आईसीयूमा काम गर्ने नर्सलाई दिइयाे कोरोना खोप

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कका सघन कक्ष (आईसीयू)मा कार्यरत नर्सहरूले कोरोना खोप पहिले पाउने भएका छन् । सोमबार दुई जना नर्सलाई खोप दिएर यसको सुरुवात गरिएको हो ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार सोमबार न्यूयोर्कस्थित एक अस्पतालको आईसीयूमा कार्यरत सान्द्रा लिन्डसे नाम गर्नुभएको नर्सलाई दिइएको खोपको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।
‘यो खोप लिँदा अरू कुनै खोप लिएझैँ भएको छ, कुनै फरक महसुस भएको छैन’, खोप लिइसकेपछि उहाँले भन्नुभयो, ‘राम्रै महसुस भइरहेको छ ।’खोप लिइसकेपछि उहाँले ‘दुःखद इतिहास’को अन्त्य चाँडै हुने विश्वास लिएको बताउनुभयो ।
फाइजरले निर्माण गरेको कोरोनाविरुद्धको खोप अमेरिकामा मंगलबारदेखि आम प्रयोगमा ल्याउन लागिएको छ । सो खोपलाई औषधी नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले आपत्कालिन प्रयोगका लागि अनुमति दिएसँगै प्रयोग हुन लागेको हो ।
अमेरिकामा हालसम्म १ करोड ६५ लाख ८ हजार बढी मानिस संक्रमित भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । जसमध्ये ३ लाख ३८२ जनाको मृत्यु भइसकेको छ ।
तपाईँको अभिमत