घरघरमा सिलिण्डर होल्ड हुँदा फेरि अक्सिजन अभाव हुने संकेत !

काठमाडौं । अघिल्ला हप्ताहरुमा अस्पतालहरुमा देखिएको अक्सिजनको अभाव हाललाई थोरै राहत जस्तो महशुस भएको छ । संक्रमण दर पनि घट्दै गरेको देखिएको छ । तथापि अस्पतालहरुमा आइसियु र भेन्टिलेटरमा संक्रमित सिकिस्त बिरामीहरुको चाप भने उत्तिकै छ । तत्कालै खोपको व्यवस्था नहुने र सधैँ निषेधाज्ञाकै भरमा कोभिड नियन्त्रण गर्न असम्भव छ । मानिसहरुको आवात जावतमा केही खुकुलोपना हुने बित्तिकै संक्रमणदर बढ्ने सम्भावना त्यत्तिकै छ ।
कोरोना संक्रमितको संख्या बढेपछि स्वतः अस्पतालहरूमा अक्सिजनको अभाव हुने परिस्थितिको जोखिम छ । संक्रमण देखिएका बिरामीमा फोक्सोको संक्रमण तत्काल हुने र यसले श्वासप्रश्वासमा कठिनाइ हुने हुँदा अधिकांश बिरामीलाई सुरुदेखि नै अक्सिजनको आवश्यकता पर्ने देखिएको छ । यसअघि अक्सिजनको अभावमा नै धेरै बिरामीहरूको अकालमा ज्यान समेत गइसकेको छ ।
सङ्क्रमणको लहर अझ तीव्र हुने आकंलनहरु गरिरहँदा हालको क्षमता जसरी भए पनि वृद्धि गर्नुपर्ने हुन्छ, अन्यथा ठुलो जनधनको क्षति हुन सक्छ ।
हाल अक्सिजनको आपूर्ति कस्तो छ ?
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार देशभरमा साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योगहरु छन् । तीमध्ये पनि काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग सञ्चालनमा छन् ।
काठमाडौं उपत्यकामा रहेकामध्ये ७ वटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराइरहेका छन् । हाल काठमाडौंका उद्योगले उत्पादन गरेका शतप्रतिशत नै अक्सिजन मेडिकललाई पठाएका हुन् । कोभिड महामारीभन्दा पहिला ती उद्योगहरुको क्षमताको २५ प्रतिशत मात्र अक्सिजन उत्पादन हुने गरेको थियो । हाल भने शतप्रतिशत नै उत्पादन गरिरहेका छन् ।
अहिले अक्सिजन प्रयोग गरिने अन्य उद्योगलाई सप्लाई बन्द गरिएकाले मेडिकल प्रयोजनका लागि मात्रलाई अक्सिजनको अभाव नहुने अध्यक्ष शारडाको दाबी छ । अघिल्लो हप्ताको तुलनामा यो हप्ता अक्सिजनको माग केही मात्रामा कमी भएको हो । एक हप्ता अघिसम्म उद्योगहरुमा लुछाचुडी हुने अवस्था थियो ।
मागअनुसार आपूर्ति पनि भइरहेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘अब अक्सिजनको भन्दा पनि अक्सिजन भर्न प्रयोग हुने सिलिण्डरको अभाव हुनसक्छ । मानिसहरुले अक्सिजन सिलिण्डर किनेर घरमा भण्डारण गर्न थाल्दा सिलिण्डरको अभाव भएको हो ।’ उपत्यकामा सहज रुपमै उपलब्ध गराउन सक्ने गरी उद्योगहरुले अक्सिजनको आपूर्ति गरिरहेका छन् । सबै उद्योगीले आफ्ना कोटा अनुसार उपलब्ध गराइरहेका उहाँले जानकारी दिनुभयो ।
अहिलेको मुख्य समस्या,
नेपालमा तरल अक्सिजन उत्पादन नहुने भएकाले सिलिन्डरको अभाव देखिएको उत्पादकहरू बताउँछन् । उत्पादकहरू भने सरकारले प्रोत्साहन नगर्दा तरल अक्सिजन उत्पादन नगरेको बताउने गरेका छन् । हाल भारतबाट तरल अक्सिजन ल्याइने गरेको छ । नेपालमै तरल अक्सिजन उत्पादन हुने हो भने ठूलो ट्यांकरमा स्टोर गर्न सकिने उत्पादकहरू बताउँछन् ।
तरल अक्सिजन भए सिलिन्डरको समेत अभाव हुँदैन । अक्सिजन अस्पतालको ट्यांकरमै हाल्न सकिने अक्सिजन उत्पादक संघका अध्यक्ष शारडाले बताउनुभयो ।हाल उत्पादकलाई चटारो परेको देखिए पनि महामारीपूर्व केही अक्सिजन उद्योगहरु बजारको अभावमा बन्द नै भएका थिए । तसर्थ यस्ता उत्पादकहरुलाई हालको अवस्थामा सरकारले सहुलियत दिएर भए पनि प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
सिलिण्डर घरघरमा होल्ड हुँदा अभाव हुनसक्छ,
अक्सिजनको सिलिण्डर लगेका व्यक्तिले ७ देखि १० दिनभित्र अनिवार्य रुपमा खाली सिलिण्डर फिर्ता गर्नुपर्ने हुन्छ । केही नागरिकले भने आपत्कालीन अवस्था आउँछ कि भनेर अक्सिजनका सिलिन्डर स्टक गरेर राख्ने प्रवृति बढेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताउनुभयो । मन्त्रालयले अक्सिजन सिलिण्डर फिर्ता गरिदिन अपिल पनि गरेको छ ।
सिलिण्डरको कालोबजारी र व्यक्तिगत भण्डारण लगायतका कारण पनि अभाव हुन पुगेको हो । अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्दा र व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिण्डर अभाव हुन थालेको हो ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार आत्तिइहाल्नुपर्ने अवस्था नरहे पनि अक्सिजनको बजार चक्र चुस्त नहुँदा सिलिण्डरको कमी हुने हो कि भन्ने डर छ । डा. अधिकारी भन्नुहुन्छ ‘अक्सिजन भर्ने भाँडै भएन भने अक्सिजन उत्पादन बढाएर मात्र भएन । त्यसकारण बजार गएका सिलिण्डर नियमित साइकलमा फर्काउनु पर्नेछ । नत्र भने सिलिण्डरको अभाव हुन सक्छ । त्यसको प्रत्यक्ष असर संक्रमितमा पर्न जाने र ज्यानको जोखिम बढ्छ ।’
संक्रमण दरमा थोरै गिरावट आए पनि अक्सिजन सर्पोटमा राख्नुपर्ने बिरामी घटेका छैनन् । यसले अस्पतालहरुमा चाप बढ्ने र अक्सिजनको चुनौती पनि बढ्न सक्छ ।
तपाईँको अभिमत