पाखुरा र पेटमा लाग्ने बोसोले अल्जाइमरको जोखिम

पाखुरा र पेटमा लाग्ने बोसोले अल्जाइमर र पार्किन्सन्सको जोखिम हुने एक अध्ययनले देखाएको छ । यसै साता न्यूरोलोजी नामक जर्नलमा प्रकाशित अध्ययनले यस्तो जनाएको हो ।
अध्ययनले मोटोपनबाट हुने रोगहरूको जोखिमबारे थप नयाँ विषय प्रस्ट्याएको जनाइएको छ । यसले मोटोपन बढेर तौल बढ्ने विषयलाई मात्र नभएर कहाँ कुन तवरले माटोपन भएको छ त्यसलाई पनि ख्याल गरेको छ ।
सिचुआन विश्वविद्यालयका अध्ययनकर्ताले ९ वर्षसम्म गरेको अध्ययनबाट यस्तो नतिजा प्राप्त भएको हो ।
अध्ययनमा ४ लाख बढी मानिसलाई संलग्न गरिएको थियो । सुरुवातमा तिनीहरूलाई कुनै पनि मस्तिष्क सम्बन्धी रोग लागेको थिएन । उनीहरूको उमेर औसत ५६ वर्ष रहेको जनाइएको छ । सहभागीहरूलाई शरीरको संरचना अनुसार उनीहरूको मोटोपन र अध्ययनलाई विभाजन गरिएको थियो ।
ती सहभागीमध्ये करिब ८,२०० जनामा अल्जाइमर रोग देखा परेको थियो । त्यस्तै वयस्क उमेरका पेटमा मोटोपन भएका व्यक्तिमा ठूलो परिमाणमा मस्तिष्क सम्बन्धी रोग हुने देखियो । त्यसमा पनि धूम्रपान र मध्यपान गर्ने व्यक्ति १३ प्रतिशतले यस्ता रोग लाग्ने जोखिम बढी देखिएको अध्ययनमा भनिएको छ ।
त्यस्तै पाखुरामा अत्यधिक मोटोपन हुनेहरूमा १८ प्रतिशतले अल्जाइमर्स, पार्किन्सन्स जस्ता रोग लाग्ने जोखिम बढी हुने अध्ययनले देखाएको छ । सुगठित पाखुरा हुनेहरूमा भने २६ प्रतिशत कम रोग लाग्ने सम्भावना देखिएको छ ।
पेटको बोसोले मस्तिष्कमा असर गरेर हर्मोन विकास गर्ने अध्ययनकर्ताले जनाएका छन् । त्यस्तो हर्मोन तथा रसायन विकास भएपछि इन्सुलिन प्रतिरोध गर्ने, मुटुसँग जोडिएको रोग लाग्ने जस्ता समस्या देखा पर्न सक्छन् । त्यसकै कारण डिमेन्सियाको जोखिम बढ्छ । पेट र पाखुराको तुलनामा कम्मर अनि भित्री फिलामा हुने मोटोपनले कम जोखिम हुने अध्ययनकर्ताले जनाएका छन् ।
डिमेन्सियाको १२ वटा कारणमध्ये मोटोपन एउटा कारण रहेको भन्दै जीवनशैली परिवर्तन आवश्यक रहेको अध्ययनकर्ताहरूले सुझाएका छन् ।
(EverydayHealth बाट)
तपाईँको अभिमत