि परीक्षा दिन नपाउने गरी कारबाही गरिएको हो ।
कर्णाली प्रदेश लोक सेवा आयोगले गत साउन ७ गते लिएको परीक्षामा रेउलेले अहेब चौथो तहका लागि परीक्षा दिनुभएको थियो । उहाँले परीक्षाको उत्तरपुस्तिकामा मोबाइल नम्बर लेखेर यसमा सम्पर्क गर्नु भनी उल्लेख गरेको फेला परेको छ ।
त्यसो गर्नेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेका छन्। मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोक सेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ।
प्रदेश लोक सेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीका अनुसार रेउलेलाई प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसुरमा कारबाही गरिएको हो । प्रदेश लोकसेवा आयोगको साउन १६ गतेको बसेको बैठकले उहाँमाथि कारबाहीको निर्णय गरेको थियो ।
यस कसुर अन्तर्गत आगामी २ वर्षसम्म हुने पदपुर्ती सम्बन्धी सबै विज्ञापनहरूमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ।
तपाईँको अभिमत