आपतविपद्मा नर्सको हाईहाई, समस्या पर्दा छैनन् कोही

चिकित्सा क्षेत्रमा नर्सिङ जनशक्तिको भुमिका उल्लेख्य रहेपनि आफूहरु सधैं सबै पक्षबाट हेपिन परेको गुनासो यस क्षेत्रका अग्रजहरुले गरेका छन् । आप्त विपत् पर्दा नर्सहरुको कामको सधैं प्रशंसा गरिरहने तर वर्षाैदेखिका आफुहरुको समस्या जस्ताको तस्तै रहेकोमा उनीहरुले आक्रोस पोखेका छन् ।
नेपाल नर्सिङ संघको ६१ औं वार्षिकत्सवका पुर्वसन्ध्यामा संघले काठमाडौंको गरेको 'नर्सिङ पेसाको वर्तमान र भविष्य' विषयक प्यानल डिस्कसनमा अग्रज नर्सहरुले आफ्नो समस्या सुनाए ।
उहाँहरुले नर्समाथि भइरहेको श्रम शोषण, दुर्गमका नाममा वर्षाेदेखि रोकिएको स्तरवृद्धि, नर्सिङ क्षेत्र स्पेसलाइज हुन नसकेको सधै हेपिन परेको लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । साथै उहाँहरुले आफ्नो हकहितका लागि आवाज उठाउन नर्सहरुलाई आग्रह गर्नुभयो ।
प्यानल डिस्कसनमा काठमाडौं मोडल हस्पिटल स्कुल अफ नर्सिङका प्रिन्सिपल सुमिता पाठकले निजी अस्पताल तथा कलेजमा नर्समाथि भइरहेको श्रम शोषण, योग्यता अनुसारको काम नदिने लगायतका समस्याबारे जानकारी गराउनुभयो । साथै उनीहरुले आपत्विपद्मा सरकारले नर्सहरुको प्रशंसा गर्ने तर उनीहरुको समस्या समाधानमा तदारुकता नदेखाउने आरोप लगाएका छन् ।

उहाँले प्राक्टिसका नाममा अझैपनि केही निजी अस्पतालहरुले नर्सहरुलाई मासिक ३ हजार तलवमा काम लगाइरहेको दृष्टान्त सुनाउनुभयो । बीएन र मास्टर्स गरेका नर्सिङ जनशक्तिलाई काममा राख्नै नखोज्ने परिपाटी रहेको बताउनुभयो । 'एक रिह्याव सेन्टरमा पुग्दा नर्सहरुले बिरामीको उपचारदेखि अस्पतालमा सरसफाइ समेत गर्नुपरिरहेको देँखे । त्यहाँको सबै काम लगाइरहेको पाएँ । हुनत हामी घरमा ती काम गर्छाै तर प्रोफेसनमा त त्यसो गर्नुभएन नी उहाँले भन्नुभयो, नर्सले जे पनि काम गर्नुपर्छ भनेर सोच्छन् ।'
कार्यक्रममा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसीले नर्स बत्तिको मुनिको अध्याँरो जस्तै रहेको धारणा राख्नुभयो । उहाँले नर्सको तलव दैनिक ज्यालादारी गर्ने श्रमिकको भन्दापनि कम रहेको भन्दै यस सम्बन्धमा जिम्मेवार निकाय मौन बसिरहेको बताउनुभयो ।
अनमी, स्टाफ नर्स, मास्टर्स गरेका गरि नेपालमा हालसम्म १ लाख बढी नर्स काउन्सिलमा दर्ता रहेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा बस्न सक्ने अवस्था नरहेको भन्दै विदेश जाने नर्सको संख्या बढिरहेको उहाँले बताउनुभयो । नेपालमा रहेका नर्सलाई यहाँनै टिक्नसक्ने अवस्थाको सृजना गर्नेतर्फ जिम्मेवार निकायले ध्यान दिनपर्ने उहाँको भनाइ छ ।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख प्राेफसर गाेमादेवी निरौलाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गुणस्तरीय शिक्षाको आवश्यक पर्ने भएकाले शिक्षातर्फ ध्यान दिनपर्ने सुझाव उहाँको छ । स्वास्थ्य सेवा प्रणालीमा नर्सिङ जनशक्तिको हिस्सा ठुलो रहेको भन्दै नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धि राष्ट्रिय रणनीति अन्तर्गत नर्स तथा मिडवाइफरी रणनीति जारी भइसकेको उहाँले बताउनुभयो । २०१३ देखि नर्सिङ जनशक्ति उत्पादन हुन थालेको इतिहास बताउदै उहाँले उत्पादित जनशक्ति व्यवस्थापनका लागि रणनीति जारी गरिएको प्रष्ट पार्नुभयो ।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा पूर्व एवं कान्ति बालअस्पतालका नर्सिङ विभाग प्रमुख रोशनी तुइँतुइले नर्सिङ क्षेत्रमा रहेका चुनौतीलाई अवसरका रुपमा बदल्नपर्ने बताउनुभयो । संघ र प्रदेशमा नर्सको उपस्थिती राम्रो रहेको उहाँले बताउनुभयो । नीतिगत र क्लिनिकल हिसावले नर्सिङ जनशक्ति व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा गुणस्तर मापदण्ड तथा नियमन महाशाखा प्रमुख डा.मदनकुमार उपाध्यायले नर्सहरुको प्रशंसा गर्नुभयो । हरेक आपत्विपद्मा नर्सको भुमिका अग्रणी रहँदै आएको बताउनुभयो ।
नर्सिङ संघका अध्यक्ष प्राेफेसर मनकुमारी राईले नर्सिङ क्षेत्रमा समस्यानै समस्या रहेको र आफूहरु उक्त समस्याको समधानको लागि प्रयासरत रहेको बताउनुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव राजन पौडेलले बेलायतमा नर्स लैजाने सम्बन्धमा भइरहेको पछिल्लो घटनाक्रमबारे जानकारी गराउनुभएको थियो ।
सम्पूर्ण नर्सको हकहितका लागि भन्दै २०१८ साल माघ १५ गते नर्सिङ संघको स्थापना भएको थियो ।
तपाईँको अभिमत