डा.बुढाथोकीलाई प्रश्न : तपाई स्वास्थ्य मन्त्रालयको प्रवक्ता कि चिकित्सक संघको उपाध्यक्ष ?
अस्पतालमा बिदाका दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्ने परिपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। कार्यालयको पत्रपछि स्वास्थ्य मन्त्रालयले सार्वजनिक विदाका दिनमा पनि स्वास्थ्य सेवा सुचारु गर्न मातहतका निकाय र अस्पताललाई परिपत्र गरेको हो।
स्वास्थ्य मन्त्रालयले विभाग, प्रतिष्ठान, अस्पताल गरी ३४ वटा निकायलाई भदौ १६ गते परिपत्र गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भदौ ७ गते पठाएको पत्रअनुसार स्वास्थ्य मन्त्रालयले यो परिपत्र गरेको हो।
विभिन्न पर्व, दिवस तथा जात्रामा दिइने सार्वजनिक विदाका २४ दिनमा सेवा सञ्चालन गर्नुपर्ने निर्देशन स्वास्थ्य मन्त्रालयले दिएको छ।
सकारको यो निर्णय अव्यवहारिक रहेको भन्दै यसमा चिकित्सकहरूको संस्था नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। यसले कार्यबोझ बढाउने, चिकित्सक, स्वास्थ्यकर्मीलाई मानसिक तनाव हुने र उनीहरूमाथि अन्याय हुने निष्कर्ष चिकित्सक संघको छ।
चिकित्सक संघका महासचिव सञ्जिव तिवारीको नामबाट मंगलबार जारी विज्ञप्तिमा उक्त निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ।
मंगलबार नै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ। जसमा कुन-कुन सार्वजनिक विदामा ओपीडी सेवा सञ्चालन गर्नुपर्ने हो भन्ने उल्लेख छ। साथै प्रदेश र स्थानीय तह अन्तरगतका स्वास्थ्य संस्थालाई पनि यही नियम लागू गराउन निर्देशन दिइएको छ।
रोचक कुरा के छ भने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी नेपाल चिकित्सक संघको उपाध्यक्ष समेत हुनुहुन्छ। सरकारको यस निर्णयमाथि आपत्ति जनाउँदै चिकित्सक संघले निकालेको विज्ञप्तिको लेटरप्याडमा डा.बुढाथोकीको पनि नाम छ।
केही चिकित्सक, स्वास्थ्यकर्मीहरूले सामाजिक सञ्जालमा दुई वटा विज्ञप्ति राखेर तपाई चिकित्सक संघको उपाध्यक्ष कि स्वास्थ्य मन्त्रालयको प्रवक्ता ? भन्दै डा.बुढाथोकीलाई प्रश्न गरेका छन्।
चिकित्सक संघको धारणामा डा.बुढाथोकीको भने सहमत हुनुहुन्न। सरकारले गरेको निर्णय अव्यवहारिक नरहेको उहाँको भनाइ छ। अघिल्लो मन्त्रिपरिषद् बैठकले गत पुस १२ गते गरेको निर्णय अहिले कार्यान्वयनमा आएको हो।
मन्त्रिपरिषद्को उक्त निर्णयअनुसार गत चैतमा राजपत्रमा सूचना प्रकाशित भएको थियो।
‘संस्थाका सबै निर्णयमा सहमत हुनुपर्छ भन्ने छैन, डा.बुढाथोकीले भन्नुभयो, ‘सरकारले विदा दिएर पो हामीले त्यो दिनमा विदा पायौँ त नदिएको भए काम गर्नैपर्थ्यो।’
शनिबार र दशैँ तिहार लगायतका विदामा काम गर्न नभनिएको उहाँले स्पष्ट पार्नुभयो। ‘सामान्य पर्वका दिन काम गरेर अन्य दिन काम सेवा सुचारु गर्ने भनिएको हो। यी पर्वमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालले अहिले पनि सेवा दिइरहेका छन्’ डा.बुढाथोकीले सुनाउनुभयो।
डा.बुढाथोकीका अनुसार उक्त दिन काम गरेबापत अर्को दिन सट्टा विदा लिन पाइन्छ। यदि ३ महिनाभित्र कार्यालय प्रमुखले सट्टा विदा दिन नसकेको खण्डमा विदाको दिनमा काम गरेको भत्ता दिने स्वास्थ्य सेवा ऐनले गरेको छ।
यो निर्णय स्वास्थ्य क्षेत्रका लागि मात्रै नभएर अत्यावश्यक सेवा दिने सबै संस्थाका लागि भएको पनि उहाँले स्मरण गराउनुभयो।
स्वास्थ्य क्षेत्रमा जनशक्ति कमी भएका कारण केही अप्ठेरा भएपनि सेवा दिनै नसकिने भन्ने अवस्था नभएको प्रवक्ता डा.बुढाथोकीले बताउनुभयो।
तपाईँको अभिमत