डा.किरण मृत्यु प्रकरण : आवासीय डाक्टरलाई ड्युटी समय बढी भएकै हो ?

अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवसीय डाक्टरहरु आन्दोलित छन्।आवसीय डाक्टर किरण श्रेष्ठको डियुटीमा रहेकै समयमा भएको मृत्युको घटनालाई लिएर अन्य डाक्टरहरु आन्दोलित भएका हुन्।
डाक्टर किरणको गत मंसिर २१ मा ड्यिुटीमा रहेकै अवस्थामा मृत्यु भएको थियो। उहाँको मृत्युपछि अस्पतालमा रहेका आवसीय डाक्टरहरू शान्तिपूर्ण विरोधमा उत्रिएका छन्। घटनाको अनुसन्धान हुनुपर्ने र काम गर्दागर्दै मृत्यु भएका डाक्टरको परिवारलाई राहत उपलब्ध गराउनु पर्ने उनीहरुका मुख्य माग छन्।
शान्तिपूर्ण आन्दोलन अन्तर्गत गण्डकीको प्रवेशद्धारमै कालो ब्यानर राखिएको छ । कालो ब्यानरमा सेतो अक्षरले लेखिएको छः यो निर्लज्ज मौनता कहिलेसम्म ? अब कसको पालो कुर्दै हुनुहुन्छ ? एक चिकित्सक आफ्नो ड्यिुटीमा अस्ताइसक्दा नि यो राज्य टुलुटुलु के हेरेर बस्दै छ ?
पाँचथर स्थायी घर भएका २७ वर्षीय डाक्टर किरण केही समयदेखि नै बिरामी पर्नुभएको थियो । बिरामी भएको समयमै ड्यिुटीमा खटिनुभएका उहाँलाई असहज भएपछि अस्पताल नजिकै रहेको आफ्नो डेरामा पुग्नुभएको थियो ।
डेरामा पुग्नुभएका श्रेष्ठ अचेत अवस्थामा भेटेपछि आकस्मिक उपचारका क्रममा उहाँको मृत्यु भएको थियो । श्रेष्ठ चिकित्सा शिक्षा स्नातकोत्तर(एमएस) प्रथम वर्षमा अध्ययनरत हुनुहुन्थ्यो।
श्रेष्ठको मृत्युपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका ७६ आवसीय डाक्टरहरुको समूह आवसीय डक्टर्स वेल्फेअर सोसाइटी पोखराले १० वटा माग राख्दै शान्तिपूर्ण विरोधमा छन् ।
जस अन्तर्गत २ वटा प्रमुख मागलाई अघि सारिएको सोसाइटीका अध्यक्ष हिमलाल भण्डारीले बताउनुभयो। ‘हाम्रो पहिलो माग घटनाको अध्ययन गरी प्रष्ठिानमा बन्दै गरेको पुस्तकालयको नामकरण डा. किरण श्रेष्ठ स्मृति पुस्ताकलय राखियोस्' भण्डारी भन्नुहुन्छ, 'दोस्रो श्रेष्ठको परिवारको भविष्यलाई सुरक्षित गर्न राज्य एवं प्रतिष्ठानले राष्ट्र सेवक कर्मचारीसमानको सुविधा प्रदान गरिदेओस् भन्ने हो।'
शान्तिपुर्ण विरोधसँगै प्रत्येक साँझ श्रेष्ठको सम्झनामा दीप प्रज्वलन पनि गरिएको थियो।
लगनशील डाक्टर श्रेष्ठ गुमाउनु अस्पताल, परिवारका लागि मात्र नभएर देशका लागि ठूलो क्षति भएको प्रतिष्ठानमा कार्यरत आवासीय डाक्टर राजेन्द्र लामा बताउनुहुन्छ।
बिरामीको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैँ स्वस्थ हुन नसक्दा डा. श्रेष्ठले ज्यान गुमाउनु दुखद् भएको अर्की आवासीय डाक्टर दृष्टि पौडेलको भनाइ छ।
डा.पौडेल अस्पतालमा आवासीय डाक्टरहरुको समस्या जटिल रहेको गुनासो गर्नुहुन्छ।
आवसीय डाक्टरहरुका लागि अस्पतालमै आवासको व्यवस्था नहुनुले पनि डा. किरण श्रेष्ठले उपचार छिट्टो पाउन नसकेको अर्का एक डाक्टर बताउनुहुन्छ।उहाँ भन्नुहुन्छ्, ' हामी आवसीय डाक्टरहरु नाम मात्रको आवसीय छौँ। बाहिर डेरा लिएर बस्छौँ । किरण श्रेष्ठ अस्पतालबाट भित्रै भएको भए यस्तो घटना नहुन सक्थ्यो।'
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन वर्षअघि चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको स्वीकृति लिएर एमडी/एमएस शिक्षण सुरु गरेको थियो। आवसीय डाक्टरका लागि अस्पतालमै आवसीय व्यवस्था हुनुपर्ने भएपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले व्यवस्था गर्न सकेको छैन।
रेजिडेन्सीमा रहेका डाक्टरहरुको सामाजिक सुरक्षाको समस्या थुप्रै रहेको डा. कुमार श्रेष्ठ बताउनुहुन्छ। बीमा कार्यक्रम भएपनि त्यसको अनुगमन नहुनु, सबै कलेजमा पाउने तलब एकै नहुनु लगायतका समस्याले डाक्टरहरु तनावपूर्ण अवस्थामा रहनुपर्ने बाध्यता रहेको डा. कुमारको गुनासो छ।
अस्पतालमा कार्यरत आवसीय डा. प्रज्ञा शाक्यले ड्यिुटीमा रहेको अवस्थामा मृत्यु भएका डाक्टरका लागि अस्पताल तथा राष्ट्रले केही सहयोग गरे परिवारका लागि राहत हुने बताउनुभयो। ‘डा श्रेष्ठ मात्र नभएर जो कोही रेजिडेन्स डाक्टरलाई यो पर्न सक्छ। डाक्टरलाई सामाजिक सुरक्षाको व्यवस्था होस् भनेर हामीले आवाज उठाएका हौँ' डा.प्रज्ञा
भन्नुहुन्छ।

आवसीय डाक्टरहरुलाई ड्यूटीको समय पनि धेरै बढी भएको उनीहरुको गुनासो छ।एउटा डाक्टरले हप्तामा १०० घण्टासम्म काम गर्ने गरेको आवसीय डाक्टरहरु बताउँछन्।
मानसिक, शारीरिक र सामाजिक रुपमा तनावपूर्ण अवस्थाबाट गुज्रनु परेपनि आफ्नो मूल्यांकन गर्ने जिम्मेवारी सिनियर डाक्टर तथा अस्पताल प्रशासनमा हुने भएकाले खुलेर बोल्न सक्ने अवस्था नरहेको आवसीय डाक्टरहरुको गुनासो छ।
केही माग जायज छैनन् : निर्देशक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीले यस घटनासँग जोडेर आवसीय डाक्टरले उठाएको माग जायज नभएको बताउनुहुन्छ।
१० मध्येका ८ वटा माग पहिल्यै पूरा भइसकेको र दुई वटा माग पूरा गर्न नसकिने निर्देशक खत्री बताउनुहुन्छ।
‘पुस्ताकलयको नाम डा. किरण श्रेष्ठको नाममा राखिने कुराको अरु डाक्टरहरुले लिखितरुपमै विरोध गरिसकेको अवस्था छ' खत्रीले भन्नुभयो, 'यसरी नाम राखिने प्रवृत्ति राम्रो होइन। अर्को माग सामाजिक सुरक्षा हामी सबै डाक्टरहरुको अवस्था त्यहि नै हो।' सामाजिक सुरक्षाको कुरा अस्पतालबाट भन्दा प्रतिष्ठान र राज्यको तर्फबाट नै नीतिगत रुपमा गर्नुपर्ने विषय रहेको निर्देशक डा.खत्रीको भनाइ छ। 'यसका लागि हामी सबैले पैरवी गर्नुपर्छ' उहाँ भन्नुहुन्छ।
कामको समयावधिका विषयमा पहिलेभन्दा धेरै सहज रहेको खत्रीको दावी छ।अन्तर्राष्ट्रियस्तरमा प्रचलित कामको अभ्यास नेपालमा रहेकाले ड्यिुटी घण्टा धेरै भयो भन्न नमिल्ने जिकिर उहाँको छ।
समस्या छन् सुधारको प्रयास भइरहेको छ : उपकूलपति
प्रतिष्ठानका उपकूलपति डुकबहादुर क्षेत्री आवसीय डाक्टरका लागि आवश्यक भौतिक पूर्वाधारको कमी भइरहेको स्वीकार्नु हुन्छ । पर्याप्त रुपमा लाइब्रेरी, कक्षाकोठा, आवासको व्यवस्था हुन नसक्दा समस्या भइरहेको क्षेत्री बताउनुहुन्छ।
यसको सुधारका लागि ठूलो रकम विनियोजन गर्नुपर्ने भएकाले पहल भइरहेको दाबी उहाँको छ। ‘समस्या छन् र त्यसकै लागि पोखरा सिम्पानीमा प्रतिष्ठानको नाममा रहेको जग्गामा काम गर्ने योजना बनाइरहेका छौँ’ उपकूलपति क्षेत्रीले सुनाउनुभयो।
नेपालमा आवसीय डाक्टरको कार्य समयबारे नीति नभएपनि अन्तर्राष्ट्रिय चलन पछ्याइरहेको उहाको भनाइ छ।आवसीय डाक्टरहरुका लागि यो समय सिक्ने समय भएकाले अलि मेहनत गर्नैपर्ने उपकुलपति क्षेत्री बताउनुहुन्छ।
‘अहिले रेजिडेन्स डाक्टरहरूले प्रचलित नियमअनुसार हप्ताको ८० घण्टा नै काम गरेका छन्' क्षेत्री भन्नुहुन्छ, 'अब यो पनि धेरै भयो भन्छन् भने केही नगरी सर्टिफिकेट हातमा दिए भो।उहाँहरुले अहिले झन् सिक्ने हो । काम गर्ने हो अहिले काम गर्नुभएन पनि कसरी सिक्नुहुन्छ ?’
तपाईँको अभिमत