आजको स्वास्थ्य समस्या, आइओएम र सुधारका उपाय

बीमा प्रणालीको प्रभावकारिता घटिरहेकाले नागरिकलाई लागू गरिएका बीमा योजनाहरूले उनीहरूको स्वास्थ्य सेवामा प्रभावकारी मद्दत गर्न सकिरहेको छैन । यसले कमजोर आर्थिक वर्गका आम नागरिकको स्वास्थ्यमा थप नकारात्मक असर पारेको छ । यसबाहेक, नयाँ रोगहरूको आगमनले पनि स्वास्थ्य प्रणालीमा चुनौती थपिएको छ । नयाँ रोगहरूको उदयले मानिसहरूको स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको अर्कोतिर एन्टिबायोटिक प्रतिरोधका कारण हुने स्वास्थ्य समस्याले यस्ता उपचारमा कठिनाइ उत्पन्न गरिरहेका छन् । यस अवस्थामा सरकार र स्वास्थ्य नीति निर्माताले यथाशीघ्र सशक्त कदम चाल्न आवश्यक छ, ताकि हामी नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच, उचित बीमाबाट महङ्गो उपचारको बोझबाट मुक्त गर्न सकौँ ।
नेपालमा स्वास्थ्य शिक्षामा भइरहेको अव्यवस्थितता र बेथिति एक गम्भीर चिन्ताको विषय बनेको छ । युवा चिकित्सकहरूको मानसिक स्वास्थ्य अवस्था चिन्ताजनक देखिएको छ । धेरै युवा चिकित्सकले उच्च शिक्षा प्राप्त गर्ने क्रममा अत्यधिक दबाब र मानसिक तनावको सामना गरिरहेको अवस्था छ । साथसाथै अत्यधिक आरामविनाको काम, न्यून पारिश्रमिक, बिरामीको चाप, असुरक्षित वातावरणको परिणामस्वरूप हालका वर्षहरूमा आत्महत्या र आत्महत्या प्रयास गर्ने घटनाहरूमा वृद्धि भएको छ । यस्ता घटनाहरू केवल व्यक्तिगत समस्या होइन, समाजमा फैलिरहेको मानसिक स्वास्थ्य सङ्कटको सङ्केत पनि हो ।
नेपालको स्वास्थ्य प्रणालीको विकास र सुधारमा चिकित्सा शिक्षा अध्ययन संस्थान (IOM) को लक्षित भूमिका रहेको छ । यस संस्थाले स्वास्थ्य सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्छ तर विगतका केही वर्षदेखि यतिका चुनौतीहरूको सामना गरिरहेको छ कि यसको गरिमा र प्रभावकारिता जोखिममा परेको छ । जोखिममा पर्नुको कारण बजेटको कमी, विभिन्न निर्णय प्रक्रियाहरूमा राजनीतिक हस्तक्षेप, संस्थालाई स्वायत्तता र स्वतन्त्रताको कमी, कमजोर कामचलाउ प्रशासन र व्यवस्थापन प्रमुख हुन् ।
संस्थागत हेराइमा यस्ता समस्याहरूलाई समग्रतामा समेटेर उपयुक्त समाधानका लागि दीर्घकालीन रणनीतिहरू विकास गर्न आवश्यक छ ।आइओएमका सबै सरोकारवालाहरू (व्यवस्थापन, विद्यार्थी, प्राध्यापक) ले समान उद्देश्य र दृष्टि तय गरेर अगाडि बढ्नुपर्छ। कृत्रिम बौद्धिकता (Artificial Intelligence), नवीनता, प्रविधि र अन्वेषणमार्फत स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता सुधार्नका लागि योजना बनाउनुपर्छ । पाठ्यक्रमहरूको अद्यावधिकता र गुणस्तर सुधार गर्न विशेष ध्यान दिन जरुरी छ । अनुसन्धान परियोजनाहरूमा विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ । विशेषगरी विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रर्द्धनमा क्याम्पस परिवारले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ र विद्यार्थीको पक्षमा भावनात्मक ऊर्जा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ । विद्यार्थीको आवाज नसुनिने, नवीनतम प्रविधि नअपनाउने, व्यक्तिगत लाभ हानी नाफा नोक्सान हेरेर पूर्वाग्रहका साथ निणर्य गर्ने, उही पुरानो काङ्ग्रेस कम्युनिस्ट आवरणमा संस्थामाथि व्यक्ति हाबी हुँदै जाने हो भने अन्तरराष्ट्रिय जगतमा प्रतिस्पर्धा त के काठमाडौंको मुटुमा रहेर देशमा अरूको तुलनामा अब्बल सावित रहेको संस्था केही वर्षमै पुछारमा जाने निश्चित छ ।
स्ववियुको सक्रियता
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को गठन र सक्रियता आइओएम का विद्यार्थीहरूको आवाजलाई प्रस्तुत गर्न महत्त्वपूर्ण छ । स्ववियुले विद्यार्थीका हकहितको रक्षा गर्ने, शैक्षिक प्रणालीलाई प्रभावकारी बनाउने र न्यायसङ्गत अवसरको सिर्जना गर्न चासो राख्नुपर्छ । यस क्रममा, स्ववियुले स्वास्थ्य शिक्षा नीति र प्रक्रियामा प्रभावकारी ढङ्गले संलग्न हुनुपर्छ । स्ववियुको भूमिका यस सन्दर्भमा महत्त्वपूर्ण छ ।
आइओएम प्रभावशाली रहँदा देशको शिक्षा र स्वास्थ्य सेवा मात्र होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीमा निर्णायक प्रभाव पार्न सामर्थ्य राख्दछ ।त्यसो हुँदा यसले एक समृद्ध र स्वास्थ्यप्रद नेपाल बनाउने दिशा तय गर्न मद्दत गर्छ ।सम्बन्धित चुनौतीहरूसँगै, आइओएम र अन्य संस्थाहरूले स्ववियुको सहकार्यमा जनस्वास्थ्य र शिक्षा प्रणालीमा सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । मानसिक र शारीरिक स्वास्थ्यका लागि वृति विकास एवम् समन्वय आवश्यक छ, ताकि भविष्यमा चिकित्सकहरूले दिगो र न्यायसङ्गत स्वास्थ्य प्रणालीमा योगदान दिन सकुन् ।
आइओएमका भौतिक पूर्वाधारको परिप्रेक्ष्यमा सुधार गर्न आवश्यक छ । कक्षा कोठा, प्रयोगशाला, होस्टेल, खानेपानी लगायत र अस्पतालको व्यवस्थापनमा सुधार गरेर यस संस्थाले आफ्नो प्रभावकारिता र कार्यक्षमता बढाउन सक्छ ।
यस संस्थालाई प्रर्याप्त बजेट विनियोजनको आवश्यकता देखिन्छ । विभिन्न निर्णय प्रक्रियाहरूमा राजनीतिक हस्तक्षेप रोक्न, संस्थालाई स्वायत्तता र स्वतन्त्र बनाउन र प्रभावकारी गतिशील अनि जवाफदेही व्यवस्थापन गरेर समस्या समाधान गर्न अपरिहार्य छ । यसका लागि यस संस्थामा गठन हुने स्विवियुले भूमिका खेल्न सक्छ । सो भूमिका निर्वाह गर्न तयार भइ हामीले उम्मेदवारी प्रस्तुत गरेका छौँ ।
(लेखक आइओएमका एमबीबीएस अन्तिम वर्षका विद्यार्थी तथा स्ववियु सभापति उम्मेदवार हुनुहुन्छ)
तपाईँको अभिमत